प्रकाश पौडेल । बर्दियामा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा कुकुरले टोकेका बिरामीले सास्ती भोग्नु परेको छ । बर्दियामा लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले खोप नपठाउँदा भ्याक्सिनको अभाव भएर बिरामीले सास्ती भोग्नु परेको हो ।
बारबर्दिया नगरपालिका–४, तर्कापुरकी ११ वर्षीया एलिजा थारुलाई ०८१ मङ्सिर २८ गते कुकुरले टोक्यो । त्यसपछि हजुरबुबा खुसीराम थारुले एजिलालाई रेविजको खोप लगाउन स्थानीय तहमा रहेको नगर अस्पतालमा लिएर जाँदा रेविजको भ्याक्सिन सकिएको थाहा पाएको बताउनु भयो । नातिनीलाई रेबिज भ्याक्सिनको खोप लगाउन सोधखोज गर्दा भ्याक्सिन सकिएको जानकारी पाएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘रेबिजको भ्याक्सिन नभएको सुन्दा कहाँ गएर खोप लगाउने होला भन्ने चिन्ताले सताएको छ ।’
रेविज भ्याक्सिनको अभाव हु्दाँ समेत लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले कुनै चासो देखाएको पाइदैन् । रेविज रोग लागेमा यसको उपचार सम्भव छैन् । तर पनि सरकार यस सरोकारवाला निकायले यस बारेमा खासै ध्यान दिएको पाइदैन् । रेविज रोगबाट बच्ने एकमात्र उपाय भनेको रेविज विरुद्धको भ्याक्सिनको सुई लगाउनु हो ।
एन्टी रेबिज भ्याक्सिन समयमा लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले खोप नपठाउँदा बिरामीहरू रेबिज भ्याक्सिनको सुई नलगाई फर्कन बाध्य छन् । बर्दिया अस्पात, बारबर्दिया नगर अस्पताल, बासगढी नगर अस्पताल, राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन अभाव रहेको छ । ठाकुरबाबा नगरपलिकाले आपूर्ती व्यवस्थापन केन्द्रले नपठाए पनि स्थानीय तहको आफ्नै स्रोतले खरिद गरेको छ ।
बर्दिया अस्पताल, गुलरियामा कुकुरले टोकेर बिरामी रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि माग अनुसारको भ्याक्सिन नहुँदा समस्या आउने गरेको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भयो । उहाँले अस्पतालमा १५ दिनदेखि नै भ्याक्सिन सकिएको जानकारी दिनुभयो । बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बारबर्दिया नगर अस्पतालमा १० दिनभन्दा बढी समयदेखि भ्याक्सिनको अभाव भएको बताउनु भयो । उहाँले एन्टी रेबिज भ्याक्सिन लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा नै अभाव भएकोले अस्पतालमा भ्याक्सिन नआएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले पुसको पहिलो हप्ता मात्र खोप पठाउने जानकारी दिएको छ ।’
बाँसगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख महेश थारुले रेबिजको भ्याक्सिन सकिएको एक महिना भएको जानकारी दिनुभयो । प्रदेशसँग भ्याक्सिन माग गरेको समेत उहाँले जानकारी दिनुभयो । राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा सूचना अधिकारी सुरेश चौलागाईले रेबिजको भ्याक्सिन ०८१ कात्तिक २४ गते सकिएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘कात्तिकको १४ गते रेबिजको भ्याक्सिन आएको थियो । १० दिनमा नै सो भ्याक्सिन सकियो । त्यसपछि भ्याक्सिनको अभाव भएको छ ।’
ठाकुरबाबा नगपालिकामा लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पठाएको भ्याक्सिन दुई महिना अघि नै सकिएको स्वास्थ्य शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘स्थानीय तह भ्याक्सिनको अभाव हुन नदिन २ सय भाइल भ्याक्सिन स्थानीय तहले खरिद समेत गरेको छ ।’