_बबिता बस्नेत
“साँच्ची ! केटीहरू के कुराले खुशी हुन्छन् ?”
‘प्रशंसा’ –एउटाले भन्यो,
‘माया नै होला’ –अर्को बोल्यो,
‘माया’ र ‘प्रशंसा’ दुवै भनौँ न’ –तेस्रो व्यक्तिको मुखबाट निस्कियो ।
“केटीहरूको सबैभन्दा खराब कुराचाहिँ के हो भने नि‘ नजिक भयो कि प्रेम गरेकै ठान्ने के, माया गर्न शुरु गरिहाल्ने । मसँग त त्यस्ता कति घटनाहरू छन्, कति !” –प्रश्नकर्ताले थप्यो ।
“ए बिस्तारो बोल, भाउजूले सुन्नुहोला,” –त्यसबीचबाटै आवाज सुनियो ।
“हेर केटा हो, केटी पट्याउने भए अरू केही गर्नुपर्दैन प्रशंसा गर, प्रशंसा । ‘तिमी कति राम्रो !’ भन, राम्रा हुन् कि नहुन्, ‘हातखुट्टा कति राम्रा !’ भन,‘ मोडल हो भने ‘तिम्रो फोटो‘’ भन्ने, लेख्नेओर्ने रै’छ भने– ‘तपाईंको लेख‘ तपाईंका सोचहरूबाट म अत्यन्त प्रभावित छु’ भन्ने, डाक्टर भए ‘तपाईंको मेहनत‘ यति मेहनती कुनै स्वास्नीमान्छे हुन सक्छे भनेर मैले त कल्पनै गरेको थिइनँ’ भन्न, पेसा र व्यवसाय अनुसारको प्रशंसा, बुझ्यौ ? केही नगर्ने रै’छ भनेचाहिँ ‘यस्तो रूप र शरीरको मान्छेले त बाहिर निस्कन पनि मिल्दैन’ भनिदिने ।”
“अनि क्याम्पस पढाउनेहरूलाई नि !” –अर्कोले सोध्यो ।
“यिनीहरूलाई गाह्रो छ यार, धेरै पढेका हुन्छन्, आफूलाई के–के नै ठान्ने, कोही–कोही त साह्रै रिस उठ्दा ।” –पहिलो प्रश्नकर्ताको जवाफ ।
“ए, भाउजू पनि त कलेजमा पढाउनुहुन्छ, सुन्नुभयो भने मार्नु होला है‘,” आफ्नो श्रीमान् र उसका साथीहरूले साँझको रमाइलो गर्दै बोलिरहेका यी संवाद सुनेपछि एकैछिन त उसलाई के गरौं, के गरौं भयो । दुवै हातमा स्न्याक्सले भरिएका प्लेटहरू बोकेर भित्र पस्नै लागेकी उसलाई ओछ्यानमा गएर बत्ती निभाई अँध्यारोमा पल्टिन मन लाग्यो । त्यहाँबाट फर्किई, तर घरमा मान्छेहरू खान बोलाएका बेला आफू देखा नपर्दा अरूले के भन्लान् जस्तो लाग्यो र जमघट भए ठाउँतिर लागी । उसको श्रीमान् व्यापारी हो, घरबाट निस्कने समय निश्चित भए पनि फर्कने कुनै टुङ्गो हुँदैन । आज भने उसका केही प्रहरी अधिकृत, सेनाका अधिकृत, व्यापारी, घरसँगैका छिमेकी डाक्टर र केही राजनीतिकर्मीसमेतका साथीहरू बोलाएर घरमै जमेका थिए । सङ्ख्या धेरै थिएन तर कामको हिसाबले विभिन्न क्षेत्रमा छरिएका थिए उनीहरू ।
ऊ भित्र पस्नासाथ श्रीमान्का साथीहरूले भने, –“हामी आ–आफ्नो पेसा–व्यवसायमा भएका कठिनाइका कुरा गरिरहेका छौं भाउजू ।”
“ठीक छ नि !” –उसले यति मात्र भनी । एकछिन बसेर त्यहाँबाट बिदा माग्दै उसले भनी, –“मेरो भोलि कलेजका लागि तयारी गर्नुछ, यहाँहरू रमाइलो गर्नु होला म उता हुन्छु ।”
