Division forest_Ads
Barista_Training

स्वास्थ्य मन्त्री पुन गरे हेमोडाइलासिस सेवाको उद्घाटन, मृगौला रोगका बिरामी खुसी

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनमगरले  बर्दिया अस्पतालको स्तर उन्नति गर्नका लागि प्रदेश सरकार तयार रहेको बताउनु भयो । बर्दिया अस्पताल मृगौला रोग उपचार कक्षको उद्घाटन कार्यक्रममा मन्त्री पुन सो कुरा बताउनु भएको हो । 

बर्दिया अस्पतालमा उपचार गर्न आएका दुईजना मृगौला रोगका बिरामीलाई मन्त्री पुन पर्चा दिएपछि  हेमोडायलाईसिस सेवा शुभारम्भ भएको थियो ।  

मन्त्री पुनमगरले  संविधानमा आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेकोले स्वास्थ्यमा सरकारले विशेष ध्यान दिने बताउनु भयो । उहाँले निजी अस्पताललाई भन्दा सरकारी अस्पताललाई प्राथमिकता राखेर काम गरिरहेको जानकारी  दिनुभयो । 

त्यसैगरी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डाक्टर जर्नादन पन्थीले प्रदेश सरकारले बर्दिया अस्पताललाई एक सय शैयाको अस्पताल सञ्चालनको अनुमति दिने तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ बर्दिया अस्पताललाई बर्दियामा रहेका आठ स्थानीय तहले पनि सहयोग गर्न सके अझै बर्दिया अस्पतालको उन्नति हुदै जानेछ । प्रदेश स्वास्थ्य मन्त्रालयले बर्दिया अस्पताललाई प्राथमिकता  राखेको छ । तर प्रदेश दिने बजेटले मात्र नपुग्ने भएकोले स्थानीय तहले पनि लगानी गर्न आवश्यक रहेको छ । ’

प्रदेश सासद भुवनेश्वर थारूले बर्दिया अस्पतालमा  हेमोडायलाईसिस सेवा  सञ्चालन गर्न बर्दियाका संघीय सासद, मन्त्री, पूर्वमन्त्रीहरू प्रदेश सासद, जनप्रतिनिधि अस्पताल विकास समिति, अस्पताल परिवारको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले  बर्दिया अस्पतालको स्तर उन्नति गरेर थप रोगको उपचार गर्ने व्यवस्थापन गर्नुृपर्ने बताउनु भयो ।  

Basgadhi PSA_final

बर्दिया अस्पतालका बरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डे धेरै लामो प्रयास पछि  बर्दिया पहिलो पटक हेमोडाइलासिस सेवा सुरु भएको बताउनु भयो । उहाँले हेमोडाइलासिस सेवा चौबिसे घण्टा  सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँले बर्दिया अस्पतालमा ५ वटा हेमोडाइलासिस मेसिन भएकोले मृगौला रोगका बिरामीलाई  सेवा लिन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिनुभयो । 

मृगौला रोगका बिरामीहरू खुसी 

बर्दिया अस्पताल मृगौला रोगको उपचार हुने भएपछि  बिरामीहरू खुसी भएका छन् । घर नजिकको अस्पतालका उपचार हुने भएकोले बिरामीहरू  खुसी भएका हुन । 

सरकारले हेमोडाइलासिस सेवा निःशुल्क गर्ने व्यवस्थापन गरेको छ । तर नेपालगञ्ज, कोहलपुर लगायत अन्य ठाउँमा  उपचार गर्न जादा बिरामीहरूको धेरै खर्च हुने गरेको थियो ।  गुलरिया नगरपालिका –२ की पवित्रा देवि सुवेदीले कोहलपुर हेमोडाइलासिस सेवा लिन जादाँ आफूलाई धेरै नै गाह्रो हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो , ‘ घरबाट अस्पताल जान टाढा भएकोले सहजरूपमा यातायातको सुविधा  थिएन । मोटरसाइकलमा यात्रा गर्नपर्ने बाध्यता थियो, डाइलासिस गरेपछि शरीर कमजोर  हुन्थ्यो । जसले गर्दा आफूलाई निकै गाह्रो भएको थियो । तर अब अस्पतालमा डाइलासिस सेवा सुरु हुने भएपछि त्यो बाध्यताको अन्त्य भएको छ । ’

त्यसैगरी बारबर्दिया नगरपालिका –२ जग्गु थारूले अस्पताल सेवा सुरु हुने भएपछि खुसी हुनु भएको छ । उहाँले भन्नुभयो, ‘ घरबाट कोहलपुर टाढा भएकोले धेरै नै समस्या थियो । तर अब गुलरिया डाइलासिस सेवा पाइने भएकोले सजिलो हुने भएको छ , घर आगनमा सेवा पाउँदा खुसी छु । सरकारले उपचार गर्न पैसा लाग्दैन भने पनि डाइलासिस गर्दा रगत चढाउँदा, कोहलपुरसम्म जान आउन धेरै खर्च हुने गरेको थियो । अब केही हदसम्म भएपनि राहत भएको छ । ’ 

अस्पतालबाट  मृगौला रोगको उपचार दिनका लागि भन्दै केन्द्र तथा प्रदेश सरकारले हेमोडायलाईसिस मेसिन उपलब्ध गराएको थियो । तर बजेट अभाव, जनशक्ति अभाव, र मेसिन सञ्चालनका लागि आवश्यक पर्ने अन्य प्राविधिक पक्ष पुरा नहुदाँ हेमोडायलाईसिस सेवा सञ्चालन आउन सकेको थिएन ।  अस्पतालमा हेमोडाइलासिस सेवा लिनका लागि १७ जनाले नाम दर्ता गर्नु भएको छ । अस्पतालमा ५ वटा डाइलासिस मेसिन रहेको छ । 

Leave A Reply

Your email address will not be published.