_ सुशिल ज्ञवाली
टमीले मालिकलाई असाध्यै माया गर्दछ । मालिकले झन बढी टमी खानाको सौखिन छ । बेलाबेला मालिकले खसिको हड्डी , कुखुराका खुट्टा, टाउको, कलेजो र पाङ्ग्रा ल्याएर खुवाउने गर्दछन्। पछि टमीलाई मासुको लत बढ्दै जान्छ ।
उसलाई अरु खानेकुरामा रुचि घट्दै जान्छ । सामान्य खाना देख्दा खाने बेला आनाकानी गर्न थाल्छ । मालिकले कुरा बुझ्छन् । आफूले पालेको प्राणीले खाना नखाँदा मालिकलाई पनि दुःख लाग्छ ।
उनी टमीलाई खुसी राख्न चाहन्छन् । र नियमित साहुकोबाट कुखुरा र खसीको मासु ल्याएर टमीलाई खुवाउँछन् । टमीको निहुँमा आफू पनि खान्छन् दुबै खुसी हुन्छन् । समय बित्दै जान्छ । कहिलेकाँही मालिकले मासु नदिँदा टमीले गाउँका अन्य मानिसका कुखुरा चोरी खान थाल्दछ । त्यो देखेर मालिकलाई अझ पीर पर्छ ।
अब उनी झन नियमित टमीलाई मासु दिने गर्न थाल्छन् । टमीको नाममा साहुको बाट धेरै मासु किनिएको हुन्छ । एक दिन साहुले टमीको मालिकसँग पैसा माग्छन् । साहुसँग कुखुरा पालक किसान पैसा माग्छन् । र कुखुरा पालक किसानसँग ह्याचरीवालाले र दाना वालाले पनि पैसा माग्छन् ।
टमीको मालिकले तत्काल पैसा तिर्न सक्दैन । त्यसको प्रभाव साहु , कुखुरा पालक किसान, ह्याचरिवाला र दानालाई समेत पर्छ । कुरा एक कान दुई काम मैदान हुन्छ । टमीको मालिकलाई कुरा मिलाउन गाह्रो पर्छ । उनी एकाएक गायब हुन्छन् । साहुले टमीसँग असुल उपर गर्न पनि सक्दैन । हल्ला चलिरहन्छ । बिचरा टमी ! मालिकले कसरी ल्यायो? कहाँबाट ल्यायो ? उसलाई के थाहा ? उसले जति दियो खुरुखुरु खायो ।