गुलरिया ।
थारु पत्रकार संघ नेपाल बर्दिया शाखाको दोस्रो अधिवेशनले मानबहादुर चौधरी नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बर्दियाको गुलरियामा थारु पत्रकार संघ बर्दियाको दोस्रो अधिवेशनबाट चौधरीको नेतृत्वमा ९ सदस्य नयाँकार्यसमिति सर्वसम्मत रुपमा चयन गरीएको हो ।
संघको उपाध्यक्षमा मेनका चौधरी, सचिवमा टीकाराम चौधरी, कोषाध्यक्षमा हुमकुमार चौधरी, सहसचिवमा महिमा चौधरी चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा रामबहादुर थारु, बिन्दु चौधरी, रामजानकी चौधरी र रमेश चौधरी चयन हुनु भएको छ । त्यसैगरी केन्द्रिय प्रतिनिधिको रुपमा संञ्जु चौधरी (सरम) शान्ति चौधरी र जनक चौधरीलाई चयन हुनुभएको छ ।
अधिवेशनको प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारुले थारु पत्रकारहरुले थारु समुदायको उत्थानका लागि कलम चलाउन आवश्यक रहेको बताउनु भएको छ । कलमको माध्यमबाट थारु समुदायमा रहेका विविध समस्याहरु र सचेतना पत्रकारीताको माध्यमबाट उठाउन सकिने कुरामा जोड दिनु भएको थियो । साथै आफु थारु पत्रकारहरुलाई हरेक तवरबाट सहयोग गर्न तयार रहेको बचन बद्धता गर्नु भएको छ ।
कार्यक्रमका बिशेष अतिथि तथा साहित्यकार, लेखक सुशिल चौधरीले थारु पत्रकारहरुको बिकासका लागि स्थानीय सरकार तथा सामाजिक संस्थाहरु संगको समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताउनु भएको छ । थारु संचार माध्यमहरुलाई निरन्तरता दिनका लागि चुनौती रहेको बताउदै संचार माध्यम र संचारकर्मी दुबैको बिकास गर्न जरुरी रहेको बताउनु भएको छ ।
कार्यक्रममा सहित्यक बखेरीका केन्द्रिय अध्यक्ष सोम डेमनडौराले थारु पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।
प्रेस चौतारी बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटाले थारु पत्रकारहरुले थारु समुदायको पहिचान र बिकासका लागि कलम चलाउन आग्रह गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
सभाबाट थारु समुदायको पहिचान, थारु पत्रकार उत्पादन तथा बिकासका लागि विविध कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ । साथै आजै नयाँ कमिटीको बैठक बसी थारु पत्रकार संघको महाधिवेशनलाई सम्पन्न गर्नका लागि आर्थिक तथा प्रतिनिधिहरु पठाउने बिषयमा निर्णय समेत गरेको छ । दोस्रो अधिवेशन थारु पत्रकार संघ बर्दियाका अध्यक्ष सञ्जु चौधरी(सरम)को अध्यक्षतामा भएको थियो ।