
_ भुपेन्द्र बुढाथोकी
धेरैले घर गुमाए
आफ्ना मान्छे गुमाए
अब के–के गुमायौँ भनेर सोच्न
सक्ने अवस्था पनि छैन।
जिन्दगी पनि कति अचम्मको रहेछ है
कुन दिन, कुन मोडमा
कसलाई के आइपर्छ
कसैलाई थाहा हुँदैन।
आज हामी अरूको पीडा हेरेर
आँसु झारिरहेका छौँ
भोलि त्यही पीडाले
हाम्रो ढोका पनि ढकढक्याउन सक्छ।
त्यसैले विपत्तिको यो घडीमा
कसैको दुःखमा रमाउने होइन
सक्नेले हात थामौँ
नसक्नेले कम्तीमा मन नदुखाऔँ ।
अर्काको घर उजाडिएको बेला
त्यही मौका हेरेर चोरी गर्ने
लुटपाट गर्ने जस्ता घृणित काम गर्ने
सोचसम्म पनि कसैको मनमा नआओस्।
भोक, पीडा र आँसुको
बीचमा अपराध होइन
मानवता जन्मिनुपर्छ।
धन, घर, सम्पत्ति, पद र प्रतिष्ठा…
यी सबै समयसँगै छुटेर जान सक्छन्।
तर दुःखमा दिएको एउटा साथ
बचाएको एउटा जीवन
पुछिदिएको एउटा आँसु
सायद यही नै मानिस भएर जन्मिनुको
सबैभन्दा ठूलो अर्थ हो
किनकि अजम्बरी कोही छैन।
आज कसैको आँगनमा विपत्ति आएको छ
भोलि अर्कैको आँगनमा पनि आउन सक्छ
एक दिन यो संसार सबैले छोडेर जानैपर्छ।
जाँदा साथमा धन–सम्पत्ति होइन
मानव भएर बाँचेका कथा मात्र बाँकी रहनेछन्।
त्यसैले आज पीडामा परेकोलाई साथ दिऔँ,
लुटौँ होइन, बचाऔँ
घृणा होइन, माया बाँडौँ।
विपत्तिमा साथ नहराओस मानवता नहराओस्।


