
कृष्णसार अनलाइन । बर्दियाको गेरुवा गाउँपालिकामा भएको रक्तदान कार्यक्रममा ६९ जना रक्तदाताले रक्तदान गरेका छन् । गेरुवा गाउँपालिका , ३ शान्ति बजारमा भएको रक्तदान कार्यक्रममा ६९ जना रक्तदाताले रक्तदान गरेका हुन ।
मृगौला रोगका बिरामी, सिकलसेल, थालेसेमिया र रक्तअल्पता भएका बिरामीलाई नियमित रूपमा रगत चढाउनु पर्ने हुन्छ । जिल्लामा रगत चढाउनु पर्ने बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य संस्थामा रगतको अभाव हुने नदिन विभिन्न समयमा रक्तदान कार्यक्रम हुने गरेको छ । विज्ञान र प्राविधिले जतिसुकै प्रगति गरेको भएपनि रगत निर्माण गर्न सकिएको छैन् । बिरामीलाई रगतको अभाव हुन नदिन पटक पटक रक्तदान कार्यक्रम हुने गरेको छ ।

रक्तदान कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले रगतको अभाव भोगी रहेका बिरामीका लागी रक्तदान गरेर रक्तदाताले पुण्यको काम गरेकोबताउनु भयो । उहाँले भन्नुभयो, ‘ दीर्घ रोगी जसलाई नियमित रगत चढाउनु पर्छ, सुत्केरी, दुर्घटनामा परेर आपतकालीन रूपमा रगत चढाउनु पर्ने बिरामीको लागि रक्तदान कार्यक्रममा संकलन भएको रगत महत्त्वपूर्ण हुन्छ ।’
प्रतिकुल मौसममा पनि विभिन्न स्थानबाट आएर रक्तदान गर्ने रक्तदातालाई गगन सिंह कुँवर फाउण्डेसन नेपालको तर्फबाट धन्यवाद व्यक्त गर्दछु, फाउण्डेसनका अध्यक्ष शेर बहादुर कुँवरले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ रगतको अभाव भोगी रहेको बिरामीलाई रगतको अभाव हुन नदिन तथा रक्तदान गर्दा स्वास्थ्यमा असर पर्दैन भन्ने सन्देश दिन पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।’
रक्तदान कार्यक्रम गगन सिंह कुँवर फाउण्डेसन नेपालको आयोजनामा गरिएको थियो । भने फाउण्डेसनको आयोजनामा भदौमा भएको रक्तदान कार्यक्रम ८३ पिन्ट रगत संकलन भएको थियो ।



