

कृष्णसार अनलाइन । बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा वास परियोजना सञ्चालन हुने भएको छ । खानेपानी, सरसफाइ र स्वच्छताको व्यवस्थापनमा सुधार ल्याउन वास परियोजना सञ्चालन हुने भएको हो ।
विकसित वास फिट टुल (Wash\ FIT) लागू गरि स्वास्थ्य क्षेत्रमा देखिएको सरसफाइ र स्वच्छतामा सुधार गर्न हुने लक्ष्य लिइएको छ । वास फिट टुलको प्रयोगले स्वास्थ्य संस्थाहरूमा सरसफाइ, सुरक्षित खानेपानी आपूर्ति, सरसफाइ व्यवस्थापन, वातावरणीय र सङ्क्रमण नियन्त्रणमा सुधार ल्याउन परियोजनाले काम गर्ने भएको छ ।

स्वास्थ्य शाखा प्रमुख विष्णु ज्ञवालीले पहिलो चरणमा पालिकाका सम्पूर्ण स्वास्थ्य संस्थामा वास फिट समिति गठन गरी समितिलाई वास फिटको महत्व, उद्देश्य, विशेषता, क्षेत्र, सूचक, समितिको महत्व, समितिको जिम्मेवारी, समितिको भूमिका लगायतका विषयमा कार्यक्रममा छलफल भएको बताउनु भयो । उहाँले मोहनपुर आधारभुत स्वास्थ्य सेवा केन्द्र, शिवपुर स्वास्थ्य चौकी र बनकट्टी आधारभुत स्वास्थ्य सेवा केन्द्र मा वास फिट सम्बन्धी अभिमुखीकरण गरिएको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ । स्वास्थ्य चौकीमा वास फिट लागू गरि वास सम्बन्ध सुधार गर्न पहल स्वास्थ्य शाखा तयार रहेको छ ।’
गेरुवा ग्रामीण जागरण सङ्घ बर्दियाका वास टेक्निकल अफिसर शरद कुमार खड्काले वास फिट सम्बन्धी अभिमुखीकरणले कार्यक्रमले ठाकुरबाबामा रहेका स्वास्थ्य संस्थामा सुधार ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले परियोजनामा सञ्चालन भएपछि स्वास्थ्य संस्थाहरूमा सरसफाइ र स्वच्छता मापदण्डहरू सुधार गरी सेवाग्राहीलाई सुरक्षित र स्वस्थ वातावरण निमार्णको मदत समेत पुग्ने जानकारी दिनुभयो ।
पालिकामा रहेका स्वास्थ्य संस्थाले वास फिट सम्बन्धी जानकारी पाएपछि स्वास्थ्य संस्थाको वास सम्बन्धी विस्तृत मूल्याङ्कन तथा सुधार गर्न कार्ययोजना तयार गर्ने भएका छन् । अभिमुखीकरण कार्यक्रम पालिका र गेरुवा ग्रामीण जागरण सङ्घ बर्दियाको सहकार्यमा सञ्चालन भएको थियो ।