Division forest_Ads
Barista_Training

विद्यार्थीहरु परम्परागत पोषाकमा विद्यालय

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।
विद्यालयको छेवैमा रहेको हुलाकी राजमार्ग भरी निलो पाईन्ट र आकासे रङ्गको सर्टमा देखिने विद्यार्थीहरु दौरा सुरुवाल, लेहेङ्गा चोलीमा देखिएका थिए । सँधै विद्यालयको पोषाकमा आउने विद्यार्थीहरु फरक पोषाकमा विद्यालयमा आईरहेका थिए । शिक्षक र विद्यार्थीहरु विद्यालयको पोषाक छोडेर परम्परागत पोषाकमा ठाँटिएका थिए । विद्यालय भित्र कुनै साँस्कृतिक मेला लागेझैँ देखिएको थियो । साना साना नानीहरु परम्परागत पोषाकमा पुतली जस्तै देखिन्थे ।


बर्दियाको मधुवन नगरपालिका ४ ढोढरीमा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा देखिएको दुश्य हो यो । यस विद्यालयले हरेक बर्षको एक दिन विद्यार्थीहरुलाई आफ्नो र अरुको परम्परागत पोषाक चिनाउनका लागि विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । विद्यार्थीहरुलाई प्रत्येक बर्षको एक दिन आ आफ्नो परम्परागत पोषाक लगाएर विद्यालय आउन भनिन्छ । विद्यार्थीहरुले आफ्ना अभिभावक सँग परम्परागत पोषाकको जानकारी लिई ति पोषाकहरु लगाएर आउँछन् । तिनै विद्यार्थीहरु देखाएर विभिन्न जातजातिको भेषभुषा, रहन सहन र कला सँस्कृतिको बारेमा जानकारी गराईन्छ ।


परम्परागत भेषभुषामा विद्यार्थीहरुलाई उपस्थीती गराएपछि उनीहरुको साँस्कृतीक नाचका कार्यक्रमको समेत आयोजना गरीएको छ । विद्यार्थीहरुले आफ्नौ भाषा र कलामा साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यालयका अधिकांश विद्यार्थीहरुले आफ्नै पुर्खाहरुको भेषभुषा पहिरिएका थिए । परम्परागत पोषक लगाएपछि सबै विद्यार्थीहरुको भेषभुषाको बारेमा जानकारी भएको कक्षा ९ मा अध्ययनरत विद्यार्थी गौरव कडेलले बताउनु भयो । उहाँले यती धेरै जातजातिका विद्यार्थीहरु हामी एउटै कक्षामा पढ्छौँ भन्ने नसोचेको बताउनु भयो । यस अघि पनि नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले पराम्परागत पोषाकमा विद्यार्थीहरुलाई विद्यालयमा उपस्थीती गराएको थियो ।

Basgadhi PSA_final

विद्यार्थीहरुलाई आफ्नो भेषभुषा र कला सँस्कृतिको बारेमा जानकारी होस् र त्यस प्रति चासो बढोस भनेर यस्तो कार्यक्रम राखिएको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पुर्णचन्द्र पोखरेलले बताउनु भयो । ‘यस कार्यक्रम गर्न थालेपछि विद्यार्थीहरुमा आफ्नो कला सँस्कृति प्रतिको माया बढ्दै गएको पाएका छौँ । उहाँले भन्नु भयो –‘उनीहरुले आफ्नो परम्परागत पोषाकको बारेमा अभिभावक सँग सोधखोज गर्छन् र लगाएर आउँछन् ।’ विद्यार्थीहरुलाई परम्परागत भेषभुषा, रितिरिवाज र चाल चलनको बारेमा सिकाउन पनि सहज भएको प्रधानाध्यापक पोखरेलको भनाई छ ।

मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसीले विद्यार्थीहरुलाई कला र सँस्कृतिको बारेमा सिकाउनका लागि यो उपयुक्त उपाय भएको बताउनु भयो । उहाँले यस विद्यालयबाट अरु विद्यालयले पनि सिक्नुपर्ने बताउँदै मधुवन नगरपालिका भेषभुषा, भाषा, कला सँस्कृति,पर्यटकिय स्थल लगाएतको जानकारी समेटेर स्थानीय पाठ्यक्रमको निर्माण भएको र आगामी आर्थिक बर्ष देखि लागु हुने बताउनु भयो ।


कार्यक्रममा बोल्दै मधुवन नगरपालिकाकी उपप्रमुख सुवरानी थारुले सबैले आफ्नो रितिरिवाज, परम्परा र भेषभुषा विर्सन नहुने बताउनु भयो । उहाँले संस्कृति र परम्पराको संरक्षणका लागि विद्यालयले गरेको यस कार्यक्रम सह्रानिय भएको बताउनु भयो ।
नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा हाल करिब दुई हजार विद्यार्थीहरुले अध्ययन गरीरहेका छन् । नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्यापन गराईरहेको यस विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, व्यवस्थापन विषयमा पढाई हुन्छ । त्यसैगरी प्राविधिक तर्फ सिभिल र इलेक्ट्रिकलमा डिप्लोमा (३ बर्षे) र प्रि डिप्लोमा (१८ महिने) पढाई हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.