कृष्णसार अनलाइन, ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपालिकामा नवनिर्वाचित बडघर र जनप्रतिनिधि विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । ठाकुरबाबा नगरपालिकाका वडा नं १ देखि ९ सम्मका सम्पूर्ण बडघरहरू एवं ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधिहरू बिच अन्तरक्रिया कार्यक्रमका गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना भट्टराईको अध्यक्षता भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नव निर्वाचित सम्पूर्ण बडघरहरूलाई नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा खादा एवं टिका लगाई बधाई दिनु भएको थियो ।
साथै कार्यक्रममा दलित महिला संघ बर्दियाबाट जिरा बि.क.ले बालविवाहको सम्बन्धमा भएको संवैधानिक व्यवस्था, न्यूनिकरणका उपायका साथै बालविवाह न्यूनिकरणका सम्बन्धमा बडघर र जनप्रतिनिधिले खेल्नु पर्ने भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले सम्पूर्ण बडघरलाई नगरपालिका र नगरवासी बिच पुलको काम गरि नगरका गतिविधि नगरवासी माझ पुर्याउन र नगरवासीका समस्या र गुनासाहरू नगर समक्ष पुर्याउन आग्रह गर्नुभयो । उहाँले आफ्ना क्षेत्रमा हुने विकास निर्माणका कार्य, विद्यालयको शैक्षिक अवस्था लगायत अन्य सामाजिक गतिविधिहरूमा परस्पर ध्यान पुर्याउन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख विना भट्टराईले “समुन्नत ठाकुरबाबाः सबल नगरवासी” को नारालाई सार्थक तुल्याउन सबै आ–आफ्नो क्षेत्रमा उत्तिकै जिम्मेवार भई लाग्नुपर्ने कुरामा जोडदिनुभयो ।