

कृष्णसार अनलाईन, बर्दिया । बर्दियाका दुई नगरपालिकाका युवा तथा महिला उद्यमीहरुले सञ्चालन गरेको व्यवसायको अनुगमन गरिएको छ । गुलरिया र मधुवन नगरपालिकामा दलित महिला उत्थान संघ बर्दियाले सञ्चालन गरेको युवा तथा महिला उद्यमशीलता विकास परियोजनाबाट तयार भएका उद्यमीहरुको व्यवसायको अनुगमन गरिएको हो ।
अनुगमनमा व्यवसायीक तरकारी खेती, केरा खेती, माछापालन, खाजा नास्ता पसल, सिलाईकटाई पसल, फर्निचर उद्योग, हेयरकटिङ्ग पसल लगाएतका व्यवसायको अनुगमन गरिएको छ । अनुगमनको क्रममा व्यवसाय सञ्चालन गर्दा देखिएका समस्या र समाधानका उपायहरुको बारेमा समेत छलफल गरिएको छ । अनुगमनका क्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले व्यवसाय सञ्चालन गर्दा केही समस्या आईपरे सहयोग गर्ने बताउनु भयो । व्यवसाय सञ्चालन गर्दा केही समस्या देखा परेमा वडा कार्यालय र गुलरिया नगरपालिकाका सम्बन्धीत शाखामा सम्पर्क गर्नका लागि उद्यमीहरुलाई बताउनु भएको छ ।



मधुवन नगरपालिकाकी नगरप्रमुख अनिता चौधरीले परियोजनाबाट तालिम लिएका युवा र महिलाहरुले सफल रुपमा व्यवसाय गरेको देखेर खुसी लागेको बताउनु भयो । व्यवसायीको थप सिप विकास र व्यवसाय सञ्चालनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो ।

लुर्थन वल्ड रिलिफको सहयोगमा दलित महिला उत्थान संघ बर्दियाले जनवरी २०२३ देखि परियोजना सञ्चालन गरेको थियो । जस अन्र्तगत दुईओटा पालिकामा दुई सय ५० जना युवा तथा महिला उद्यमी तयार गरिएको थियो । आवश्यक सिपको लागि तालिम, व्यवसाय सञ्चालनका लागि आवश्यक सामाग्री र व्यवसाय दर्ताका लागि सहयोग गरिएको थियो । त्यसैगरी उत्पादित सेवा तथा बस्तुको बजारीकरणका लागि आवश्यक सहयोग गरिएको थियो । उत्पादन भएका व्यवसायीहरुको अवस्था र आवश्यक थप सहयोगका लागि संयुक्त अनुगमन गरिएको दलित महिला उत्थान संघका उद्यम सहजकर्ता रमेश केसीले बताउनु भयो । उहाँले भन्नु भयो –‘दुईओटा पालिकामा एकल र सामुहिक गरि एक सय ५० ओटा व्यवसाय दर्ता भइसकेका छन् । जसमध्ये ७० ओटा भन्दा बढि व्यवसाय तालिम पश्चात् व्यवसाय सुरु गरेपछि दर्ता गरिएको हो ।’ परियोजनामा १६ वर्षदेखि ४० वर्ष सम्मका युवा तथा महिलाहरू उद्यमीहरु सहभागी भएका छन् ।
परियोजनाले व्यवसायीक तरकारी खेती, केरा खेती, माछापालन, खाजा नास्ता, सिलाईकटाई , फर्निचर बनाउने, हेयरकटिङ्ग, प्लम्बर, इलेक्ट्रिसियन लगाएतका तालिम दिएको थियो । तालिम पश्चात व्यवसाय सञ्चालनका लागि सामाग्री सहित विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको थियो । भने कृषि तर्फ तरकारी, माछा र केरा खेतीका लागि बजार व्यवस्थापनका लागि पहल गरिएको थियो ।

लुथर्न वल्ड रिलिफको एक लाख ४० हजार अमेरिकी डलर आर्थिक सहयोगमा सञ्चालन हुने दलित महिला उत्थान संघ बर्दियाकी कार्यक्रम संयोजक विष्णु नेपालीले बताउनु भयो । उहाँले परियोजनाले नयाँ उद्यमहरुको सुरुवात, साना र लघु उद्यमहरुमा सहयोग, बजार व्यवस्थापन तथा बजारीकरणमा सहयोग गरिएको बताउनु भयो । त्यसैगरी युवा तथा महिलाहरूलाई व्यवसायीक रुपमा लाग्नका लागि वित्तिय साक्षरता तालिम, वित्तिय व्यवस्थापन तालिम, व्यवसायिक योजना तयार, बैंक र सहकारीसँग समन्वय गरी लगानीमा सहजीकरण गर्ने योजना रहेको कार्यक्रम संयोजक नेपालीले बताउनु भयो ।
