_सुनिलकुमार आचार्य
आज म निस्तेज औलाले खजमजिएको गोप्य डायरीका पानाहरू सरसर्ती पल्टाउने दुष्प्रयास गरी रहेको छु । यिनै पानाहरूमा कैद छन् मेरा आफ्ना जीवनका भोगाइ र प्रयासहरू । सायद मेरो हातको कम्पनले होला ती पानाहरू पल्टाइएको रफ्तार पटक– एक अवरुद्ध हुन्छ । म यसलाई समाल्न खोजिरहेको छु । मलाई ती पानाका प्रत्येक हरफहरूको प्रश्न माथि प्रश्न तेस्यांइरहेका छन् । म किङ्कर्तव्यविमूढ भएको छु । किनकि त्यसको जवाफ मसँग छैन । डायरीमा राखिएका शब्दहरूले मलाई डसिरहेका छन्, म घाइते भएको छु । जादु युक्त तरिकाले पच्छ्याइरहेका छन्, यिनले मलाई, मेरो विचारलाई र मेरो चेतनालाई निमोठिरहेको छन्, निचोरिरहेको छन् र चपाइरहेका छन् ।
म बेचैन छु मेरा मन मस्तिष्कहरू क्षत –विक्षत गएका छन् । मानसिक अन्तर्द्वन्द्व को सिकार भई रुमलिएको छु । यहाँ फगत म एक्लो छु । मेरो छेउमा चासो र चिन्ता बाँडीचुँडी गर्ने मित्र कोही देखिरहेकी छैन । अहिले यी हरफहरू कुरिरहँदा मेरा आँखा अगाडि काला धब्बाहरूले छालले लुकामारी खेलिरहेका छन् । म भावविह्वल भएर संसारलाई एकनासले नियालिरहेको छु । जब म कुनै बेला जवान थिएँ । जोस, जाँगर र उमङ्गको तरङ्गले डेरा जमाउँदै थियो । मलाई घच्घच्याउँथ्यो, पिरोल्थ्यो अब केही गर्नुपर्छ होइन भने मैले यस धर्तीमा जन्म लिएको कुनै सार्थकता हुनेछैन ।
म सुन्दर शान्त संसारको कल्पनामा डुबिरहन्थे । म यही तर्क वितर्क गोरेटोमा सहयात्री हुँदा अकस्मात् मलाई संसार बदल्ने चाहना आयो । कसरी पो संसारलाई नयाँ संसारको रूप दिन सकिन्छ ? म यही कुरामा चिन्तन मनन गरिरहन्थे । संसार बदल्न सकेपछि सबै कुराको आमूल परिवर्तन हुन्छ भन्ने भावना ममा ओतप्रोत थियो । मैले धेरै कुरा थाहा पाउदै गएँ, यो मेरी बिम्ब स्वप्न हो । जुन फलामको च्यूरा चपाए जस्तै थियो । परन्तु संसार बदल्न त गाह्रो पो रहेछ । संसार बदल्न नसकेपछि म फर्किएँ आफ्नो देशतिर । देशको एकमुठी माटोलाई छातीमा राख्दै प्रण गरेँ अब आफ्नो देशको मुहार बदल्नु पर्छ भनेर ।
म यसैमा अडिग रहेँ । तर यसमा पनि सफल भइन । जब मैले आफ्नो देशलाई समेत बदल्न सकेन । मैले आफ्नै ध्यान आफ्नै नजिकको गाउँमा केन्द्रित गरे । त्यो पनि सम्भव भएन र मैले आफ्नो परिवारलाई बदल्ने प्रयास गरे । यी मेरा अनवरत प्रयासहरू एकपछि अर्को गर्दै असफल साबित भए । यी असफलताका बगाइएका छालहरुमा सुन्दर संसारको बिम्ब खोजिरहे । मैले लामो यात्राबाट थाकेर विश्राम लिइसके । आशाको टुकी राम्रोसँग नबोल्दै धिप – धिप निभी गयो । म अहिले बूढो मान्छे भएँ र मलाई थाह भयो कि मैले परिवर्तन गर्न सक्ने त म आफूलाई मात्र रहेछ । मैले परिवर्तनको सुरुवात संसारबाट नगरेर म आफैलाई परिवर्तन गर्न सकेको भए मेरो परिवारलाई परिवर्तन गर्न सक्थे । मेरो मेरो परिवार मिलेर गाऊँलाई, गाऊँको परिवर्तनबाट आफ्नो देशलाई बदल्न र अन्तमा सहजै संसारलाई परिवर्तन गर्न सकिन्थ्यो ।
र अन्तमा सजिलै संसारलाई परिवर्तन गर्न सक्थे । अब अहिले आएर मैले राम्रोसँग बुझे संसार बदल्ने शुरुवात आफैबाट हुनुपर्छ । अब मेरो जीवनको शब्दकोषमा ‘सुन्दर संसार’ गुमाइसकें । यसले पूर्णविराम लगाइसक्यो । मेरो जीवनका प्रत्येक आरोह–अवरोहमा संसार बदल्ने कुराले मलाई अनायास घोचिरहेको हुन्छ । आज म त्यसको कारुणिक चित्कारको शब्दजालमा गीत गुन्जाइरहेको छु । अचेत र शून्य जस्तै भएर यी तर्कहरुसित इतिहासको खोट र आफ्नै नियति छाम्नतिर, अलमलिएको छु । प्रत्येक पाइलाहरुमा यस कुराले पछ्याइरहेको छ, खै तेरो सुन्दर संसार ? मसँग नतमस्तक भएर भगवान सामु हात जोड्नु सिवाय अरु केही छैन । यही ज्वाराभाटाको रापले सेकिरहेको छ मलाई यही रापमा अदश्य पीडाहरुलाई सेकाइरहेको छु । म विक्षुब्ध छु म के गरु ? मेरो सुन्दर संसार त्यही बाक्लो तुवालोको पत्रभित्र हराएको छ । सायद मैले आफ्नो जीवनको कालखण्डमा ’मेरो सुन्दर संसार’ कही कतै पाउने छैन ।