
प्रकाश पौडेल, गुलरिया । प्रकृतिको कुचिकारका रूपमा चिनिने गिद्ध देखिन छाडेपछि बर्दियाका संरक्षणकर्मीहरू चिन्तित बन्न थालेका छन्। प्राकृतिक बासस्थानको विनाश, आहारा प्रजातिको कमी र विषादीको बढ्दो प्रयोगले गिद्ध देखिन छाडेपछि बर्दियाका संरक्षणकर्मीहरू चिन्तित बन्न थालेका हुन्।
आफैँ मरेका गाईबस्तु तथा अन्य जनावरको सिनो खाएर गिद्धले वातावरणलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्छ। गिद्धले आफैँ सिकार नगरी मरेका जनावरको सिनो खाने भएकाले वातावरणमा दुर्गन्ध फैलिन नदिन तथा विभिन्न रोग र महामारी फैलिने जोखिम कम गर्न सहयोग गर्छ। त्यसैले गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ।

विश्वभर २३ प्रजातिका गिद्ध पाइन्छन् भने हाल नेपालमा नौ प्रजातिका गिद्ध पाइने नेपाल पन्छी संरक्षण संघका केन्द्रीय सदस्य रामबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा डंगर गिद्ध, सुन गिद्ध, सानो खैरो गिद्ध, हिमाली गिद्ध, हाडफोर गिद्ध, सेतो गिद्ध, लामोठुँडे गिद्ध, राज गिद्ध र खैरो गिद्ध पाइन्छन्।’ प्रायः गिद्धले अग्ला सिमलका रूखमा गुँड बनाएर अन्डा पार्ने र बच्चा कोरल्ने भएकाले सिमलका रूखको संरक्षणमा ध्यान दिनुपर्ने शाहीले बताउनु भयो ।
‘डाइक्लोफेनेक जस्ता विषादीजन्य औषधि प्रयोग गरिएको पशुको सिनो खाँदा गिद्धको मिर्गौला फेल भएर मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ,’ उहाँले भन्नुभयो, ‘गिद्ध घट्दै जानु चिन्ताको विषय हो। त्यही भएर गिद्ध संरक्षणका लागि गाईभैँसी पालक तथा किसानलाई समेत यसबारे सचेत बनाउन आवश्यक छ।’
बर्दियामा गिद्ध संरक्षणका लागि नेपाल पन्छी संरक्षण संघ र बर्दिया प्रकृति संरक्षण क्लबको आयोजनामा १८औँ अन्तर्राष्ट्रिय गिद्ध दिवसको अवसर पारेर ठाकुरबाबा र मधुवन नगरपालिकाका सामुदायिक वनका हेरालुलाई गिद्ध संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ।
बर्दिया प्रकृति संरक्षण क्लबका सचिव आनुराम चौधरीले कार्यक्रममा गिद्धले वातावरणीय सन्तुलन कायम राख्न पुर्याउने योगदान, गिद्धको बासस्थान संरक्षण तथा आहारा व्यवस्थापनका विषयमा सहभागीलाई जानकारी गराइएको बताउनु भयो । ‘गिद्ध संरक्षण एकदुई व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन। यसको संरक्षणका लागि समुदाय, जिम्मेवार निकाय र सरोकारवाला सबैको सक्रिय सहभागिता आवश्यक छ,’ चौधरीले भन्नुभयो, ‘त्यसैले सामुदायिक वनका हेरालुलाई सहभागी गराएर संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो।’
गिद्ध संरक्षणका लागि डाइक्लोफेनेक जस्ता औषधिको बिक्रीवितरण रोक्ने, प्राकृतिक बासस्थान र गुँड क्षेत्र संरक्षण गर्ने, मरेका पशुको सुरक्षित व्यवस्थापन गर्ने, गिद्धलाई विषरहित आहारा व्यवस्थापन गर्ने, वन फँडानी, डढेलो र बासस्थान विनाशलाई नियन्त्रण गर्ने तथा विषादी र रासायनिक पदार्थको अनियन्त्रित प्रयोग रोक्नुपर्ने धारणा संरक्षणकर्मीहरूले राख्दै आएका छन्।
त्यसका साथै विद्युत् तार तथा संरचनाबाट हुने जोखिम न्यूनीकरण गर्ने, गिद्धको संख्या, प्रजनन र मृत्युको कारणबारे नियमित अनुगमन तथा अनुसन्धान गर्ने, घाइते वा बिरामी गिद्धको उद्धार, उपचार र पुनर्स्थापनाको काममा जोड दिनुपर्नेमा संरक्षणकर्मीहरूको भनाइ रहेको छ।