ऊ हिँडेपछि श्रीमानले भन्यो, –“मान्छेलाई दुःख गर्न पनि लेखेकै हुँदोरहेछ, नत्र हेर त उसलाई के कमी छ र ! जतिबेला पनि पढिरा’कै हुन्छे, बिहान हतारहतार दौड्या’ छ, खानाको टुङ्गो छैन, के रहर लागेको होला ।”
कोठामा पल्टिएर उसले सोची– ओहो ! केटीहरूप्रतिको लोग्नेमान्छेको दृष्टिकोण, उसलाई लाग्यो– त्यहाँ जुन क्षेत्रका मानिसहरू जम्मा भएका थिए तिनले आमलोग्नेमान्छेको त नभनौं अधिकांश व्यावसायिक पुरुषहरूको प्रतिनिधित्व गर्न सक्थे । तिनीहरूको संवाद उसले सम्झिई– अझ बच्चा भएका एकल महिला भए तिनका छोराछोरीप्रति सरोकार राखेझैं गर्ने, केटीहरू आफू बेवकुफ बनिरहेको थाहै पाउँदैनन् । ‘ ओहो ! कुरै नगर म सिन्धुपाल्चोकमा हुँदा झन्डै फसेको, पहिला उसलाई फकाउन ठूलो मेहनत गर्नुप¥यो, जब पट्टिई, छोड्दै छोड्दिन । सरुवा भएपछि त रोएर हैरान, आफूलाई आँशु आउँदैन । ‘ कसो सँगै लैजा भनिन‘ प्रेम गर्ने केटीहरूचाहिँ बोरै गर्छन् क्या । ‘सम्बन्ध भनेको जति छोटो त्यति मीठो‘ केटी पट्याउने भनेको त कला हो यार कला‘ सूत्र हुन्छ, स्तरअनुसारको व्यवहार गर्न जान्नुपर्छ । साहित्यकार भए मनको कुरा गर्ने, कलाकार भए तनको प्रशंसा, सुरक्षा क्षेत्रका भए कन्फिडेन्सको कुरा गर्ने‘ । ‘ हामी नपाउञ्जेल हत्ते गर्छौं, उनीहरू पाएपछि हत्ते गर्छन् । ‘ प्रशंसा मात्र गरेर पनि हुँदैन कोही नाच्नमा सौखिन छ भने तारिफले मात्र पुग्दैन उससँग गएर नाच्नैपर्छ । जो राम्रो नाच्छ उही उसको रोजाइ हुन सक्छ । ‘ अलि प्राक्टिकल पनि हुनुपर्छ यार‘ सकेसम्म विवाह नभएकासँगचाहिँ जोगिनुपर्छ है !‘ कहाँ बिहे मात्र होइन, छोराछोरी भएकैहरू पनि कोहीकोही त साह्रै भावनात्मक हुन्छन् ।
अलगअलग व्यक्तिबाट निस्किएका यस्ता संवादले उसलाई रिंगटा लागेझैं भयो । कतिपय संवादको उसले आफ्नै किसिमले अर्थ लगाई– केटाहरू शारीरिक सम्बन्धका लागि माया गर्छन्, केटीहरू माया पाएपछि पाइरहनलाई शारीरिक सम्बन्ध राख्छन् । ‘ प्रेमबिनाका सम्बन्धहरू यत्रतत्र छन् तर मानिसहरू ठानिरहेका छन्– तिनीहरू प्रेममा छन् । केटाहरूलाई पनि बेवकुफ बनाउने, उनीहरूको भावनामा खेल्ने कतिपय केटीहरू पनि होलान्, तर भावनात्मक पीडा पाउनेको सूचीमा धेरैजसो केटीहरू नै छन्, कतिले व्यक्त गर्छन् कतिले गर्दैनन् त्यो अलग कुरा हो । उसले आफैंलाई सम्झिई र प्रश्न गरी– मजस्तै कति केटी होलान् तर मेरो स्तरका स्वास्नीमानिसहरूले कहाँ व्यक्त गर्न सक्छन् र आफूमाथि भएका घटनाहरू ? पीडा पोख्ने या वास्तविकता बताउने ठाउँ कहाँ छ मेरो ? के म पनि प्रशंसामै फसें ? या मायाको भ्रम भयो मलाई ? मेरो विषयमा पनि अहिले कुनै मेहफिलमा यसैगरी चर्चा भइरहेको त छैन ? म पनि कसैको साथीहरूसँगको मनोरञ्जनको पात्र त बनिरहेकी छैन ?
