
जयनारायण पुन,दाङ ।सन्तानका लागि अभिभावकले गर्ने माया र त्याग अनन्त हुन्छ । तर, हाम्रो समाजमा माया र संरक्षणलाई चुनौती दिने धेरै समस्या देखिँदै आएका छन् । दाङ जिल्लामा पनि यस्तै एउटा जटिल तस्वीर देखिएको छ, जहाँ अभिभावकको माया र बालबालिकाको अधिकारबीच बेमेलको अवस्था देखिएको छ ।
स्तनपान भनेको बालबालिकाको जीवनशैली र स्वास्थ्यको पहिलो स्तम्भ हो । जन्मिने बित्तिकै आमाको दूध बालबालिकालाई खुवाँउदा शारीरिक र मानसिक रूपले बलियो बनाउँछ । यसले कुपोषण र विभिन्न सङ्क्रमणबाट बालबालिकालाई जोगाउँछ ।

तर, दाङमा सरकारी तथ्याङ्कले देखाएको छ कि पूर्ण स्तनपानबाट बालबालिका वञ्चित छन् । आर्थिक वर्ष ०८०/८१ मा ९९.९६ प्रतिशत बालबालिकाले जन्मैदेखि स्तनपान गरेकामा आर्थिक वर्ष ०८१/८२ मा सात प्रतिशतले घटेर ९२.८७ प्रतिशतमा झरेको देखिन्छ । यसको अर्थ, धेरै बालबालिका जन्मने बित्तिकै स्तनपान गराएकाहरूले ६ महिनासम्म आमाको दुध नखुवाएको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८१/८२ मा बंगलाचुली गाउँपालिकामा जन्मेको एक घण्टा भित्रै आमाको दूध खान पाएका ९५.६१ प्रतिशत थिए भने ६ महिनासम्म आमाको दूध खानबाट घटेर ५५.८१ प्रतिशतमा झरेको छ ।
घोराही उपमहानगरपालिका जन्मेका एक घण्टाभित्रै आमाको दुख खान पाएका ८६.७९ प्रतिशतमध्ये पूर्ण स्तनपान गर्न पाउने बालबालिका १५ प्रतिशत घटेर ७१.३७ प्रतिशतमा झरेको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकामा जन्मेको एक घण्टा भित्रै आमाको दुध खान पाएका ९९.७८ प्रतिशतमध्ये पूर्ण स्तनपान गर्न पाउने सङ्ख्या २१ प्रतिशत घटेर ७९.९३ प्रतिशतमात्रै देखिएको छ ।
यसैगरी शान्तिनगर गाउँपालिकामा जन्मिएका शतप्रतिशत बालबालिकाले जन्मेको एक घण्टामै आमाको दूध खान पाएका थिए भने ६ महिनासम्म आमाको दूध खान पाउने बालबालिकाको सङ्ख्या घटेर ६४.३९ प्रतिशतमा झरेको छ । शान्तिनगरमा ३६ प्रतिशत बालबालिकाले पूर्ण स्तनपान गर्न पाएनन् भने बबई गाउँपालिकामा जन्मेको एक घण्टा भित्रै आमाको दूध खान पाएका ९६.७५ प्रतिशत रहेकोमा पूर्ण स्तनपान गर्न पाउने घटेर ८८.१ प्रतिशत मात्रै छन् ।
दंगीशरण गाउँपालिकामा जन्मेको एक घण्टा भित्रै आमाको दूध खान पाएका ९१.७८ प्रतिशत रहेकोमा ६ महिनासम्म आमाको दूध खान पाएका ७५.८७ प्रतिशतमात्रै छन् ।
राप्ती गाउँपालिकामा जन्मेको एक घण्टा भित्रै आमाको दूध खान पाएका ९९.७७ प्रतिशत हुँदा पूर्ण स्तनपान गर्ने बालबालिका ८३.४८ मात्रै छन ।
यस्तै गढवा गाउँपालिकामा जन्मेको एक घण्टा भित्रै आमाको दूध खान पाएका ९९.६३ प्रतिशतमध्ये १० प्रतिशत घटेर ८७.८९ प्रतिशतले मात्रै पूर्ण स्तनपान गर्न पाएका छन् । राजपुर गाउँपालिकामा जन्मेको एक घण्टा भित्रै आमाको दूध खान पाएका ९८.७ प्रतिशतमध्ये ६ महिनासम्म आमाको दूध खान पाएका ८३.३७ प्रतिशतमा झरेको छ । दाङमा दश पालिका मध्ये लमही नगरपालिकामा मात्रै शतप्रतिशत बालबालिकाले पूर्ण स्तनपान गर्न पाएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
विभिन्न गाउँपालिका र नगरपालिकामा स्तनपान गर्ने बालबालिकाको तथ्याङ्क फरक फरक देखिएको छ । तुलसीपुर उपमहानगर पालिकामा ९९.७८ प्रतिशत बालबालिका जन्मैदेखि स्तनपान पाएका भएपनि, ६ महिनासम्म आमाको दूध खान पाउने सङ्ख्या ७९.९३ प्रतिशतमा झरेको छ । यसले के संकेत गर्दछ भने प्रारम्भिक अवस्थाबाटै समस्या सुरु भएको देखिन्छ ।
