यज्ञप्रसाद सापकोटा,बर्दिया । चालु आर्थिक बर्ष २०८१/८२ मा ठाकुरबाबा नगरपालिकाले ८७ करोड ८८ लाख ५० हजार पाँच सय ३२ रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुु खर्च ६०.०९ प्रतिशत छ भने पुँजीगत खर्च ३९.९१ प्रतिशत रहेको छ । अधिकांश नगरपालिकाले पूर्वाधार विकास तर्फ बजेट विनियोजन गरिरहेको समयमा ठाकुरबाबा नगरपालिकाले ३९.६३ प्रतिशत बजेट सामाजिक विकास तर्फ विनियोजन गरेको छ । त्यसैगरी पूर्वाधार विकासमा ३७.२१ प्रतिशत, प्रशासनिक खर्चमा १४.७७ प्रतिशत, आर्थिक विकासमा ५.४४ प्रतिशत, सुशासनमा २.९५ प्रतिशत बजेट विनियोजन गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक राम लम्सालले बताउनु भयो ।
ठाकुरबाबा नगरपालिकाले यस बर्ष देखि केही नयाँ र महत्वपूर्ण कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । नगरपालिकाले बालविवाह न्यूनीकरण र छोरीहरूको पढाईको स्तर वृद्धि गर्नका लागि छोरी बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । त्यसैगरी हाल सम्म ठाकुरबाबा नगरपालिकामा दमकल सेवा नभएकोले अत्यावश्यक भएकोले दमकल सेवा सञ्चालनमा ल्याउने, नगरबासीहरुको लागि निःशुल्क शव वाहन सेवा सञ्चालन, भुरीगाउँ चोक देखि नगर कार्यपालिकाको भवन सम्म निःशुल्क इ रिक्सा सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
एक घर एक बृक्षरोणको अभियान सञ्चालन गरी ११ हजार पाँच सय ६४ घरधुरीमा वृक्षारोपण गर्ने, मेडिकलजन्य फोहोर व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउने, नगरपालिकामा कोल्डरुम सञ्चालनमा ल्याई कृषकहरुबाट उत्पादित तरकारीलाई भण्डारण गर्ने लगायतका नयाँ कार्यक्रमहरू ल्याएको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विनाकुमारी भट्टराईले बताउनुभयो । उहाँले पुराना र महत्वपूर्ण कार्यक्रमहरूलाई सञ्चालन गर्दै यस वर्ष देखि केही नयाँ कार्यक्रमहरू पनि थप गरेको बताउनु भयो ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले जिल्लामा विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूसँग गत आर्थिक बर्ष २०८०/८१को समिक्षा तथा चालु आर्थिक बर्ष २०८१/८२को प्रस्तावित बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै आर्थिक वर्षमा नगरपालिकाले गरेका महत्वपूर्ण कामहरूको बारेमा जानकारी गराएको छ । नगरपालिकाले आर्थिक विकास सामाजिक विकास पूर्वाधार विकास सुशासन तथा अन्तरसम्बन्धित र कार्यालय सञ्चालन तथा प्रशासनिक कामको अलग अलग प्रगतिको बारेमा जानकारी गराएको छ ।
ठाकुरबाबा नगरपालिकाले २०८०/८१ मा प्रस्तावित बजेटमा ७७.४८ प्रतिशत र वास्तविक बजेटमा ८५.०५ प्रतिशत प्रगति भएको नगरपालिकाले जनाएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त हुने बजेट प्राप्त नभएको र स्थानीय तहमा पनि प्रस्तावित बजेट अनुसार आम्दानी नभएको हुनाले सात करोड १२ लाख ८९ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चितता हुन नसकेको नगरपालिकाले जनाएको छ । त्यसको सबैभन्दा बढि मार पूर्वाधार विकासमा परेको देखिएको छ ।
ठाकुरबाबा नगरपालिकाले गत आर्थिक बर्षमा पनि ४६ प्रतिशत बजेट सामाजिक विकासमा छुट्याएको पाइएको छ । त्यसैगरी पुर्वाधार विकासमा ३० प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा १५ प्रतिशत, आर्थिक विकासमा छ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा तिन प्रतिशत बजेट खर्च गरेको छ । सामाजिक विकासमा पनि सबैभन्दा बढि शिक्षा क्षेत्रमा बजेट खर्च गरेको छ ।
सामाजिक क्षेत्रमा गरेको लगानीको लामो समयमा प्रतिफल देखिने भए पनि शैक्षिक क्षेत्रमा भने अहिले देखि नै प्रतिफल देखिन सुरु गरेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताउनु भयो । उहाँले गत बर्ष र यस बर्ष ठाकुरबाबा नगरपालिकाले बर्दिया जिल्ला मै पहिलो भएको बताउनु भयो ।