उसलाई लाग्यो– अब ऊ कहिल्यै मोबाइल राख्ने छैन, ऊमाथि जे भयो त्यही मोबाइल फोनकै कारणले भएको हो भन्ने उसको ठम्याइ छ । उसले सम्झी– आज ठ्याक्कै २८ दिन भयो साकारसँग उसको कुनै प्रकारको संवाद भएको छैन । यसबीचमा उसले धेरैपटक फोन गरी, म्यासेज पठाई तर कुनै रेस्पोन्स आएन । आखिर किन ऊ मबाट एक्कासि टाढा भयो या हुने कोशिस ग¥यो ? यो प्रश्नले उसलाई बारम्बार घोचिरहन्छ तर जवाफ भने पाउन सकेकी थिइन । साँझका ती संवादहरूबाट आज सायद उसले जवाफ पाएकी छे । सत्य जेसुकै भए पनि अहिले उसलाई लागिरहेको छ– यदि यही मानसिकताले सबैलाई काम गर्ने हो भने अहिले ऊ सोचिरहेको होला, ‘त्यति लामो समय मैले त्यसै बर्बाद पारें । त्यति केयर र प्रशंसा गरेको भए त अरूसँग म जे पनि गर्न सक्थें ।’ कुनै दिन उसले त्यस्तो व्यवहार गर्ला भनेर नम्रताले सोचेकी पनि थिइन । कल्पनाबाहिरको कुरा जब व्यवहारमा भोग्नुपर्छ त्यो कति पीडादायी हुँदोरहेछ भन्ने कुरा अहिले ऊ प्रत्यक्ष अनुभव गरिरहेकी छे । पहिला–पहिला फोन गर्नासाथ यदि उसले उठाउन पाएन भने लेख्ने गर्थ्यो, –‘आई एम इन अ मिटिङ, कल यू लेटर’ कहिलेकाहीँ ऊ भन्ने गर्थी, –‘तिमीलाई यो कुरा सधैं पठाउनुपर्छ बरु सेभ गरेर राख, लेखिरहनु त पर्दैन ।’ फुर्सद हुनासाथ फोनमा भन्ने गर्थ्यो, –‘सरी !’ भेटघाट भएदेखि तीन वर्षसम्मका नियमित संवादहरू यसरी टुटेको उसलाई कहिल्यै सम्झना छैन । खाना खायौ ? कहाँ छौ ? के गर्दै ? व्यस्त ? बिर्स्यौ ? मिसिङ यू, डन्ट फर्गेट मि है‘ कता ? आफ्नो ख्याल गर, बेपत्ता ? एसएमएसमा उनीहरूले आदान–प्रदान गर्ने नियमित संवादहरू हुन् । साकार ख्यातिप्राप्त बैंकमा काम गर्छ, नम्रता कलेजमा पढाउँछे । भेटघाट त्यस्तो उल्लेखनीय तरिकाबाट भएको थिएन तर मोबाइलमा पठाइने म्यासेजहरूले उनीहरूलाई दिनप्रतिदिन निकट बनाएको थियो । सायरी र जोकहरू पठाउँदा–पठाउँदै उनीहरू व्यक्तिगत कुरा गर्न थालेका थिए । साकार नम्रतालाई त्यति कियर गर्थ्यो कि नम्रतालाई आफू विवाहित हुँ भन्ने कुरा नै ख्याल नभएझैं भएको थियो । व्यापार–व्यवसायमा संलग्न व्यस्त श्रीमानले खाना खायौ ? भनेर नसोधेको धेरै समय भइसक्दा उसले प्रत्येक दिन खाना खायौ ? भन्नु नम्रताका लागि आफैंमा खुशीको कुरा थियो । साकार प्रत्येक दिनझैं सोध्ने गर्थ्यो– आजको क्लास कस्तो रह्यो ? कतै कार्यपत्र प्रस्तुत गर्नु छ भने भन्ने गर्थ्यो –गुड