स्वास्थ्य कार्यालयका अनुसार, धेरै अभिभावकलाई नै पूर्ण स्तनपानको बारेमा थाहा छैन। कतिपयलाई दूध नआउने समस्या हुन्छ भने कतिपयलाई परम्परागत विश्वासले रोक लगाउँछ। यसैले, सरकार र स्वास्थ्य संस्था, दुवैले सचेतना र शिक्षा अभियानलाई थप सक्रिय बनाउन आवश्यक देखिन्छ ।
बालबालिकामा देखियो कुपोषण
दाङमा कुपोषण समस्या पनि गम्भीर रुपमा देखिएको छ । विगत एक वर्षमा ३ सय २० बालबालिकामा कुपोषण पुष्टि भएको छ । तीमध्ये ७६ जनामा कडा खालको कुपोषणमा भेटिएको जनस्वास्थ्य कार्यालयमा दाङका निमित्त प्रमुख उज्ज्वल कुमार पौडेलले बताउनु भयो । तुलसीपुर, लमही, घोराही, राप्ती लगायत विभिन्न गाउँपालिका र नगरपालिकामा कुपोषणका समस्या देखिएको छ । जसमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा ४८ जनामा मध्यम र ३३ जनामा कडा कुपोषण देखिएको छ भने लमही नगरपालिकामा ४३ जनामा मध्यम र १४ जनामा कडा, घोराही उपमहानगरपालिकामा ३० जनामा मध्यम र नौ जनामा कडा, शान्तिनगर गाउँपालिकामा २४ जनामा मध्यम र पाँच जनामा कडा, बबई गाउँपालिकामा १८ जनामा मध्यम र सात जनामा कडा, गढवा गाउँपालिकामा १५ जनामा मध्यम र सात जनामा कडा, दंगीशरण गाउँपालिकामा १७ जनामा मध्यम र एक जनामा कडा, राजपुर गाउँपालिकामा १३ जनामा मध्यम र चार जनामा कडा र सबैभन्दा कम बंगलाचुली गाउँपालिकामा पाँच जनामा मध्यम खालको कुपोषण देखिएको निमित्त कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँले पूर्ण स्तनपान नहुँदा वालवालिकामा कुपोषण देखिएको बताउनुभयो ।
दाङमा आर्थिक वर्ष ०७७/७८ मा १ सय ११ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको थियो भने ७ सय ८२ जनामा मध्यम खालको कुपोषण भेटिएको थियो तर आर्थिक वर्ष ०७८/०७९ मा यो सङ्ख्या बढेर ५ सय ४ बालबालिकामा कडा खालको कुपोषण देखियो भने ७ सय २८ जनामा मध्यम खालको कुपोषण देखिएको थियो । आर्थिक वर्ष ०७९/०८० मा अझै बढेर ६ सय ८० बालबालिकामा कुपोषण हुँदा ४ सय १५ बालवालिकामा कडा खालको कुपोषण भेटिएको थियो । आर्थिक वर्ष ०८०/०८१ मा पनि ४ सय ७० जना बालबालिकामा कडा खालको कुपोषण देखिएको थियो भने १ सय ३८ जनामा मध्यम कुपोषण भेटिएको जनस्वास्थ्य कार्यालय दाङका पोषण फोकल पर्सन गजेन्द्र यादवले जानकारी दिनुभयो । उहाँले आमाले ध्यान नदिँदा आमा र बच्चा दुवैजनामा समस्या देखिन थालेको बताउनुभयो ।
जिल्ला बाल संगठनका अध्यक्ष विनोद केसीले थाहै नपाएर पूर्ण स्तनपान नगराउने आमासम्म सरकारले सचेतना पुर्याउनुपर्ने बताउनु भयो ।‘ बालबालिकामा कुपोषणको अवस्था हेर्दा डरलाग्दो नै छ । यदि चेतना नपाएर समस्या आएको हो भने सरकारी अभियान आमासम्म पु¥याउनु पर्छ, अध्यक्ष केसीले भन्नुभयो,–‘ तर शिक्षित, जानेबुझेकै आमाबाट पनि शारीरिक सुन्दरता बिग्रिने भन्दै पूर्ण स्तनपान नगराउनु गम्भीर बाल अधिकारको हनन हो । यसलाई रोक्न पनि सचेतना नै आवश्यक छ ।’
तसर्थ, बालबालिका हाम्रो भविष्य हुन् । उनीहरूको स्वास्थ्य र अधिकारको संरक्षण हाम्रो साझा जिम्मेवारी हो । दाङमा देखिएको यो समस्या केवल स्वास्थ्य संस्था र सरकारको मात्र होइन । यस समस्याको समाधानको लागि सामाजिक जागरूकता, स्वास्थ्य संघसंस्था तथा नागरिकहरू बीचको सहकार्य हुनु आवश्यक देखिन्छ ।
अभिभावकले आफ्ना सन्तानप्रति माया र जिम्मेवारीलाई प्राथमिकता दिएर, पूर्ण स्तनपान र पोषणको सुनिश्चितता गर्नु पर्दछ । यसरी मात्रै हामी हाम्रो सन्ततीलाई स्वस्थ, सशक्त र समृद्ध बनाउन सक्छौं ।


