प्रकाश पौडेल, गुलरिया । बाँसगढी नगरपालिका –४ मा जैविक तटबन्धन निर्माण सुरु गरिएको छ । बासगढी नगरपालिका रहेको डुडुवा खोलामा जैविक तटबन्धन निर्माण सुरु गरिएको हो ।
प्रत्येक वर्ष आउने बाढीले नदी किनारको खेतबारी, बगाएर लैजाँदा धनजनको क्षति हुँदै आएको छन् । भने नदीसँग जोडिएको गाउँका मानिसहरू बाढीको त्रासमा बस्न बाध्य रहेका छन् ।
बाढीको हुने धनजनको क्षति न्यूनिकरण गर्न जैविक तटबन्धन निर्माणको कार्यलाई अगाडि बढाएको बाँसगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत जैविक तटबन्धन निर्माण कार्य सुरु गरिएको छ । पालिका करिब दुई लाख ५० हजार लागत र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बर्दिया दिएको बोरा तथा तथा जालीबाट तटबन्धन निर्माण कार्य भइरहेको छ । ’
बाँसगढी नगरपालिका इन्जिनियर बलराम पौडेलले बाढीको उच्च जोखिममा रहेर जमिन कटान हुन सक्ने ठाउँको तटबन्धन निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ यस पटक दुई ५० मिटर अस्थाई जैविक तटबन्धन गर्न थालिएको छ । तटबन्धनका कारण उच्च जोखिममा रहेका मदाहा र सिमरहवाका गाउँलाई केही राहत मिल्नेछ । ’ तटबन्धन निर्माणका लागि स्थानीय स्तरमा पाइने बास र माटोको प्रयोग गरिएको इन्जिनियर पौडेलले बताउनु भयो ।
तटबन्धन निर्माण भए पश्चात बाढीले हुने क्षति कम हुने विश्वास पालिकाको रहेको छ ।