एउटी स्वास्नीमान्छेको अन्तरवार्ता
कविता
_पारिजात
ज्यू,
काम गरेको मात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडौरी गुन्यू
लगाएको मात्र थाहा छ
जोवन सोध्नुभएको ?
त्यो त हजुर आएको, गएकै थाहा छैन ।
खै जान्नेसुन्नेले भनेको
मेरो जोवन त जिम्मुवालको उ त्यो
गहुँबारीमा सप्रिसकयो रे !
उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे !
खै , कुन्नि कस्तो अनौठो
मेरा आँखा र ओठमा नफुलेर मेरो जोवन
अर्काको सम्पत्तिमा फुल्ने रे !
के भन्नुभयो, निकै हिस्सी परेको छु रे ?
ज्यू, त्यो दहको पानीमा हेर्दा
त्यसैत्यसै लागेको थियो
तर के भरपर्दो हुन्छ र पानीमुनिको छायाँ ।
ढाँटेको भए हजुरको मासु खाने
मेरी बास्सै !
लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी
टोपीमा लालुपातेको फूल घुसारेर
निधारमा तीनवटा सितारा टाँसेर
गालामा अलिअलि लाली घसेर
आएको मेरो अधबैंसे दुलहा
आरनजस्तै अँध्यारो र
खलासीजस्तै धुस्रो थियो ।
ए, हाँस्नु भएको हजुर त !
यसको गोडा पखालेको पानी खानु
यो तेरो देवता हो भनी
बूढी बज्यैले भन्दा
घुम्टोभित्र म रोएकी
खै, कसरी देखाऊँ
गालामा आँसुको डोब बस्दैन हजुर
पहरामा खहरेको डोब बसेजस्तो ।
ज्यू, माइत सात खोला सात डाँडा उता
मैले बालककालमै देखेकी सपनाजस्तै
मेरो मुटुभित्रै भएर पनि कतिकति टाढा ।
जै– जन्म सोध्नुभएको ?
ज्यू, यिनै दुइटा छोरा
च्याँसे र पुन्टे, डेढ वर्षको फरक छ
ढाँटेकी भए यो आगो हातैमा छ हजुर ।
यो च्याँसे
मुखियाको घर बनाउने ढुङ्गा बोक्दाबोक्दै पाएको
नाम्लो त थाप्लोमै थियो गाँठे
फरियामा पोको पारेर ल्याएँ
छाप्रोमा सालनाल काटेर
फेरि मुखियाको धान गोड्दागोड्दै हिलोमै जन्म्यो यो पुन्टे
हिलोमा जन्मनेलाई
कहाँ लेखेको हुँदो रहेछ र सिमलको भुवा ?
ज्यू, हुर्काउँदैछ हजुर हुर्काउँदैछ
नाङ्गै– भुतुङ्गै
जनावरहरु जस्तै
कुकुर सुँगुरका बच्चाहरु जस्तै ।
ज्यू, माया लाग्छ यै बूढा कामीको
गरिबी भन्दा अर्को छनौट नै के छ र जीवनमा ?
म पनि त चायाँ र कलेटीले
तर्साउने जस्तै भइसकेँ
के म स्वास्नीमान्छे जसती छु र ?
ल फेरि हाँस्नुभयो हजुर त !
जीवनको अर्थ
ज्यू, केही बुझ्या छैन
मेरो कामीको रङ्ग र फलामको रङ्ग
एउटै छ हजुर ।
च्याँसे – पुन्टेको छालाको रङ्ग र बाटोको धुलोको रङ्ग
एउटै छ,
म पनि त हजुर फोहर, मयल ध्वाँसोजस्तो छु
कामी रुने होइन कहिल्यै
उसका पसिनाको रङ्ग
र, मेरो आँसुको रङ्ग
एउटै छ हजुर
ज्यू, ज्यू काम गर्नेहरुको खान पाउनुपर्छ
भन्ने कुरा
भर्खर–भर्खर पो थाहा पाउन लागेकी छु हजुर ।