bardiyahospital

अमर प्रेम कथाको आँखीझ्यालबाट बाबुहरुका प्रकृति चियाउँदा

Geruwa GIF

_सोम खड्का ।     

सुन बादल भो, सुन सूर्य भए । सुनद्वार खुल्यो, सुनको नभमा ।।

cld

सुनको भव भो, सुनको जलले । सुनतार बजाउँछ कल्कलले ।।

 महाकवि लक्ष्मी प्रसाद देवकोटा – शाकुन्तल महाकाब्य,

हिन्दुहरूको महान धार्मिक ग्रन्थ महाभारतमा ययाति र देवयानीको विवाहको कथा प्रसङ्ग छ जहाँ ययाति सँग आफ्नो विवाह हुँदा देवयानीले आफ्नो पूर्व इबी साध्ने र बदला लिने भावनाले शर्मिष्ठालाइ आफ्नो दासी बनाएर दरबारमा लगिन । पछि ययाति राजाको शर्मिष्ठा सँग प्रेम हुन गयो  र शर्मिष्ठाबाट छोरा पुरु जन्मिए भने देवयानीबाट छोरा यदु जन्मिए । पछि यदु तर्फबाट यदुवंशी यादवहरुको उत्पत्ति भयो भने पुरु तर्फबाट पाण्डव र कौरवको वंश शुरु भयो महाभारतको पुरै कथा यिनै दुई वंशहरूको बारेमा रहेको छ ।

सोही महाभारतको अध्याय – 4 मा शकुन्तलाको जीवनी अनि अति प्रतापी तथा त्यतिबेला पनि आफू चन्द्रवंशी भएर र आफ्ना पाँच भाइ छोराहरू हुँदा हुँदै पनि भारद्वाज वंशिया ऋषिका पुत्रलाई राजा बनाई राजपाठ सुम्पने काम गरेकाबाट, गणतन्त्रवादी राजा कहलिएका भरतको जन्मको कथा वर्णन छ ।यसै कथा प्रसङ्गमा आधारित रहेर, संस्कृतका महाकवी कालिदासले “अभिज्ञान शाकुन्तलम”, संस्कृत महाकाव्य रचना गरे भने महाकवि लक्ष्मी प्रसाद देवकोटाले “शाकुन्तल महाकाब्य”  ( जुन स्वयं देवकोटाले नै तीनवटा भाषामा लेखेका थिए भने पछि त धेरै नै भाषामा अनुवाद भै सकेको छ) र आशुकवि शम्भुप्रसाद ढुङ्गेलले “ शकुन्तला ” को रचना गरे ।अरु पनि साहित्यकार तथा रचनाकारहरूले यिनै शकुन्तलाको कथामा आधारित थुप्रै गद्य तथा पद्य साहित्यिक रचनाहरूको रचना गरेका छन भने यिनै रचना र ग्रन्थहरू उपर थुप्रै शोधपत्रहरू समेत लेखिएका छन ।

जुन कथा र कृतिहरू अनुसार महाभारतका तिनै पात्र सद्गुरु पुरुबाट अघि बढेको वंशमा केही पुस्ता पछि राज गाधिसत्यरानीका छोरा राजा विश्वामित्र आए, जसलाई त्यतिबेला कौशिक भनिन्थ्यो जो क्षेत्रिय देखि ब्राह्मण सम्म र राजा देखि ब्रह्‍मर्षि सम्म बने ।जब उनी राजा थिए तब उनी ऋषिमुनिहरूको शक्ति देखेर यसरी र यति हद सम्म प्रभावित भए की, उनलाई ऋषिमुनिहरूको शक्तिको तुलनामा राजाको शक्ति ज्यादै नै कम छ भन्ने महसुस भयो । त्यसैले उनी आफू एक क्षेत्रिय राजकुलमा जन्मिएको राजा भएता पनि ऋषि बन्न चाहे, राजपाठ र राजगद्दि त्यागे, जंगलमा गए र कठोर तथा घनघोर तपस्या गरे फलस्वरुप उन्ले ब्रह्मा बाट राजर्षिको पदवी तथा बरदान पाए तर त्यसबाट चित्त नबुझी पुनः तपस्या गरी उनी ब्रह्‍मर्षि बने । उन्को यस्तै तपस्या र शक्ति देखि कुनै समय र दिनमा स्वर्गका राजा इन्द्र यति भयभित भए र डराए की, उनीबाट आफ्नो श्रेष्ठता र अमरावती नै खतरामा पर्न जाने देखे । अब भने स्वर्गकी अप्सरा मेनकालाइ इन्द्रले विश्वामित्रको तपस्या भंग गर्ने जिम्मेवारी दिएर, स्वर्गको पासपोर्टमा मर्त्यलोकको भिजिट भिषा मिलाई विश्वामित्र भए ठाउँ पठाए ।