लक, फर्किए पछिको एसएमएस हुन्थ्यो– कार्यक्रम कस्तो रह्यो ? आफूलाई कडा स्वाभावकी ठान्ने नम्रता खै कसरी हो साकारसँग अत्यन्त नरम बनेकी थिई । क्याम्पसमा कतिपय लेक्चररहरूले उसको मुहार र ड्रेसको प्रशंसा गर्दा ऊ भन्ने गर्थी– मेरो कामको कुरा गर्नुस्, मलाई ‘आउट लुक’को कुरा गरेको मन पर्दैन । तर, त्यही प्रशंसा साकारले गर्दा ऊ दङ्ग पर्थी । एकदिन अचानक भएको भेटघाटपछि उसले मोबाइलमा अक्षरहरू थिची– म कस्ती छु ? जवाफ आयो– कम्बिनेसन अफ ब्युटी एन्ड ब्रेण्ड । ऊ पानीपानी भई, मुस्कुराई र लेखी– यू आर टु मच‘. ! साकारसँग बढ्दै गएको निकटताले उसको संसार नै परिवर्तन भएको थियो, ऊ खुशी थिई । विवाहेत्तर सम्बन्धको ऊ विरोधी हो तर कसरी–कसरी ऊ आफैं त्यस्तो सम्बन्धतर्फ खिचिँदै गएकी थिई । साकारसँगको सामीप्यतालाई लिएर कहिलेकाहीँ उसलाई आत्मग्लानि नभएको होइन तर मैले उससँग के गरेकी छु र ! जीवन बिताउनेबारेमा सोचेकी छैन, शारीरिक सम्बन्धसम्म पुग्ने लक्ष्य छैन भनेर फितलो तर्क अघि सार्दै चित्त बुझाउँथी । तीन वर्षको बीचमा अत्यन्त थोरै भेटघाट र धेरै कुराकानी भएको थियो उनीहरूको । भेट्ने कुरालाई उसले खासै महत्व पनि दिइन । तर, कतै बाहिर जाँदा जे देखे पनि उसलाई सम्झिन थालेकी थिई । राम्रो लुगा देख्दा उसलाई सुहाउँछ जस्तो लाग्ने, मीठो खाना खाँदा उसलाई मन पथ्र्यो कि भन्ने लाग्ने । हुँदाहुँदै राम्रो मौसम र फुलेका फूलहरू देख्दा पनि उसैलाई सम्झिन थालेकी थिई ऊ ।
साकारले उसलाई पहिलोपल्ट छोएको दिन नम्रता कति धेरै नर्भस भएकी थिई, त्यसअघि उसले ऊसँगको स्पर्शको कल्पनै गरेकी थिइन । ऊ अहिले पनि सम्झिरहेकी छे बाइ‘ भनेर छुट्टिने बेलामा उसले अनायसै अङ्कमाल गर्दा पूरै शरीर कसरी काँपेको थियो । असमन्जस्यताको त्यो प्रेमिल साँझमा एक शब्द पनि बोल्न नसकेर ऊ चुपचाप चुपचाप उभिएकी थिई । ‘टेक केयर’ भनेर ऊ आफ्नो गाडीछेउ पुग्दासम्म नम्रता आफूलाई ख्याल गर्नै नसक्ने भएर कताकता हराएकी थिई । ऊ गए पनि उसका स्पर्शहरू सँगसँगै गएनन्, त्यसपछिका कैयौं दिनसम्म आँखा चिम्लिँदा त्यही क्षण उसको अगाडि आएर राम्ररी निदाउन पनि सकेकी थिइन । त्यस दिन लगाएको कालो भूइँमा रातो बुट्टा भएको साडी उसले अहिलेसम्म पनि धुन दिएकी छैन । साडी धुँदा उसका स्पर्शहरू पनि सँगसँगै पखालिने भयले उसले जतनले राखेकी छे । ऊ अहिले पनि त्यो साडी र ब्लाउज लगाउँदा शरीरभरि ती स्पर्शहरू महसुस गरिरहेकी हुन्छे ।
