
प्रकाश पौडेल, गुलरिया । बर्दियामा थारू समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका चटाई, पट्की, गोरी ढकिया र गुन्द्रीलगायतका हस्तकला सामग्री निर्माणका लागि थारू समुदायका महिलाहरूलाई सातदिने तालिम दिइएको छ । मधुवन नगरपालिका– १, डल्लामा थारू समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका चटाई, पट्की, गोरी ढकिया र गुन्द्रीलगायत हस्तकला सामग्री निर्माणका लागि थारू समुदायका महिलालाई सातदिने तालिम दिइएको हो ।


गत आइतबारबाट सुरु भएको हस्तकला सामग्री तालिममा डाइनिङ टेबलमा राख्ने थाल चकटी, रोटी राख्ने हटकेस, कलमदानी, ढकिया, फूलदानी, फुट बास्केट सामग्री राख्ने सामग्री बनाउन सिकाएको तालिमको प्रशिक्षक रामकुमारी चौधरीले बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘थारू महिलाले घरायसी प्रयोजनका लागि पहिलादेखि नै खेतबारी, सामुदायिक वन, नदीतटीय क्षेत्रमा पाइने काँस र खरबाट थाल चकटी, रोटी राख्ने हटकेस, कलमदानी, ढकिया, फूलदानी बनाउँदै आएका थिए । तर, पछिल्लो समयमा यस्ता सामग्री बनाउन छाडेका थिए । अब थारू समुदाय बनाउँदै आएको हस्तकला सामग्री माग बढ्दै गएको छ ।त्यही भएर परम्परागत सिप र ज्ञानलाई पुस्तान्तरण गरी व्यावसायिक रूपमा उद्यमी बनाउन पनि तालिम महत्त्वपूर्ण रहको छ । हस्तकलाको सामग्री बनाउन छेडना, कैँची , फिता काँच, खर भए पुग्छ।’

आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका कार्यक्रम संयोजक विश्वास चेपाङले वनसँगको निर्भरता घटाउने, आदिवासीहरूको परम्परागत ज्ञान तथा सीपको संरक्षण र प्रवर्द्धन गर्ने र महिलाको आयआर्जन गरी आत्मनिर्भर बनाउन पनि तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले आदिवासी जनजातिसँग पहिलादेखि परम्परागत रूपमा कुनै न कुनै ज्ञान र सिप छ । त्यसलाई व्यावसायिक रूपमा गरी स्वरोजगार हुनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय स्तरमा खेर गइरहेको कच्चा पदार्थको प्रयोग गरेर निर्माण गरिएको हस्तकलाको सामग्री बिक्री–वितरण तथा बजारीकरण गर्नका पालिकाले सहयोग गर्ने मधुवन नगरपालिका नगरप्रमुख तेजबहादुर भाटले बताउनु भयो । उहाँले भन्नुभयो , ‘तालिममा सहभागी भएर सिकेको ज्ञान तथा सिपलाई फुर्सदको समयमा हस्तकला सामग्री बनाउनुहोस् । त्यसका लागि पालिका के सहयोग गर्नुपर्छ भन्नुहोस् पालिका सहयोग गर्न तयार छ ।’

आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र बर्दियाकी फिल्ड अफिसर रमिला चौधरीले मधुवन नगरपालिका– १, डल्लाका २६ जना महिलालाई गोरी ढकिया तालिम दिइएको र ठाकुरबाबा नगरपालिका– ९ का २५ जना महिलालाई चटाई, पट्की र गुन्द्री बनाउने तालिम दिइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो , ‘महिला दिदीबहिनीले बनाएको हस्तकला सामग्री दिदीबहिनीको समूह बनाएर बिक्री–वितरण गर्ने तयारी गरेका छौँ ।’ यसरी स्थानीय स्तरमा पाइने खर र काँसको प्रयोग गरेर निर्माण गरिएको हस्तकला सामग्रीले आयआर्जनमा टेवा पुग्नेछ ।
आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र आयोजना तथा मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिका सहकार्यमा तालिम भएको थियो ।



