राजेन्द्रप्रसाद धिताल । नेपालको शाह वंशीय राजतन्त्रले भौगोलिक रूपमा एकीकृत नेपाल राष्ट्रको निर्माण गर्यो । नेपाल राष्ट्र निर्माणको ऐतिहासिक गौरव राजा पृथ्वीनारायण शाहलाई छ। शाह राजा पृथ्वीनारायणप्रति यो राष्ट्र आभारी छ।
एकीकृत नेपालका नागरिकहरूले हामी नेपाली हौं भन्ने अनुभूति गर्न २००७ सालको क्रान्ति कुर्नु पर्यो ।२००७ सालको ऐतिहासिक क्रान्तिले नेपाल राष्ट्रलाई भावनात्मक एकताको सूत्रमा गाँस्ने सततः प्रयत्न गर्यो ।२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको गला निमोठ्नु भयो र पुनः एकल राजतन्त्रीय अधिनायकवादको स्थापना गर्नुभयो ।
२०४६ सालमा जनताले ठूलो आन्दोलन गरे र मुलुकमा प्रजातन्त्रको स्थापना भयो। राजनैतिक अस्थिरता ,कुशासन ,माओवादीको सशस्त्र विद्रोह ,दलहरूको अयोग्यता आदि जस्ता विसङ्गतिको जगमा फेरि २०५९ सालमा राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएर लोकतन्त्रको हत्या गर्नुभयो ।
२०६२/ ०६३ सालमा जनता फेरि आन्दोलनमा होमिए। जनताको विशाल आन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको छ ।आज हामी गणतन्त्र नेपालमा छौँ र लोकतान्त्रिक शासन मार्फत राज्य व्यवस्था सञ्चालनको अभ्यास गरिरहेका छौँ । लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भए पश्चात् मुलुकमा राजनैतिक परिवर्तनको अध्याय समाप्त भएको छ।
राजनैतिक परिवर्तनको अध्याय पूरा भए पनि आर्थिक ,सामाजिक र सांस्कृतिक रूपान्तरणको प्रक्रियाहरू तुलनात्मक रूपमा सुस्त हुँदा जनतामा निराशा चुलिएको बढ्दो महङ्गी ,बेरोजगारी ,कुशासन र भ्रष्टाचारले जनता वर्तमान शासन व्यवस्था गलत छ कि भनेर प्रश्न गरिरहेका छन् ।मूलधारका राजनैतिक दल ,अग्रपंक्ति राजनैतिक नेता ,कर्मचारी ,पत्रकार लगायतका जिम्मेवार संस्था र व्यक्तिहरू आलोचनाको घेरामा छन् ।
समाजमा जताततै कुण्ठा, वितृष्णा ,उग्रता र आवेग व्याप्त छ, यसै परिवेशमा गणतन्त्र विरुद्ध बोल्ने व्यक्तिहरूको बोली ठूलो हुन थालेको छ र जनताको कोमल भावनामाथि प्रतिगामी उन्माद हावी हुँदै गइरहेको छ। कतै धार्मिक आवरणमा साम्प्रदायिक त कतै पहिचानको सङ्कीर्ण आवरणमा दक्षिणपन्थी तातो हावा नजानिदो ढङ्गले जनमनमा घुसिरसकेको छ।
वर्तमानको खुला राजनैतिक परिवेशले हरेक व्यक्तिलाई जिज्ञासु बनाएको छ ,केही भ्रम ,केही मिथ्या सूचना र केही शासकीय कमजोरीका कारण अहिले सबै खतम भयो भन्ने भाष्य जबर्जस्त रूपमा स्थापित हुन थालेको छ ।इतिहासको पठनपाठन सही तरिकाले हुन नसक्दा विगतको लोकतान्त्रिक आन्दोलनको गौरव पूर्ण इतिहास ओझेलमा परेको छ ,लोकतान्त्रिक आन्दोलनका नेता र अगुवाहरूलाई खलनायकका रूपमा चित्रण गरिदैछ।
सर्वसाधारणहरु अहिलेभन्दा त राजतन्त्र नै ठिक थियो भन्न थालेका छन् । बुद्धिजीवीहरू समेत हैन गणतान्त्रिक व्यवस्था सुन्दर र समुन्नत हो भन्ने नैतिक धरातल गुमाउँदै गैरहेका छन् ।सत्ता र स्वार्थका कारण बुद्धिजीवीहरू स्वतन्त्र विवेक गुमाउँदै गैरहेका छन् ।हिजोको अँध्यारो कालखण्ड विस्मृतिमा जान थालेको छ। गणतन्त्र दिवसका अवसरमा गणतन्त्रका लागि लडेका सबैले सोच्न आवश्यक राजतन्त्र हुँदा राष्ट्रले भोगेका काला दिनहरू के हामीले बिर्सिसक्यौ ।
राजाको शासनमा भीमसेन थापा ,माथबर्सिह थापा ,रणजङ्ग पाण्डे ,फत्तेजङ्ग शाह जस्ता शक्तिशाली प्रधानमन्त्रीहरूको हत्या गरिएको थियो ? कोत पर्व, भण्डारखाल पर्व र अलौ पर्व जस्ता हत्याकाण्डहरू कसरी भएका थिए ? अतीतमा मूर्ति तस्कर र कालोबजारको मुख्य संरक्षक राजतन्त्र थियो कि थिएन ?राजतन्त्रमा जनताको स्वाभिमानको स्तर कस्तो थियो ?के यस्ता कुराहरू समाजले बिर्सिसक्यो ? गणतन्त्रमा राष्ट्रको पक्षमा ऐतिहासिक महत्त्वका कामहरू भएका छन् र हुनेछन् ।
गणतान्त्रिक व्यवस्थाको सर्वाधिक महत्त्वपूर्ण उपलब्धि जनताको सर्वोच्चता हो ,लोकतान्त्रिक अधिकारको प्रत्याभूति हो। पार्टीको विकल्प खोज्न सकिन्छ ,नेताको विकल्प खोज्न सकिन्छ ,कानून र संविधान सुधार्न सकिन्छ ,गणतन्त्रमा राष्ट्र निर्माणको जिम्मेवारी जनताको हातमा छ, शासक खोज्ने ,रोज्ने ,बदल्ने र बन्ने सबै सम्भावना जनतामा सुरक्षित छ ।
जनतामा असीम अधिकार , शक्ति र सम्भावना सुरक्षित हुने व्यवस्था नै लोकतान्त्रिक व्यवस्था हो, जो अहिले विद्यमान छ। सक्रिय र जागरुक नागरिक नै लोकतन्त्रको सच्चा रक्षक हो, उपभोक्ता हो। लोकतान्त्रिक व्यवस्थाको प्रबर्द्धन गरौँ ,समृद्ध राष्ट्र निर्माणमा योगदान गरौँ ।