उनीहरूबीचको सम्बन्ध ती दुईजनाबाहेक कसैलाई थाहा थिएन, जसका कारण कोहीसँग कुरा गरेर मन हलुका बनाउने अवस्था पनि थिएन । त्यसैले प्रायः आफैंसँग कुरा गर्थी ऊ । भान्सामा बस्दा ऊसँग कुरा गर्दै पकाउँथी, बाटोमा हिँड्दा, ऊसँगै कुरा गर्दै हिँड्थी । मनमा ऊसँग कुरा गरिरहेका बेला कतिपटक उसको फोन आएको छ । त्यस्तो बेलामा ऊ भन्ने गर्थी– म सम्झिरहेकी थिएँ, ठ्याक्कै फोन आयो । ऊ भन्ने गथ्र्यो– म कहाँ बिर्सन दिन्छु र ! तर अकस्मात् अहिले उसले बिर्सनका लागि प्रशस्त समय दिएको छ । तर, त्यो समयले उसलाई बिर्साउनेभन्दा बढी सम्झाउने काम गरेको छ । बिहान कलेज जानुपर्ने भएकोले ऊ बिहान पाँच बजे नै उठ्थी, साकार सात बजेसम्म सुत्थ्यो । एक दिन फोनमा कुरा गर्दै साकारले भनेको थियो– ओहो कस्तो सक्ने बिहानबिहानै उठ्न, म तिमीसँग भएको भए त के उठ्न दिन्थें‘ तिम्रो दिनचर्या नै बदलिने थियो‘। तर, अकस्मात् अहिले ऊ आफैं बदलिइएको छ र नम्रता पनि क्रमशः आफूलाई फरक बनाउने कठिन कोशिस गरिरहेकी छे ।
एक दिनको कुरा हो– जब उनीहरूले एक घन्टाका लागि समय मिलाएर भेटेका थिए, साकार उत्साहित र नम्रता निकै भावुक थिई । साकारसँग ऊ त्यति धेरै नजिक हुनुको मुख्य कारण उसले कहिल्यै शारीरिक रूपले हेरेको महसुस गरिन । उसलाई लाग्यो– साकार उसको दुःख–सुख बाँड्ने राम्रो साथी हुन सक्छ । उसको मनमा के थियो यसै भन्न सक्दिन, तर उसका अभिव्यक्तिले ती सबै कुराको सङ्केत गर्दैनथे । सायद केटीहरू शारीरिकभन्दा मानसिक निकटताको अनुभूति चाहन्छन् । त्यस दिन भेट्नेबित्तिकै उसैले साकारको हात समाई र भनी, –‘म तिमीसँग एकदमै नजिकिएकी छु, सायद हामी अब साथीभन्दा अलि बढी नै केही हुँदैछौं कि ? के तिमी पनि मसँग त्यत्तिकै नजिक महशुस गर्छौं ?’ केही झस्किएझैं गरेर उसले हत्तपत्त भन्यो, –‘किन नगर्नु ?’ छुट्टिनासाथ उसले लेखी –‘लभ मि !’ जवाफ नदिई उसले म्यासेज डिलिट ग¥यो । त्यस साँझ घरमा पुगेर साकारले खुब सोच्यो– प्राइभेट एयरलाइन्समा कार्यरत उसकी श्रीमती भान्सामा काम गर्दै थिई, छोराछोरीहरू होमवर्कमा व्यस्त थिए । ऊ टेलिभिजन हेरेझैं गरेर नम्रताका बारेमा सोचिरहेको थियो– ‘ओहो ! यो मान्छेले त मसँग प्रेम गर्न लागेजस्तो छ । त्यस्तो भयो भने त म बर्बादै हुन्छु, के दिनमा भेटघाट भएछ ।’ ठीक त्यही समय यता नम्रता पनि उसैका बारेमा सोचिरहेकी थिई– म ऊसँग यति धेरै नजिक छु, के ऊ पनि मसँग मैले सोचेजत्तिकै नजिक छ ? जानी–नजानी खै कसरी–कसरी बिस्तारै–बिस्तारै म उसलाई प्रेम गर्न थालें, के उसले पनि मलाई माया गर्छ ? मसँग ऊ जतिबेला पनि छ, के उसले पनि मैलेजस्तै सम्झिन्छ ? कुनै दिन मलाई बेवास्ता ग¥यो भने ? ओहो ! म कति धेरै खाली–खाली हुनेछु । म त्यस्तो शून्यताको कल्पना पनि गर्न सक्दिन, कस्तो सुखद दिनमा भेट भएछ । उता सोंच्दासोंच्दै साकारले निष्कर्ष निकाल्यो– मैले अब ऊसँग टाढिनुपर्छ । माया पाउनका लागि मैले ऊसँग सम्बन्ध बढाएको थिइनँ । त्यही निष्कर्षले भोलिपल्टदेखि काम ग¥यो र उसले त्यस दिनदेखि फोन र म्यासेज दुवै गरेन । नम्रताले एकोहोरो फोन गरिरही, म्यासेज पठाइरही । शुरुशुरुमा त उसलाई बिरामी पो प¥यो कि भनेर निकै चिन्ता लाग्यो । लगातार तीन दिनसम्म कुनै खबर नआउँदा उसलाई राम्ररी निन्द्रा पनि लागेन । धेरैपटक सोधी– नट फिलिङ वेल ? कहाँ छौं ? तर, जवाफ आएन । मोबाइल पो हरायो कि ? कतै दुर्घटनामा पो प¥यो कि ? कुनै ठूलो आपत् पो आइलाग्यो कि ? त्यसबीचमा के–के मात्रै सोचिन उसले । जे भए पनि एकपटक फोन त गर्नुपर्ने हो‘ प्रत्येक दिन फोन गर्ने ऊ मेरो आवाज नसुनी कसरी बस्न सक्यो होला र ? तर, बिस्तारैबिस्तारै आफूलाई टाढा राख्न खोजेको आभास भयो उसलाई । पटक–पटक लेखी– ‘के भयो ? किन मसँग कुरा गर्दैनौं ? मैले के गरे ? कुनै गल्ती ?’ तर जवाफ आएन । धेरैपटक फोन गरेर नउठाउँदा कति ह्युमिलिएसन भएको थियो भन्ने कुरा ऊ वर्णन नै गर्न सक्दिन । विगतमा आफूले गरेको व्यवहार सम्झिएर ग्लानि भयो तर सच्याउने ठाउँ थिएन । लगातार तीन वर्षसम्मको मानसिक लगाव र निकटता टुट्न त्यति सजिलो पनि थिएन । अचम्म त के भने नम्रताको त्यतिका मानसिक लगाव, खुशी र छटपटीहरूको बारेमा उसको लोग्नेले थाहासम्म पाएन । ऊ दुःखी हुँदा उसले सोधेन, –‘तिमीलाई के भयो ?’ एक्लै मुस्कुराउँदा प्रश्न गरेन –‘तिमी खुशी देखिएकी छ्यौ, उपलब्धि ?’ नम्रताको जीवनमा यति धेरै उतारचढाव आइरहँदा आफ्नै दिनचर्यामा मस्त श्रीमान् साथीहरूसँग साँझका जमघटहरूमा आफ्ना व्यापारिक विदेश यात्राका कहानीसँगै भनिरहेको हुन्थ्यो– केटीहरूलाई गिफ्ट नल्याइदिऊँ नसम्झिएजस्तो, ल्याइदिऊँ श्रीमतीले देख्ली भन्ने डर । एकपटक कसैको रोजाइको पर्फ्युम ड्युटी फ्रीबाट ल्याएको थिएँ, लुकाउँछु भन्दा भन्दै एकैपटक श्रीमतीको ‘थ्याङ्क्यू’ले झसङ्गै बनायो । हिजोआज त प्रायः साथीहरूको ब्यागमा लहै‘ भनेर हालिदिन्छु, पछि ऊसँग लियो अनि दियो‘ ढुक्क ।
