–डाक्टर विजय ज्ञवाली
एउटा जङ्गलमा एउटा सिमलको बोट थियो । पुरै जङ्गल भरी एउटा मात्र सिमल हुँदा सिमलको बोट अत्यन्त दुखी थियो । कतै यो जङ्गल बाट सिमल सकिने त होइन भनेर सिमल अत्यन्त चिन्तित थियो । धेरै समय देखी सिमलमा फुल नफुलेकोले उसको चिन्ता दिन प्रति दिन बढी रहेको थियो । एक दिन अचानक सिमलमा एउटा फुलको कोपिला देखा पर्यो । सिमल अत्यन्त खुशी भयो ।
अब यो कोपिला फुल्ने छ र यो झरेर यसको बिउ बाट नयाँ सिमल उम्रिने छ भनी सिमल अत्यन्त खुशी थियो । सिमल दिन गन्दै फुल फक्रिने समयको प्रतीक्षा गर्न थाल्यो । एक दिन त्यो सिमलमा एउटा चरा आयो ।उक्त चराले त्यो सिमलको फुल देख्यो ।उ अत्यन्त खुशी भयो किनकी उसलाई सिमलको फुल खुब मन पर्थ्यो । लामो समय देखी त्यो जङ्गलमा सिमलका फुल नदेखेर उ अचम्म परेको थियो । यसरी अचानक सिमलको फुल देखेर उ रमायो ।उ त्यो फुल खान चाहन्थ्यो । उ सिमलको हाँगामा बसेर त्यो फुललाई ठुग्न थाल्यो । यो देखेर सिमल रुन थाल्यो । सिमलको बोटबाट आशु बग्न थाल्यो ।
यसरी सिमल रोएको देखेर चरा रोकियो । उसले सिमल लाई सोध्यो हे सिमल तिमी किन रोएको ? सिमलले रुदै भन्यो । हे चरा यो जङ्गलको सबै मेरा साथी सिमलका रूख मासिए ।म यो जङ्गलको एक्लो सिमल हुँ । लामो समय देखी मेरो बोटमा फुल नफुल्दा मेरो अन्त्य सँगै यो जङ्गलबाट सिमल हराउने हो कि भनेर म चिन्तित थिए । तर जुन दिन देखी यो फुल अङ्कुरित भयो । म अत्यन्त खुशी भएको थिए । आज तिमीले यो फुललाई ठुग्न थालेको देखेर मेरो खुशी निराशामा बदलियो । त्यसैले म रोएको हुँ ।
चराले धर्य पूर्वक सिमलको कुरा सुन्यो । वास्तवमै यो जङ्गलबाट सिमलको रूख हराउँदै गएको उसले पनि महसुस गरेको थियो ।आफूलाई मन पर्ने सिमलको फुल दुर्लभ हुँदै गएको कुरा उसले थाहा पाएको थियो । उसले बिचार गर्यो शायद उसले यो फुल खाएन भने यसबाट आउने बीजले अरु सिमल उम्रिने छन् र भविष्यमा यो जङ्गलमा फेरी सिमलको रूख प्रसस्त हुने छन् । त्यस पछि चराले त्यो फुल खाने इच्छा त्याग्यो । चराले सिमल सित मित्रता गरेर त्यही सिमलमा गूढ बनाएर बस्यो । समय बित्दै गयो ।
त्यो फुल फक्रियो । त्यस बाट छिप्पिएको सिमलको बिउ भुइँमा झरेर अरु सिमल उम्रियो । हेर्दा हेर्दै जङ्गलमा धेरै सिमलका रूख उम्रिए । चराहरू ति सिमलका रुखमा रमाउँदै सिमलका फुलमा ठुग्दै खेल्न थाले ।
लेखकः– मनोविज्ञ तथा थेरापिस्ट डाक्टर विजय ज्ञवाली अमोहा क्लिनिकका सञ्चालक हुनुहुन्छ ।