जब मेनका, विश्वामित्र तपस्यालिन भएठाउँमा पुगी नाच गान गर्न लागिन, विश्वामित्रको ध्यान खुलेन त्यतिबेला बायूले सहयोग गरी मेनकाका सारी तथा दुपट्टाका आँचल उडाएर लगी विश्वामित्रको श्पर्शमा पुरयाए तब विश्वामित्रको ध्यान खुल्यो र आँखा खोली हेर्दा आफ्नो अगाडी एक सुन्दर अप्सरा मेनका नृत्य कलाका अनेक भाव भंगिमाहरुका साथ नाच गान गरी रहेको देखि उनी मोहित भए र यी दुइको प्रेम शुरु भयो । केही समय पछि मेनकाको कोखबाट शकुन्तलाले यस धर्तिमा जन्म लिईन तर विश्वामित्रले मेनकाले जन्म दिएकी ती अवोध र खुद आफ्नी छोरी जातकलाई आफ्नी छोरी भनेर स्वीकार नै गरेनन् ।ठीक त्यति नै बेला मेनकाको पनि मर्त्यलोकमा बस्न पाउने भिजिटभिसाको समय सकियो, उनलाई इन्द्रले दिई पठाएको जिम्मेवारी पनि पुरा भयो । अब स्वर्ग नजाने हो भने मर्त्यलोकको अद्यागमन विभागको फन्दामा परिने पनि भयो सायद ! । त्यसैले, विश्वामित्र बाबुबाट आफ्नी छोरी भनेर स्वीकार नगरिई त्यागिएकी छोरी जातकलाइ हतार हतार मेनकाले पनि घनघोर वन विच मालिनी नदीको किनारनेर एक झाडीमा वेवारिश अवस्थामा फ्याँकेर आफू आमा पनि स्वर्गलोकमा इन्द्रको नगरी अमरावती पुगीन ।

काम विशेषले एक दिन कण्व ऋषि जंगलको त्यहि बाटो भएर हिँड्दै थिए । त्यहाँ एक मानव छोरी जातकलाई शकुन्त नामक चराले रेख देख संरक्षण र स्याहार सुसार गरेको देखि उन्ले ती बालिकालाई, अब आफ्नी धर्म छोरीको रुपमा आफ्नो काखमा (Adoption) लिए र आफ्नो  कुटीमा आफ्नो संरक्षण र रेख देखमा राखी पालन पोषण गरी हुर्काए । आफुले काख लिनु पूर्व शकुन्त नामक चराले  स्याहार गरेको हुनाले ती बालिकाको नाम शकुन्तला भनेर राखि दिए ती कण्व ऋषिले ।

शुक्लपक्षको चन्द्रमा जस्तै गरी बढे हुर्केकी, अब ठूली वा किशोरी भई सकेकी आफ्नी धर्मछोरी शकुन्तलालाई कुटीमा छाडेर ऋषि कण्व तिर्थाटनमा गए । ठीक त्यहि समयमा हस्तिनापुरका चन्द्रबंशी राजा दुष्यन्त शिकार खेल्दै जंगलमा रहेको कण्व ऋषिको कुटिनेर आइ पुगे र शकुन्तला रहे बसेको कण्व ऋषिको कुटी नजिक जुन मृगको बच्चा सँग सानोमा सँगै खेलेर शकुन्तला हुर्केकी थिइन र अब मृग पनि हुर्केको थियो त्यसै मृगलाइ नै मार्न दुष्यन्तले बाँण ताकेको देखी खबरदार गरेर राजालाई बाँण चलाउनबाट रोकीन र यी दुई विच भेटघाट तथा कुरा कानी एवं चिनापर्ची भयो र यी दुईले गन्धर्व विवाह गरे । यस्तैमा दुष्यन्त राजालाई छिटै राज दरवार जानु पर्ने खबर आयो र उनले शकुन्तलालाई आफ्नो एउटा औँठी दिएर राज दरवार फर्किए ।

