bardiyahospital

परामर्श र डिपिआर निर्माणको काम सेटिङमा पालिकाको कर्मचारीलाई

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  बर्दियाको राजापुर नगरपालिकाले खरिद गर्ने गरेको परामर्श र डिपिआर निर्माणको काम सेटिङमा पालिकाका कर्मचारीले नै गर्ने गरेको पाइएको छ । पालिकाले खरिद गर्ने गरेको परामर्श र डिपिआर निर्माणको काम सेटिङमै पालिकाका कर्मचारी अमिन हरि रिजाललाई दिने गरेको पाइएको छ । 

आफ्नो नामबाट कन्सल्टेन्सी दर्ता गर्दा थाहा हुने भएकोले अमिन रिजालले श्रीमती मेनका अधिकारीको नाममा  रिलेएबल इन्जिनियरिङ कन्सल्टेन्सी दर्ता गरेका छन् । सोही कन्सल्टेन्सीमार्फत पालिकामा जग्गाको वर्गीकरणको काम, डिपिआरको काम र बसोबासको जग्गा सर्भे तथा नापनक्सा तयार गर्ने आवश्यक नियन्त्रण विन्दुहरूको सर्भे तथा स्मारक निर्माण गर्ने काम गरेका छन् । 

cld

 सार्वजनिक निकायमा जनशक्तिको अभाव भएमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ ले व्यवस्था गरेअनुसार काम गराउन सकिन्छ । सोही व्यवस्थाअनुसार पालिकाले जनशक्ति अभाव भएको भन्दै  परामर्श र डिपिआरको काम पालिकाले कन्सल्टेन्सीमार्फत गराउँदै आएको छ । पालिकाले परामर्शको काम खरिद गर्नका लागि लेखा प्रमुख वसन्त मल्ल, त्यसैगरी प्रशासन, योजना तथा अनुगमन शाखाका अधिकृत आनन्दप्रसाद जैसी र सम्बन्धित फाँटको एकजना कर्मचारी सदस्य रहेको मूल्याकंन समिति रहेको छ । पालिकाले खरिद गर्ने काम त्यही मूल्याकंन समितिको सिफारिसको आधारमा खरिद गर्ने गरेको छ । 

पालिकाले आर्थिक वर्ष ०८०/८१ मा भूमि कर र सम्पत्ति कर लागू गर्न/गराउनका लागि विशिष्टीकृत जग्गाको वर्गीकरणको काम गर्ने कार्यपालिकाले निर्णय गरेको थियो ।  जग्गा वर्गीकरणको काम गर्दा जनशक्ति अभाव भएको भन्दै पालिकाले परामर्शदातामार्फत काम गर्ने भनेर ०८० चैत ९ गते परामर्श सेवा खरिदका लागि १५ दिने सूचना प्रकाशन गरेको थियो । पालिकाले प्रकाशन गरेको सूचनाअनुसार परामर्शको काम गर्न एकजना मात्र  परामर्शदाताले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए । 

परामर्श खरिद गर्दा कम्तीमा पनि तीनवटा परामर्शदाता प्रस्ताव पेस गर्नुपर्ने भएकोले त्यसवेला परामर्श खरिदको काम रोकिएको थियो । पछि पालिका अर्को सूचना प्रकाशन नगरेर पालिकाका कर्मचारीहरूको मिलेमतोमा आन्तरिक रूपमै कागजात मिलाएर विशिष्टीकृत जग्गाको वर्गीकरणको काम कर्मचारी अमिन रिजालको श्रीमतीको नाममा रहेको रिलेएबल इन्जिनियरिङ कन्सल्टेन्सीलाई परामर्शको काम दिइएको थियो । विशिष्टीकृत जग्गाको वर्गीकरणको काम  गरेबापत पालिकाबाट १९ लाख ५० हजार पाँच सय भुक्तानी भएको देखिन्छ । 

त्यसैगरी, आर्थिक वर्ष  ०८०/८१ मा राजापुर नगरपालिका– २, कालाबजार सडक डिपिआरको काम पनि अमिन रिजालको श्रीमती नाममा रहेको कन्सल्टेन्सीलाई नै दिइएको थियो । कालाबन्जार सडकको डिपिआरको काम गरेबापत पालिकाबाट चार लाख ९७ हजार १०९ रुपैयाँ भुक्तानी भएको देखिन्छ । त्यसभन्दा अघिल्लो वर्ष ०७९/८० मा भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा सर्भे तथा नापनक्सा तयार गर्ने आवश्यक नियन्त्रण विन्दुहरूको सर्भे तथा स्मारक निर्माण गर्ने काम कन्सल्टेन्सीलाई आन्तरिक रूपमा कागजात मिलाएर दिइएको देखिन्छ ।

पालिकाले भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा सर्भे तथा नाप नक्सा तयार गर्ने आवश्यक नियन्त्रण विन्दुहरू सर्भे तथा स्मारक निर्माण गर्ने काम गर्दा बिल बिजक भन्दा बढी भुक्तानी ९० हजार चार सय रुपैयाँ असुलउपर गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जग्गा वर्गीकरणको काम, डिपिआरको काम  र जग्गा सर्भे तथा नक्सा तयार गर्ने आवश्यक विन्दुहरूको सर्भे तथा स्मारक निर्माण गर्ने कामबारे सोध्दा पालिकाका नगरप्रमुख दिपेश थारूले कसले गर्‍याे भन्नेबारेमा आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पालिकाको नीतिगत रूपमा बजेट व्यवस्थापन गर्ने काम गरेको हो । काम गराउँदा सूचना प्रकाशन गरेर प्रतिस्पर्धाका आधारमा गर्ने भनिएको छ । काम कसले गर्‍याे भन्नेबारेमा मलाई थाहा छैन । यो कर्मचारीले गर्ने काम हो । कर्मचारीले के गरे यसबारेमा मलाई जानकारी छैन ।  नियमअनुसार गर्ने भनेर बजेटचाहिँ छुट्याइएको थियो ।’ 

अमिन हरिप्रसाद रिजालले रिलेएबल इन्जिनियरिङ कन्सल्टेन्सी आफ्नो श्रीमती भएको र  पालिकाको काम श्रीमतीले गरेको बताउनु भयो । ‘मेरो श्रीमती सर्भे इन्जिनियर पढेको हो । पालिकाको काम मैले होइन, मेरो श्रीमतीले गरेको हो  । उनले प्रतिस्पर्धाको आधारमा काम गरेकी हुन् । यसका मेरो कुनै संग्लना छैन । पालिकाको कर्मचारी भएँ भन्दैमा मेरी श्रीमतीले प्रतिस्पर्धा नपाउने भन्ने हुन्न होला नि,’ उहाँले भन्नुभयो, ‘म कर्मचारी मात्र हुँ, मेरो नाममा केही छैन । म कर्मचारी भएँ भन्दैमा परिवारले काम गर्न हुन्न भन्ने पक्कै छैन होला ।’

अमिन रिजालले सर्भे इन्जिनियर पढेको बताए पनि उनको श्रीमती प्लस २ पढेको स्थानीय बताउँछन् । यसरी पालिकाभित्र हुने गरेको परामर्श खरिद र डिपिआरको कामका कर्मचारीको मिलमतो भएको प्रस्ट देखिन्छ । पालिकाले आफ्नो आधिकारिक फेसकुक आइडी र वेबसाइड बनाएको छ । तर, त्यसमा  सूचना प्रकाशन भएको देखिँदैन ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.