यज्ञप्रसाद सापकोटा
बर्दिया ।
विद्यालयमा अरु दिनको भन्दा फरक रौनक रहेको छ । अन्य दिनमा झोला किताव कापि च्यापेर आउने विद्यार्थीहरु आज शैक्षिक सामाग्रीहरु विद्यालय प्रवेश गरीरहेका छन् । विद्यालय हाता भित्र मञ्चको निर्माण भएको छ । अरु दिनको भन्दा धेरै विद्यार्थीहरु चउरमा जम्मा भएका छन् । चउरको तिन तर्फ शैक्षिक सामाग्री प्रदर्शनका लागि स्टलहरु बनाइएका छन् जसमा विद्यार्थीहरुले आँफुहरुले ल्याएका शैक्षिक सामाग्री सजाईरहेका छन् ।
यो दृश्य हो बारबर्दिया १० वैदीमा रहेको जनसेवा माध्यमिक विद्यालयको । विद्यालयले संस्थापक प्रधानाध्यापक सगुनलाल चौधरी र पुर्व शिक्षक भिम बहादुर चौधरीको सम्झनामा बारबर्दिया स्तरीय प्रतियोगितात्मक शैक्षिक प्रर्दशनी कार्यक्रम २०७८ को आयोजना गरेको छ । २०५८ साल पुषमा तत्कालिन दश बर्षे युद्धका बेला संस्थापक प्रधानाध्यापक र शिक्षक चौधरीलाई राज्य पक्षले बेपत्ता पारेको थियो । उनीहरुको सम्झनामा हरेक बर्ष विद्यालयले विविध कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रममा तहगत रुपमा गणित शैक्षिक सामाग्री र विज्ञान शैक्षिक सामाग्री प्रर्दशनी गरीएको थियो ।
शैक्षिक प्रदर्शनीमा पानी जहाज र रोवर्ट, डोजर हेर्न विद्यार्थीहरुको आकर्षित भएका छन् । स्थानीय सामाग्रीहरुको प्रयोग गरेर विद्यार्थीहरुले नै निर्माण गरेका शैक्षिक सामाग्रीहरुको प्रर्दशनले शिक्षकहरुलाई कक्षाकोठामा शिक्षण सामाग्रीको प्रयोगलाई प्रोत्साहन गरेको छ । शिक्षण सिकाई क्रियाकलापमा प्रयोग गरीने शैक्षिक सामाग्रीहरु विद्यार्थी स्यवम्ले निर्माण गरेर प्रदर्शन गरेका थिए । मेलामा २९ ओटा विद्यालयहरु सहभागी रहेका थिए भने ३४ ओटा स्टलहरुमा शैक्षिक सामाग्रीहरु राखिएका थिए । शैक्षिक मेला अवलोकनका लागि बारबर्दिया, बाँसगढी, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकाका शिक्षक र विद्यार्थीहरु आएको जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताए ।
शैक्षिक प्रर्दशनीमा विद्यार्थीहरुले स्थानीय वस्तु र स्रोत साधनको प्रयोग गरेर विभिन्न सामाग्रीहरु निर्माण गरेका थिए । विद्यार्थीहरुले पानी जहाज, सोलर सिस्टमबाट चल्ने पानी जहाज, जे सि बि, रोवर्ट, स्मार्ट घर, नमुना गृन हाउस, हाईड्रोपावर उत्पादन प्रणाली, हाईड्रोलिक व्रिज र स्थानीय स्तरमा प्रयोग गरीने सामाग्रीहरु प्रदर्शनमा राखिएका थिए । त्यसैगरी स्थानीय स्रोत साधन प्रयोग गरेर निर्माण गरीएका कक्षाकोठामा प्रयोग गरीने विज्ञान र गणितका शैक्षिक सामाग्रीहरु समेत प्रर्दशनमा राखिएका थिए । मानव अंग र त्यसले काम गर्ने तरिकाको बारेमा जानकारी मुलक सामाग्री समेत विद्यार्थीहरुले देखाईरहेका थिए । शैक्षिक सामाग्री प्रदर्शन सँग सँगै त्यसको बारेमा अन्य विद्यार्थीहरुलाई पनि सिकाईरहेको देख्न सकिन्थ्यो ।
शैक्षिक सामाग्री सँगसँगै विज्ञान र प्रविधि सँग सम्बन्धीत रहेका पुराना घरयासी प्रयोगका सामाग्रीहरु ढिकि, जाँतो, तराजु, हलो, जुवा, कोदालो जस्ता सामाग्री समेत प्रदर्शनमा राखिएका थिए । आँफुले बनाएको शैक्षिक सामाग्री देखाउन र अरुले ल्याएको शैक्षिक सामाग्री हेर्न पाएकोमा विद्यार्थीहरु हर्षित भएका थिए । शैक्षिक प्रदर्शनीमा आएर आँफुले ल्याएका सामाग्रीहरुको बारेमा अरुलाई सिकाउन पाएको र अरुले बनाएका समाग्रीबाट आँफुले धेरै कुरा सिक्न पाएको पाञ्चजन्य माध्यमिक विद्यालयका विद्यार्थी संगम पोखरेलले बताए ।
शैक्षिक प्रर्दशनी कार्यक्रमले शिक्षक र विद्यार्थीहरुलाई थप उर्जा प्रदान गरेको छ । अझैपनि कतिपय विद्यालयमा शिक्षण सामाग्री विना नै शिक्षण गर्ने गरीन्छ । त्यसको लागि कार्यक्रमले चुनौती थपिदिएको छ । सामान्य खर्चमा सामान्य तरिकाले पनि शिक्षण सामाग्री बनाउन सकिन्छ भन्ने सन्देश कार्यक्रमले दिएको बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईले बताए ।