प्रकाश पौडेल, गुलरिया । डाइलासिस सेवाको लागि पालो नपाउँदा मृगौला रोगका बिरामीहरू निःशुल्क डाइलासिस उपचार सेवा लिनबाट बञ्चित हुनु परेको छ । सरकारले मृगौला रोगको उपचार निःशुल्क डाइलासिस गर्ने भनेपनि पर्याप्त मात्रा स्रोत, साधन र जनशक्ति अभाव हुँदा बिरामीहरूका डाइलासिस उपचार सेवा लिनबाट बञ्चित हुनु परेको छ ।
बर्दिया मृगौला रोगका बिरामीको समस्या दिनानुदिन बढ्दै गएको पाइएको छ । नागरिकले आफ्नो खानपान तथा रहनसहनमा ख्याल नगर्दा मृगौला रोगको समस्या बढ्दै गएको छ । विपन्न परिवारलाई आर्थिक अभाव गर्दा उपचार गर्दा पनि सम्पत्ति सकिएर अन्तिममा ज्यान जाने अवस्था देखिएको छ । सङ्घीय सरकारले मृगौला रोगका बिरामीको लागि निःशुल्क डाइलासिस सेवा उपलब्ध गराएको छ । भने लुम्बिनी प्रदेश सरकारले मृगौला रोगका बिरामीलाई मासिक पाँच हजार भत्ताको दिएको छ ।
गुलरिया नगरपालिका –१२ का लालपुरका ५७ वर्षीय इस्माइल तेलीले मृगौला रोग लागि पालो नआएपछि पटक पटक डाइलासिस लगायतका चेकजाँच गर्नका लागि १२ कठ्ठा जग्गा बेच्नु परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ घरको आर्थिक अवस्था कमजोर थियो । त्यसकारण कमाउन साउदी गएको थिए । साउदी बस्दा कमाएको पैसाले १० कठ्ठा जग्गा किनेको थिए । त्यो पनि उपचार गर्दा सकियो । सरकारले डाइलासिस सेवा निःशुल्क हुन्छ भने पनि पालो पाउनै मुस्किल रहेछ । ’
एक वर्ष भन्दा धेरै समय देखि मृगौला रोग लागेको बढैयाताल गाउँपालिका –७ की लक्ष्मी थारूको उपचारको क्रममा जेठ २७ गते मृत्यु भएको मृतकको पति ५२ वर्षीय कृष्णप्रसाद थारूले बताउनु भयो । श्रीमतीको मृगौलाले काम गर्न छोडेपछि उपचार गर्दागर्दै मृत्यु भयो । उहाँले भन्नुभयो, ‘ श्रीमतीको उपचार गर्दा तीन लाख ऋण लाग्यो । सरकारले मृगौला रोगीको लागि भनेर व्यवस्था गरेको डाइलासिस सेवा लिन मुस्किल रहेछ । पालो कुर्दाकुर्दै बिरामीको ज्यान गर्यो । तर सरकारले गरेको निःशुल्क सेवा लिन पाइएन ।
बढैयाताल गाउँपालिका –३ सितापुर जमुनीको ६५ वर्षीय साइराम बुढामगरलाई चार महिना पहिला स्वास्थ्यमा समस्या आएपछि चेकजाँच मृगौला रोग लागेको थाहा भयो, त्यसपछि नियमित रुपमा मृगौला रोगको डाइलासिस गर्दै आउनु भएको छ । उहाँले भन्नुभयो, ‘ मृगौलाले काम गर्न छोडेपछि डाइलासिस गर्दै आएको छु । भेरीमा धेरै भिडभाड हुने भएकोले बर्दिया अस्पताल गुलरियामा नाम टिपाएको छु । तर त्यहाँ अहिले खाली नभएकोले खाली भएपछि बोलाउने भन्नु भएको छ । नाम टिपाएर आएको छु । अहिले पैसा तिरेर डाइलासिस गर्दै आएको छु ।’
मृगौला रोगको बिरामी प्रत्येक वर्ष बढ्दै
स्थानीय तहबाट मृगौला रोगका बिरामीले निःशुल्क डाइलासिस सेवा र मृगौला रोगका बिरामीलाई मासिक पाँच हजार भत्ता लिनका लागि सिफारिस दिनेको सङ्ख्या मृगौला रोगको बिरामीको सङ्ख्या बढेको पाइएको छ ।
बर्दियामा रहेको आठ स्थानीय तह मध्ये सबैभन्दा बढी मृगौला रोगका बिरामी राजापुरमा रहेको पाएइको छ । आर्थिक वर्ष २०८०÷०८१ मा एक सय जना मृगौला रोगीले मृगौला रोगको उपचारको लागि सिफारिस लिएको थिए । जसमध्ये मृगौला रोगका सबैभन्दा बढी बिरामी राजापुर नगरपालिका २७ जना र सबैभन्दा कम गेरुवा गाउँपालिका रहेको छन् ।
जनशक्ति अभाव एक सिफ्टमा सञ्चालन डाइलासिस सेवा
बर्दिया अस्पताल गुलरियामा जनशक्तिको अभावले गर्दा एक सिफ्ट डाइलासिस सेवा सञ्चालनमा रहेको छ । डाइलासिस सेवाको लागि आवश्यक पर्ने दक्ष जनशक्तिकोे अभावमा एक सिफ्ट मात्र डाइलासिस सेवा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।
बर्दिया अस्पताल गुलरियाले पाँच शैयाको डाइलासिस उपचार सेवा सुरु गरेको छ । गत बैशाखबाट महिनाबाट अस्पताल, मृगौलाको डाइलासिस सेवा सुरु भएसँगै बिरामीले उपचार सेवा पाएको भएपनि अस्पतालमा एक सिफ्ट मात्र डाइलासिक सेवा सञ्चालन हुदाँ १७ जना निःशुल्क सेवा पाएको छन् । भने १४ जनाले डाइलासिसको लागि नाम टिपाए पालो आएको छैन् । भने बर्दिया अस्पताल गुलरिया नाम टिपाएका मध्ये अंधिकाशको मृत्यु समेत भएको छ ।
अस्पतालमा एक जना मेडिकल अधिकृतसहित दुई जना नर्स र कार्यालय सहयोगी भएको र एकजना मात्र प्राविधिक रहेको हुँदा एक सिफ्टमा डाइलासिस सेवा दिन सकिएको अस्पतालका मेडिकल रेकर्डर एवम् सूचना अधिकारी केशव न्यौपानेले बताउनु भयो । उहाँले भन्नुुभयो, ‘ डाइलासिसको मेसिन छ , तर पर्याप्त जनशक्ति नहुदाँ समस्या परेको छ । ’
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त हकको उको उपशारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनिएको छ । तर सरकारले आवश्यकता अनुसारको स्रोत साधन उपलब्ध नगराउँदा बिरामी ज्यान जानुको साथै अनेक खालका समस्या समेत भोग्नु परेको छ ।
सरकारको ध्यान जनशक्तिको व्यवस्थापन गर्नतिर भन्दा पनि पुर्वाधार विकासमा केन्द्रित रहेको छ । जसका कारण समयमा उपचार नपाउँदा बिरामीको मृत्यु हुनुको साथै धनजनको समेत सकिएको छ ।