जब, केही कालको तिर्थाटन पछि ऋषी कण्व कुटिमा फर्किए र उनले आफ्नी छोरी (धर्मछोरी) शकुन्तलामा केही फरकपन आएको देखि सोध खोज गरे तब शकुन्तलाले पनि आफुले राजा दुष्यन्त सँग गन्धर्व विवाह गरेको कुरा बताइन ।पिताको जानकारी विना त्यो निर्णय गरेकोमा माफी पनि मागिन तर ऋषिले छोरीको खुशी नै आफ्नो खुशी मानेर स्वीकार गरे । कोहि बरसँग विवाह गरी बधु बनी गर्भिणी समेत बनी सकेकी छोरी बाबुको घरमा बसी रहनु हुन्न भनी, एक गृहिणीले गृहस्थ जीवनमा गर्नु पर्ने सबै धर्म र कर्तब्य सिकाइ डोलेहरुको ब्यवस्था गरी बाबु ऋषि कण्वले छोरीलाइ राजाकहाँ पुरयाइ आउन पठाए ।शकुन्तलालाई घर पठाउँदा कण्व ऋषिले अति पिर मानी यस्तो विचार ब्यक्त गरेका थिए-

“ जान्छिन् आज शकुन्तला घर भनी उठतो छ चिन्ता अति,

प्रीतिको मनमा प्रवाह बहँदा रोकिन्न आँसू रति ।

हामी झैँ वनवासिको पनि भयो यो गत् भने यो घडि,

बस्छन धैर्य गरी गृहस्थ कसरी छोरी बिदाई गरी ।।” (शम्भु प्रसाद ढूङ्गेल)

डोलेहरुले राजदरवारमा पुरयाएर सबै कुरा बताउँदा पनि ढोके तथा द्वारपालेहरूले उनलाइ भित्र जान दिएनन र रोकी राखे अर्थात फर्की जान सम्म भने तर शकुन्तलाले सबै कुरा भने पछि राजाको बैठक सम्म त्यो खबर पुरयाइयो राजाले बैठक सम्म लिई आउने अनुमति त दिए तर आफुले नचिनेको अभिनय गरे ।उता डोलेहरु भने फर्किए वा फर्काइए ।शकुन्तलाले अनेक ढंगले आफुहरु विच भएको गन्धर्व विवाहको कुरा बताएर दुष्यन्त राजालाई सम्झाउने प्रयास गरिन तर दुष्यन्तले कुनै कुरा पनि स्वीकार नगरी इंकार मात्र गरी रहे र उल्टै के प्रमाण छ ? भनेर बम्किए उता शकुन्तलाले औँठी छ प्रमाण भन्दै देखाउँ भनेर खोजेको त्यो त हराइ सकको पो रहेछ । यसबाट राजा झन बलियो भए र शकुन्तलाको कुरा झुट्टा देखियो । तब उन्का भाई भारदारहरुले अन्य कसैको गर्भ ल्याएर राजाको भन्न सक्ने बहुत हिम्मतवाला महिला रहिछे सम्म भने र राजाले बाहिर निकाली पठाइदिने आदेश दिए । यो भन्दा बढी अपमान भोग्नु भन्दा बरु आफै निस्किएर जानू बेश ठानी शकुन्तला त्यहाँ बाट निस्किएर पुनः जंगल तर्फ नै लागीन तर कण्व कहाँ जान भने सकिनन ।सोचे होलिन छोरीको यो दर्दनाक पिडाबोधको अवस्था देखेर बाबुले पिर गर्लान वा यो कुरा सहन नसकी एक तपस्वी ऋषिले राजालाई कुनै सराप पो दिई देलान । यी दुवै कुरा उनी चाहन्नथिन ।

