
कृष्णसार अनलाइन । रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बर्दियाका सामाजिक संघसंस्था, धार्मिक संगठन तथा व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ लाख ६३ हजार ४ सय ७७ रुपैयाँ सहयोग गरेका छन्।
गुलरिया नगरपालिकाले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मोहम्मदपुरका मस्जिदहरू तथा मुस्लिम समाजले २ लाख २ हजार ७ सय ८६ रुपैयाँ र इसाइ समाज बर्दियाले ४ लाख २० हजार ५ सय ८० रुपैयाँ कोषमा जम्मा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले उद्योग वाणिज्य संघ गुलरिया, होटल अर्गनाइजेसन बर्दिया र महिला उद्यमी संघ बर्दियाले संयुक्त रूपमा राहत संकलन गरी १ लाख ६० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बताउनु भयो बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपालले ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
गुलरिया नगरपालिकामा रहेको कल्पतरु कृष्णसार कृषि सहकारी संस्थाले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको संस्थाका कोषाध्यक्ष लोकप्रसाद भुषालले जानकारी दिनुभयो। गुलरिया नगरपालिका, ११ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयले २७ हजार २ सय २५ रुपैयाँ सहयोग गरेको छ। गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर रावतले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६६ हजार रुपैयाँ जम्मा गरेको जानकारी दिनुभयो।राजापुर नगरपालिका, २ मा रहेको बालाबजार व्यवस्थापन समितिले २२ हजार २ सय ७५ रुपैयाँ र गेरुवा गाउँपालिका–३, शान्तिबजारमा रहेको भौंरा टप्पा अटो यातायात प्रालिले २ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रम बढ्दो छ। विपद्को समयमा पीडित नागरिकको सहयोगका लागि बर्दियाका विभिन्न समुदाय, सामाजिक संस्था, धार्मिक संगठन तथा व्यवसायी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।


