
कृष्णसार अनलाइन । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा बर्दियाका नेपाल भारत सीमा क्षेत्रमा सचेतना मूलक घरदैलो कार्यक्रम गरिएको छ। २० औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसका अवसरमा सीमा क्षेत्रमा घरदैलो तथा सचेतना मूलक कार्यक्रम गरिएको हो।
घरदैलो तथा सचेतना मूलक कार्यक्रममा स्थानीयवासीलाई मानव बेचबिखन तथा ओसारपसारबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदै पर्चा पम्प्लेट वितरण गरिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्ति तथा स्थानीय समुदायलाई अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, रोजगारी तथा वैदेशिक यात्राका क्रममा आवश्यक कागजात र जानकारीको यकिन गर्न तथा शङ्कास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको थियो।’

गुलरियाको सुरजपुर नाका, मधुवनको शक्तिपुर नाका र बढैयातालको फुटाहा नाकामा गरिएको कार्यक्रममा प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोगमा जोड दिइएको थियो। साथै, सामाजिक सञ्जाल तथा अन्य प्रविधिको दुरुपयोगबाट हुन सक्ने मानव बेचबिखन तथा ओसारपसारका जोखिमप्रति सचेत रहन स्थानीयवासीलाई आग्रह गरिएको थियो। यस वर्ष “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने मूल नाराका साथ दिवस मनाइएको छ। भने माइती नेपालले नेपाल प्रहरीसँग सहकार्य गरेर विभिन्न कार्यक्रम गर्दै आएको छ।