गर्भिणी महिला, एक्लै जंगल जंगल उध्देश्य विहिन र गन्तब्य बिहिन अवस्थामा भोकै प्यासै हिँड्दा जीउ गल्नु र थकित हुनु त छँदै थियो त्यस्मा पनि झन वनका जंगली काँडाहरुले शरिरका लुगा कपडाहरु च्यातिदिनु, शरिरमा घाउ पारिदिनु र खुट्टा पैतलामा काँडा विझ्नु र रगताम्य हुनु जस्ता पिडाहरुले मर्माहित बनाइ रहेको थियो । यतिबेला उनका मनमा अनेक विचार र सोचाइहरु नआएका त होइनन तर बाबु ऋषि कण्वले उनलाइ एक गृहस्थिका धर्म र कर्तब्य सिकाउँदा यो पनि सिकाएका थिए कि मृत्यू आफ्नै तालिकामा चल्छ । उस्लाई जवर्जस्ति आमन्त्रण गर्नु अपराध हो । र यो पनि सिकाएका थिए की छोरी अब तिमिले आफ्नो लागी मात्र होइन पेट भित्रको शिशुको लागी पनि खाने, पिउने, जिउने र सुविचार दिने गर्नु पर्छ अब जिन्दगी तिम्रो मात्र होइन उस्को पनि हो । अब तिमीले गर्ने पिर चिन्ताले उसलाइ पनि पिरोल्छ । तसर्थ बाबुको शिक्षा बमोजिम आफू जस्तै आपतमा पनि सम्भालिनु र धैर्यवान बन्नु शिवाय उनको अगाडी अरु कुनै उपाय थिएन ।

जन्म दिने बाबुआमाबाट झाडीमा वेवारिश अवस्थाम फ्याँकिएकी शकुन्तला, एक दिन पुनः एक्लै पतिबाट त्यागिएर एउटा झाडी मुनी पुगी रातको समयमा बनमा हिँड्दा काँडाहरुले पुरयाएको घाउहरु चहराएको पिडा र दर्दले ऐया ! ऐया ! गरी रोइ रहेको नजिकै रहेको आफ्नो कुटीबाट सूनी अर्का ऋषि मरिचीले आफ्नो शिष्य तथा चेलाहरुको साथमा त्यहाँ गइ उनको उद्वार गरेर आफ्नो कुटीमा ल्याई, सबै कुरा बुझी आश्रय दिई पालन पोषण गर्न थाले ।

केही दिनमा शकुन्तलाको पुत्रको जन्म भयो नाम भरत राखियो । जब भरत हुर्की बढी किशोर अवस्थामा पुगेका थिए त्यतिबेला सम्ममा उनले ऋषि पिता मरिचीबाट राजपाठका शिक्षा लगायत धनुर्विद्या लगायत शस्त्र अस्त्रको ज्ञान र युध्द कौशलका कुराहरु समेत जो राजाहरुले गुरुकुलमा गएर शिक्षा लिन्थे ती सबै शिक्षा निज ऋषिबाट उनकै कुटीमा उनकै संरक्षणमा बसी प्राप्त गरी पारंगत भई सकेका थिए ।

एक दिन राजा दुष्यन्त त्यहिबाटो भई आखेटको लागी जङ्गल तर्फ जाँदै थिए तब उनले त्यहाँ एक बालकले जंगली हात्तिमाथि घोडा चढ्ने, बाघलाई समाती उसका दाँत गन्ने आदी चमत्कारीक कामहरु गरी खेलकुदमा रमाई खेली रहेको देखी यति प्रतापी बालक को होला भनी हेरी रहे र पछि बालक नजिक गएर सोधे बालक तिमि को हौ ? बालकले जवाफ दिए म एक राजकुमार हूँ । कहा बस्छौ ? मेरा पिता महाराजले दरवारमा बस्न नदिएर मेरी गर्भिणी आमालाइ निकाला गरिदिएकाले म र मेरी आमा वनमा ऋषी मरिचि पिताकहाँ बस्छौ । राजा दुष्यन्त केही अगाडी गएर बच्चलाई समात्न थालेका थिए उन्की सेविका चिल्लाइन र भनिन त्यो बच्चालाई नमातियोस यदि समातेमा उस्को हातमा ऋषिले बाँधि दिएको रक्षा कबच एक खतरनाक विषालु साँपमा परिणत भई डस्ने छ तर राजाले बालकलाइ समाते तर त्यो रक्षा कवच कुनै विषालु साँप त बनेन बरु धडाम्म एउटा ठूलो आवाज गरेर छिन्यो र टुक्रा टुक्रा परेर जमिनमा खस्यो ।

