

काठमाडाैं । तीन ठूला दलका शीर्ष नेताको बैठक सोमबार बस्दैछ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो ।

बैठक अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयाे ।
बैठकमा सङ्क्रमणकालीन न्याय (टिआरसी) बारे छलफल हुने बताइएको छ । यही चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टिआरसीको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिनु भएकाे थियाे ।
यो विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटकपटक प्रयास गर्दा सम्पर्क नभएको बताउनु भएकाे थियाे । यसअघि टिआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेल खुमलटार पुग्नुभएकाे थियाे ।
तराई-मधेश जागरण अभियानमा रहेका प्रचण्ड छलफलका लागि सोमबार नै काठमाडौँ फर्कने तयारी छ ।