bardiyahospital

छातीमा देश रोप्नुपर्थ्यो

कविता

Geruwa GIF

 

-राजबाबु श्रेष्ठ सागर

 

cld

जब रुँदै सेता हातहरूले ओखती होइन 

फोक्सोका कथाहरू लेख्छन्

जब कविहरू रगतमा अक्षर चोपेर 

कविता होइन मुखबाट राँको ओकल्छन् 

एकजोडी कलाकारहरू हाँस्न छाडी

भरोसाको अस्पतालमा बिस्कुनझैँ सुकाइएका 

सेता लाशहरू देखेर जब रङ्गमञ्चमै ढल्छन् ।

 

तब बुझ्नुपर्छ तिमीले,

“कठै ! मेरो देश आईसीयुमा छट्पटाइरहेछन्”

एक अँजुली रगत प्यालाजत्रै आँखाबाट उबाउँदै

जब सहिदहरू रुँदै भन्छन् –

“कोमामा गए हाम्रा भरोसा र विश्वासहरू

विभूति भएछन्,

हाम्रा सबै ती त्याग र वलिदानरहरू ।”

 

ओ साथी ! सुन्दैछौँ तिमी …. ?

उदास छन् मेरा लेकका लाली गुराँसहरू  

गाउन बिर्सिएका छन् ती कोइलीहरूले

आफ्नै देशका ती मौलिक संस्कृतिहरू

बिर्सिएका छन्,

माउहरूले आफ्ना लाम्टो चुसाउन

आफ्नै काखका बचेराहरूलाई  ।

 

ओ साथी ! सुन्दैछौँ तिमी …. !

टेक्न बिर्सिएका छन् ती कङ्गारूहरूले

आफ्नै घरका प्राङ्गण पनि 

बिर्सिएका छन् बिहान ब्युँझाउन देशलाई

अचेल ती राता भालेहरू पनि ।

 

ओ साथी ! सुन्दैछौँ तिमी …. ?

उदास छन् ठिङ्ग उभिएका ती सालिकहरू 

अलमलमा छन् अहिले सबै

शहरका ती भोका फूटपाथहरू ।

 

ओ साथी ! भनन तिमी ।

कसलाई जोडूँ म ती अक्सिजनको नली ?

तड्पिरहेका मेरा बिरामी देशलाई कि;

अघाएर पागुर लगाउने वस्तुलाई ?

ओ साथी ! भनन तिमी

म कसलाई जोडूँ ती अक्सिजनको नली ?

 

भो साथी !

अब बिर्सिदेऊ देश बोक्न तिमी

एउटा काम नबिर्सीकन अझै अवश्य गर्नू साथी !

देश बोक्नुभन्दा पहिले 

तिमी भोक बोक्ने भरिया हुन सिक्नू  

जब पिठ्युँमा भोकको भारी

तिमी बोक्न सक्छौ नि ? 

 

म बुझ्छु कि; – २

त्यस दिन तिमी साँच्चै ! देश बोक्न सक्छौ । – २

अझै एउटा काम अवश्य गर्नुपर्थ्यो साथी 

प्रजातन्त्र उखेली गणतन्त्र रोप्नुभन्दा पहिले

तिमीले आफ्नो छातीमा देश रोप्नु पर्थ्यो 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.