टाढै लुकी बसेर यो सब हेरेका ऋषिले राजा दुष्यन्तलाई बोलाएर यो बच्चाको बाबु तिमी हो भनी चिनाए दुष्यन्तले ऋषि सँग म कसरी यो बच्चाको बाबु हुने ? भनेर प्रश्न गरे । तब ऋषिले आफुले यो बच्चाको हातमा, जब यो बच्चालाइ अन्य कोहि मानिसले कुनै मनसायले समात्ला तब यो रक्षा कबच एक भयंकर विषालु साँप बनी त्यो मानिसलाइ डस्ला र तर जब यसको बाबुले यसलाई समात्ला तब यो रक्षा कबच भयंकर आवाजका साथ छिनेर टुक्रा टुक्रा परी जमिनमा खस्ने छ, भन्ने शर्तमा रक्षा कबच बाँधि दिएको र दुष्यन्तले यो बालकलाई समात्नासाथ त्यो रक्षा कबच भयंकर आवाजका साथ छिनेर भूईँमा खसेको टाढैबाट लुकी हेरी रहेको, आफुले देखेको हुँदा तिमी नै यो बालकको बाबु हो भनी मरिची ऋषिले ठोकुवा गरिदिए ।

यतिकै बेला खोइ मेरो बाबु कहाँ छन म उनी सँग युध्द गर्छु भन्दै भरतले धनुष्बाण लिएर खडा भए । अब भने ऋषिले ती बालकलाइ अब तिमीले तिम्रो बाबु सँग कुनै लडाइँ गर्नु पर्दैन उन्ले सबै स्वीकारी सके भनेर सम्झाए । यतिबेला सकुन्तला पनि देखा परिन । तब राजा दुष्यन्तले शकुन्तला र भरतलाइ राज दरबारमा लगे र भरतलाइ हस्तिनापुरको राजपाठको कार्यभार सुम्पिए भनेर कथा सुखान्तक अवस्थामा पुगेर समाप्त भएको छ ।त्यसैले नै यो लेखको शुरुआतमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको शाकुन्तल महाकाब्यबाट उक्त सुन्दर श्लोकको उध्रित गरिएको हो ।

यस कथालाई पौराणिक अमर प्रेमकथा भन्ने गरिन्छ तर यहाँ खाली प्रेम प्रशंगका कुरा मात्र उल्लेख गरिएका नभई सबैका बाबुहरु सबै छोरा छोरीहरुका लागी एकैनास हुँदैनन भन्ने यथार्थमूलक सन्देश समेत यो कथाले दिएको छ ।

आफैले जन्म दिएकी छोरीलाइ आफ्नी छोरी स्वीकार नै नगर्ने विश्वामित्र पनि शकुन्तलाका जन्म दिने पिता नै त थिए । आफुले काख लिनु पूर्व शकुन्त नामक चराले हेरचाह गरेकाले उस्को समेत इतिहास नमेटिने गरी शकुन्तला नाम राखि दिने हुर्काउने बढाउने कण्व ऋषिका साथै गर्भिणी अवस्थामा जंगलमा एक्लै दुख पाइ रहेकी शकुन्तलालाई पालन पोषण र हेरचाह गर्ने ऋषी मरिची पनि शकुन्तलाका धर्मबाबुहरु थिए । यसरी जन्म दिने, जिवन बचाइदिने, अन्न दिने सबै बाबुहरु नै हुन भने आफुले गन्धर्भ विवाह गरी गर्मिणी रहेकी पत्निलाई जंगलमा नै छाडी राजदरबार जाने, ती पत्नि दरबारमा आउँदा आफुले नस्वीकारी आफ्ना भाइ भारदारहरु र पालेहरुबाट अपमान गराई दरबारबाट निकाला गरिदिने राजा दुष्यन्त पनि त प्रतापी राजा भरतका बाबु नै हुन ।

