
कृष्णसार अनलाइन । बर्दियामा ८२ वर्षीया ज्येष्ठ नागरिक महिलालाई नागरिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया नगरपालिका– ११ की ८२ वर्षीया मुन्नी कुर्मीलाई सोमबार नागरिकता दिएको हो ।
नागरिकता नहुँदा कुर्मी विधवा भत्ता र ज्येष्ठ नागरिक भत्ताबाट बञ्चित हुनुहुन्थ्यो। गुलरिया नगरपालिका– ११ वडा कार्यालयको सिफारिसको आधारमा कुर्मीलाई नागरिकता दिइएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कर सिंह बुढाले बताउनु भयो । उहाँले कुर्मीले नागरिकता लिएनलिएको बारेमा बुझ्दा अहिलेसम्म नागरिकता लिएको नदेखिएको हुँदा कुर्मीलाई नागरिकता दिइएको बताउनु भयो ।

गुलरिया नगरपालिका– ११ कि मुन्नी कुर्मीले ८२ वर्षको उमेरमा नागरिकता पाउँदा खुसी हुँदै अब राज्यले दिने सेवासुविधा पाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब मैले कम्तीमा पनि भत्ता पाउने भएँ । यो पैसाले मैले आफूलाई चाहिएको सामान किन्न पाउने भएँ ।’
कुर्मीका चार सन्तान रहेका छन् । परिवारमा अन्यको नागरिकता भए पनि कुर्मीको नागरिकता बनेको थिएन ।


