यज्ञप्रसाद सापकोटा
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले धुम्रपान, सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री वितरणमा न्यूनीकरण गर्न सुरुवात गरेको छ ।
नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान सुर्तीजन्य पदार्थ तथा मदिरा विक्रि वितरण तथा सेवन नगर्ने सम्बन्धी सूचना जारी गरेर विक्रि वितरण र प्रयोगमा रोक लगाएको हो ।
नगरपालिकाले शैक्षिक संस्था र स्वास्थ्य संस्था र बालगृहको एक सय मिटर वरपर धूम्रपान सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री वितरण र प्रयोग नगर्न, कसैको पनि उपस्थितिमा निजी सवारी साधन र निजी घरमा धूम्रपान नगर्न, बालबालिकालाई बिक्रीवितरण नगर्न आव्हान गरेको छ । त्यसैगरी हरेक कार्यालयहरूमा सुर्तिजन्य पदार्थ र मदिरा निषेधित क्षेत्र भनी सूचना टाँस गर्न, मदिरा र सुर्तिजन्य पदार्थका होर्डिङबोर्ड र साइन बोर्डमा प्रचार नगर्न, सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगर्न सूचना जारी गरिएको छ ।
होटल रेस्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरूले धूम्रपान, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवनको लागि छुट्टै कक्ष तोक्नुपर्ने नगरपालिकको सुचना जारी गरेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद ढकालले बताउनु भयो । सूचनालाई कसैले पनि उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनु भयो ।
सरकारले २०६८ सालमा सुर्तिजन्य पदार्थ निवार र नियमन ऐन लागू गरेको थियो । हाल सम्म स्थानीय सरकारले यस ऐनलाई कार्यन्वयन गर्न तर्फ अगाडि बढेका थिएनन् । ठाकुरबाबा नगरपालिकाले ऐन कार्यन्वयन गर्नका लागि सूचना जारी गरेको हो ।