_विष्णु पादुका
एक नायक हुन नसक्नुको
नहोस् कहिल्यै पश्चाताप
नायक कुरेर बस्न नपरोस् कहिल्यै
कर्तव्यको बाटो डोर्याउन नायक चाहिने आँखामा बिझाइरहेँ
थाहा छ
यो मखमली जिन्दगी हेर्दाहेर्दै कात्रो भैदिन्छ
किन बेलैमा कसैको लाज नढाकुँ ?
भाडाकै हो यो सवारी भने कसैले त निःशुल्क प्रयोगमा ल्याओस्
झर्ने नै पात एकदिन टिपोस् बेलैमा कुनै चरीले अनि आफ्नो गुँड बनाओस्
चितामा जल्नु छ चिन्ता छैन
जल्नु अघि कसैलाई उज्यालो दिन सकिन्छ भने
त्यो अवसर किन गुमाऊँ ?
सजिलो छैन इमानको बाटो
मन माझ्न कठोर छ
अन्तिम दिन आइ नपुग्दै उज्यालो पार्नु छ मनको महल
सुख खुशी कहाँ पाइन्छ र किन्न !
सरलताको साँचोमा गालिए पछि सबै आसपास भेटिन्छ
खरानी या माटोमा भोलि भेटिने छैन यो सुन्दरता
जिन्दगीको थोरै मिठास बाँड्नु छ प्रसादको रूपमा
न आओस् कोही भोलि फूल चढाउन छातीमा
आज भागूँ यो बाटोका घोचिने काँडासँग
जन्म मृत्युको किनार जोड्ने
वेवारिसे यो पुलबाट
कोही तरोस् र भेटोस् मनको मान्छे अथवा नयाँ गन्तव्य
घमण्डको खियाले बलियो देखिएको मासुको यो महल
ढल्नेछ पक्कै भुकम्प बिनानै
कर्तव्यको इन्धनले चुस्त कि नराखुँं सदैव !
भोक नलागोस् प्रसिद्धिको
प्यास नलागोस् पुरस्कारको
एक धब्बा कसैले मेटाउन नपरोस् अनुहारको
छोप्न नपरोस् झुटले यो लाज
बाँचेका दिन जिउँदा रहून्
दिन मारेर बाँच्न नपरोस् कहिल्यै !