
डाक्टर विजय ज्ञवाली
सबैले गुलाफ राम्रो भन्छन्
मलाई त्यो काँडा भएको झाडी जस्तो लाग्छ
फुल त राम्रो धतुरोको
कम से कम मात त लाग्छ
मोनालिसाको अनुहारमा भाव देख्नेहरू
खोइ के देख्छन्
ताज महललाई प्रेमको प्रतीक मान्नेहरू
खोइ के सोच्छन्
मलाई त यि सबै भ्रम जस्तो लाग्छ
हिमाल मुस्कुराउँछ भन्छन् अरु
म होला त नि भनी हो भनी दिन्छु
नदी सुसाउँछ छ रे भन्छन् अरु
म हो मा हो मिलाई दिन्छु
आजकल नबुझे पनि बुझे जस्तो गर्न
म गमक्क फुलेर टाउको हल्लाउँछु ।
आफूलाई खित्का छोडी हाँस्न मन लागेको ठाउँमा
ताल परे म आजकल आशु बगाउँछु
किनकी ,
आजकल म सङ्घर्ष गर्दैछु
मान्छे बाट भेडो बन्नलाई
बोल्न त मैले अस्ति नै छोडिसके
अब सिङ मात्र उम्रिन बाँकी छ ।
लेखकः– मनोविज्ञ तथा थेरापिस्ट हुनुहुन्छ ।


