_विष्णु पादुका
लेखनको अर्बुदले
मुक्ति दिदैँन
भावहरूको हत्या गरेर
सार्वजनिक मसानघाटमा
बेवारिसे परेपछिको
फेन्ट्यासी गजब हुन्छ
यस्तो लाग्छ , धनुष जोसुकैको होस्
प्रत्यञ्चा मै खिच्दैछु
अनिदा रात
बोल्न नसकेका बात
कसैका अतृप्त मात
सट्टामा प्राप्त घात
समयका आयामसँग जोडेर जिन्दगी बनेको हुन्छ
लासहरुको चिरफार पछि
भेटिने कारणहरू हुन् हत्याका
साधुका ज्यानमा
बलिया अपसकुनहरू
कहिले पो प्रकट हुन्थे र
समुद्रमा कुन हिमाल खोज्नु र नामाकरण गर्नु त्यो पानीको
ढोलक बजे पनि नबजे पनि
धर्ती घुम्न छोड्ने हो भने
सकिन्छ यो तामझामको घुमाइ
र पनि बाँकी रहन्छ समय
डुबेको डुङ्गाकै हो
खोजी हुने
गुमेका आयुको भरपाई
भेटिनु नभेटिनु अलग कुरा हो
एक आशामा जीवित छ
समय र प्रेम मान्छेका लागि ।