एक दिन मर्निङवाकबाट फर्किनासाथ धेरैपछि नम्रताको स्कुलको साथी सम्भवले पहाडबाट फोन ग¥यो । उनीहरू सँगै पढेका हुन्, अध्ययनका क्रममा केही समय बाहिर बसे पनि अहिले ऊ गाउँकै स्कुलमा पढाउँछ । लामो समयसम्म बेखबर, टाढाटाढा रहेका साथीहरू र आफन्तहरूसँगको भौगोलिक दूरीलाई टेलिफोनले गर्दा नजिक बनाएको छ ।
सम्भवले भन्यो, –‘हेर न मोबाइलले गर्दा मलाई सरूसँग फेरि एकपटक नजिक बनाएको छ । ऊ मसँग घन्टौं कुरा गर्छ, हामी प्रत्येक दिन एक–अर्कालाई म्यासेज पठाउँछौं ।’
सरू र सम्भव एक–अर्कालाई प्रेम गर्थे, तर उनीहरूको प्रेमकथाको अन्त्य कसरी भयो भन्नेचाहिँ थाहा भएन । अहिले उनीहरू दुवै विवाहित हुन् र छोराछोरीसहित ‘पारिवारिक जीवन’ बिताइरहेका छन् । मोबाइलले सरू र सम्भवलाई करिब १५ वर्षपछि पुनः नजिक बनाएको थियो । तर, त्यही मोबाइलले निकट बनाएको साकार र नम्रताको मनको दूरीलाई कति धेरै टाढा बनाउँदै लगेको थियो ।
सम्भवले फोनमा सोध्यो– “के गर्दैछौ ?”
उसले भनी– “भर्खरै मर्निङवाकबाट फर्किएँ, एकछिनपछि कलेज जान्छु ।”
“म भर्खरै खेतमा पानी लगाएर आएको, केही छिनपछि स्कुल जान्छु, तिमीलाई थाहै छ मेरो स्कुल पुग्न डेढ घन्टा हिँड्नुपर्छ ।”
फोन राखिसकेपछि नम्रतालाई लाग्यो– ‘कति फरक छ म र सम्भवमा, म स्वस्थ रहनलाई बिहान हिँड्छु ऊ हिँड्नलाई स्वस्थ रहन्छ ।’ यस्तै कुरा सोच्दासोच्दै नम्रताको मोबाइल बज्यो अचम्म ! साकारको नम्बर थियो, एकमनले त उसलाई नउठाउँ कि जस्तो लाग्यो । फेरि खै के सोचेर हो फोन उठाई ।
नसोधुँ भन्दाभन्दै सोधी– “धेरै दिनपछि फोन ग¥यौ त, के छ खबर – मेरो फोन उठाएनौ, म्यासेजको पनि रेस्पोन्स गरेनौ ।”
‘अँ‘’ भन्दै उसले भन्यो– “तिमीले के सोच्छ्यौ भनेर नि ! लामो समयसम्म मैले फोन नगर्दा तिमीलाई कस्तो लाग्दोरहेछ भनेर‘ म टाढा रहँदा तिमीले के फिल गर्दिरहिछौ भनेर‘ ।” उसलाई भन्न मन लागेको थियो– केही समय खुशी दिएर तिमीले मलाई टुक्राटुक्रा बनायौ, यति दुःखी त म जिन्दगीमा कहिल्यै बनेकी थिइनँ, यु हर्ट मी सो मच साकार । तर धैर्यपूर्वक कुरा सुनिसकेपछि –उसले यति मात्रै भनी,
–“मलाई माफ गर साकार, मेरो मन तिम्रो प्रयोगशाला होइन ।”
त्यसपछि सदाका लागि उसले आफ्नो मोबाइल बन्द गरी ।