ऋषि आश्रममा जन्मिई हुर्के बढे र पालिएका, भरतलाई पनि दुष्यन्तले सहज साथ छोरा स्वीकार गरेका थिएनन । यो कथाबाट पौराणिक कालमा पनि ज्ञानको मात्र होइन विज्ञानको पनि भरपुर विकाश भएको थियो भन्ने देखिन्छ । ऋषिले भरतको हातमा जुन रक्षा कवच बाँधिदिएको प्रसङ्ग छ त्यो बास्तावमा डि एन ए परिक्षणको रिजल्ट थियो । दुष्यन्तले त्यो डि एन ए परिक्षणको रिजल्ट समेत स्वीकारेका थिएनन तब मरिची ऋषिकहाँ बसेर सबै बेद शस्त्र अस्त्र र रणकौशलको शिक्षा समेत लिएका बाघ भालु हात्ति समेतलाइ आफ्नो बशमा पार्न सक्ने क्षमतावान भरतको पराक्रम र युध्दको ललकार देखि हारेर मात्र दुष्यन्तले भरतलाइ छोरा स्वीकार गरेका थिए ।

गर्भिणी अस्थामा नै मर्यादा पुरुषोत्तम रामबाट त्यागिएर दरवार देखि निकाला भई जंगलमा पुरयाईएकी सीताबाट जन्मिएका र ऋषि बाल्मिकीबाट पालित पोषित भएका लब कुशलाइ पनि चक्रवर्ति सम्राट प्रमाणीत हुन गरिएको अश्वमेघ यज्ञमा रामबाट छाडिएको घोडा समाती लडाइँ गरेर मात्र लब कुश रामबाट आफ्ना छोरा भनी स्वीकार गरिएका थिए ।

आजको युगमा पनि बाबु आमाको प्रेम सम्बन्धको परिणाम स्वरुप जन्म लिन पुगेका कति होनहार सन्तानहरुले बाबुले स्वीकार नगरिदिएकै कारण डिएनए परिक्षण सम्म पुग्नु परि रहेको छ ।

त्यति मात्र होइन । केही सन्तानहरुलाइ अत्यन्तै राम्रो गर्ने र भलो चिताउने तर आफ्नै केही सन्तानहरुलाइ डिएनए र अदालतको फैसला देखि सन्तान स्वीकार गरेता पनि उसलाइ दोश्रो दर्जाको नागरिक सरह ब्यवहार गर्ने आफू र आफन्त सँग समेत त्यहि अनुसार चिनाउने र आफुले जस्तै ब्यवहार गर्न लगाउने, त्यो सन्तानलाई मात्र होइन त्यस्का त्यसपछिका बुहारी तथा सन्तानहरुलाइ समेत त्यतिकै हेला होचोको ब्यवहार गर्ने बाबु हरु यो समाजमा नभएका होइनन ।

त्यसैल जन्म दिने बाबु जन्म दिएकोले र कर्म दिएका बाबु कर्म दिएकाले महान त हुँदै हुन बाबुहरुको सम्मान गरिनु पर्छ तर हाम्रो भावी पुस्ताहरु जो बाबु बन्दै हुनुहुन्छ उहाँहरु, सबै सन्तानलाइ माया स्नेह दिने र भलो चाहने बाबु बन्नुहोस आजको बेफुर्सद र ब्यस्तताको युगमा तपाइँका सन्तानहरु डिएनए परिक्षणबाट बाबु प्रमाणित गर्न जानु पर्ने वाद्यात्मक अवस्थामा तपाइँहरुको कारणले ती तपाइँका सन्तानहरुको लागि सृजना नगरियोस त्यो बाद्यतामा नपुरयाइयोस, यो संसारका सबै बाबुहरु आफ्ना बाबुहरुलाई सम्मान गर्ने असल पितृभक्त छोरा मात्र होइन की, आफ्ना पनि सबै सन्तानहरुलाइ समान ब्यवहार गर्न सक्ने महान बाबुमा प्रमाणीत हुने प्रयास गरौँ ।  

लेखक – सोम खड्का अधिवक्ता हुनुहुन्छ । उहाँ अहिले कानुनी व्यवसायमा सक्रिय हुनुहुन्छ ।

                                             

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.