
कृष्णसार अनलाइन । बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा स्थानीय सेवाग्राहीले समस्यामा भोग्नु परेको छ । खोपको अभाव हुँदा सेवाग्राही खोप लगाउन जिल्लाबाहिर जान बाध्य रहेको हो ।
बैतडी अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत महिनादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छ । समस्याका बारेमा प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदा समेत हालसम्म पनि उपलब्ध हुनसकेको छैन् । उहाँले भन्नुभयो, ‘गत तीन हप्तादेखि यहाँ रेबिजविरुद्धको खोपको अभाव रहेको छ । खोप अभाव बारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेका छौँ ।’

रेबिजविरुद्धको खोप सदरमुकाम स्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने गरिन्छ । पछिल्लो समय जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा खोप अभाव रहेकाले जनावरले टोकेर आउने बिरामी जिल्ला बाहिर जान बाध्य हुनु परेको हो ।
कुकुर, बिराला लगायत घरपालुवा जनावर र स्याल, ब्वाँसाजस्ता जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउनु पर्ने भए पनि खोपको अभावका कारण सेवाग्राहीहरू सेवा नपाएर फर्किनु परेका अवस्था रहेको छ ।


