

गुलरिया । बर्दियाका बालबालिका तथा किशोर किशोरीहरुले विवाहको न्युनतम उमेर २० बर्ष नै कायम गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । विवाहको न्युनतम उमेर घटाउन नहुने भन्दै बर्दियाका २९ जना बालबालिका तथा किशोर किशोरीले प्रधानमन्त्रीलाई पत्र पठाएका हुन् ।

पत्रमा मुलुकी देवानी संहिता २०७४ को दफा ७० को उपदफा १ (घ) अनुसार विवाहको उमेर २० बर्ष पुरा भएको हुनपर्ने भनी व्यवस्था गरिएको भएपनि गत माघ २ गते बसेको कानुन तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहका कानुनी न्युनतम उमेर १८ बर्ष बनाउनु पर्ने भन्दै प्रस्ताव पेश गरेकोमा दुः खी तुल्याएको बताएका छन् ।
१८ बर्षको उमेरमा शारिरीक मानसिक र भावनात्मक रुपले सक्षम नहुने पत्रमा उल्लेख गरेका छन् । न्युनतम उमेर घटाएमा उच्च शिक्षा समेत हासिल नगर्दै अभिभावकले जबरजस्ती विवाह गर्न सक्ने अवस्था भएकोले पनि उमेर घटाउन नहुने पत्रमा बताएका छन् । न्युनतम उमेर २० बर्ष कायम गर्दा समेत अहिले पनि कम उमेरमा विवाह गर्ने गराउने प्रचलन रहेको छ । अझ न्युनतम उमेर घटाएमा झन कम उमेरमा विवाह हुनसक्ने उनीहरुले पत्रमा बताएका छन् ।