विष्णु पादुका । उहाँ ग्वाला हुनुहुन्छ । गाईको होइन भेडा बाख्राको । उहाँको ज्ञान अतुलनीय छ । काम र कर्तव्य अवर्णनीय । अलिकति सम्बाद अंश यस्ता थिए ,जति मैले सम्झेँ । ” हेर्नुस् भन्नेले भेडा बाख्रा सँगै भन्ने र पाल्ने गरे पनि यी दुबै नितान्त फरक छन् । भेडा र बाख्रा मिसिए जस्तो देखिए पनि मिसिँदैनन् । भेडाहरू एकोहोरो हुन्छन् । पाठ सिक्न सक्दैनन् । उपयोगमा पनि कम हुन्छन् ।
उनीहरूको दूध दुहिँदैन । मारेर मासु खाए मात्र नत्र जिउँदोमा उसको काम लाग्ने रौँ मात्र हो । त्यो पनि भुत्ल्याएर या खौरेर , उसलाई नाङ्गै पारेर । तर भेडाको एउटा गुन हुन्छ नाइके भेडा खोरमा हुल्यो भने अरु कतै जानै मान्दैनन् । अनि बाख्रा …? मेरो प्रश्न बाख्रा भाग्न चोर्न सिपालु हुन्छन् । बगाल जता जाओस् । मीठो खान पाए उसलाई साथी चाहिन्न । उसले मालिक या पराइ छुट्याउँन । रिस उठे सिङ्गले हान्छ । अनि ? अनि के हुनु जसले जे को मासु बढी खायो उस्तै हुन्छ मान्छे । देख्नु हुन्न आजभोली शहरमा भेडा बाख्राको हुल ? म निरुत्तर ।