

बर्दिया । सरकारले लागु गरेको न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रममा बर्दिया अस्पताल ९७ अंक ल्याएको छ । अस्पतालले दिने न्युनतम सेवाको अनुगमन गर्दा मुल्याङ्कन समितिले लुम्बिनी प्रदेशमा हाल सम्म अनुगमन गरेका अस्पतालहरु मध्ये बर्दिया अस्पताल उत्कृष्ट भएको जनाएको छ ।
समितिले बर्दिया अस्पतालले दिनु पर्ने न्युनतम सेवाको अवस्था कस्तो छ । अस्पतालको सेवा र पारदर्शिता कस्तो छ त्यसको विषयमा अनुगमन गरिएको थियो । सेवा ग्राहीलाई दिईने न्युनतम सेवा अनुगमन गर्दा पहिलेको भन्दा केहि सुधार भएको पाईएको छ । अस्पतालको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, फोहर मैला व्यवस्थापन लगायतका सुचकलाई आधार मानेर न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको जनाईएको छ ।
अनुगमन समितिले मुल्याङ्कन गर्दा गत बर्ष ९६ अंक प्राप्त गरेकोमा यस बर्ष ९७ अंक प्राप्त गरेको समितिका प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले बताउनु भयो । तोकिएको सुचकका अनुसार मुल्याङ्कन गरी अंक दिँदा ९७ अंक अस्पतालले प्राप्त गरेको उहाँले बताउनु भयो ।

लुम्बिनी प्रदेश अन्र्तगत रहेको १३ वटा अस्पताल मध्ये अहिलेसम्म ९ अस्पतालको मुल्याङ्कन गरिसकिएको छ । जसमध्ये बर्दिया अस्पताल उत्कृष्ट रहेको छ । अझै चार ओटा अस्पताल मुल्याङ्कन भएपछि फाइनल रिजल्ट आउने श्रेष्ठले बताईन् ।
जनशक्ती र भवन अभाव भएपनि उत्कृष्ट सेवा दिन सफल भएको बर्दिया अस्पतालका मे सु डा सुभाष पाण्डेले बताउनु भयो । उहाँले अस्पतालमा आवश्यक जनशक्ती र भवन भएमा अझ गुणस्तरिय सेवा दिन सकिने बताउनु भयो ।
अस्पतालको टिमलाई बधाई दिदँै आगामी दिनमा गुणस्तरीय सेवा प्रर्वाह गर्नका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले पनि सहयोग गर्ने वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरीले बताउनु भयो ।
अस्पताल र यहाँका जनताको आवश्यकता के हो, त्यो पाटोबाट पनि हेर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । ‘हामीले दिएको सेवाबाट ९७ प्रतिशत अंक ल्यायौँ । जनताहरु कत्तिको सन्तुष्ट छन त्यो पनि हामिले हेर्नुपर्ने बताउनु भयो ।
अस्पतालमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी दिनमा प्रभावकारी सेवा दिन अस्पताल तयार हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टले बताउनु भयो ।