
प्रकाश पौडेल, गुलरिया । बर्दियाको पाँच वर्ष दुई सय ८० जना महिला घरमा सुत्केरी भएका छन्। स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार पाँच वर्ष दुई सय आठ जना महिला घरमा सुत्केरी भएका हुन् ।
विगत पाँच वर्षको तथ्याङ्क हेर्दा घरमा सुत्केरी भएका मध्ये गुलरिया नगरपालिकामा मात्र दुई सय ६६ जना महिला घरमा सुत्केरी भएका छन् । कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा १९ जना घरमा सुत्केरी भएका थिए । जसमध्ये १९ जना नै गुलरिया नगरपालिकाका रहेका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा ३२ जना महिला घरमा सुत्केरी भएका थिए । जसमध्ये ३२ जना नै गुलरिया नगरपालिकाका रहेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ५३ जना घरमा सुत्केरी भएका थिए । जसमध्ये ५० जना गुलरिया नगरपालिकाका रहेका थिए ।
भने आर्थिक वर्ष २०७९/०८० मा ८४ जना घरमा सुत्केरी भएका थिए । जसमध्ये ७५ जना गुलरिया नगरपालिकाका रहेका थिए । र आर्थिक वर्ष २०७८/०७९ मा ९२ जना घरमा सुत्केरी भएका थिए । जसमध्ये ९० जना गुलरिया नगरपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
घरमा सुत्केरी हुने महिलाको सङ्ख्या हेर्दा गुलरिया नगरपालिका बढी घरमा सुत्केरी भएको देखिन्छ । पाँच वर्षको तथ्याङ्क हेर्दा घरमा सुत्केरी हुने महिलाको सङ्ख्या क्रमशः घट्दै गएको देखिन्छ। तर स्वास्थ्य संस्था बाहिर हुने प्रसूति भने अझै पूर्ण रूपमा रोकिएको छैन।
स्त्री रोग विशेषज्ञ डा. कृष्ण खनालले स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चामा देखिन सक्ने जटिलता तत्काल पहिचान गरी उपचार गर्न सहज हुने भएकोले स्वास्थ्य संस्थामा सुत्केरी गराउन पर्ने बताउनु भयो । उहाँले स्वास्थ्य संस्थामा सुत्केरी भएमा आमा वा नवजात शिशुमा कुनै स्वास्थ्य समस्या देखिएमा तत्काल आवश्यक उपचार र विशेषज्ञ सेवा उपलब्ध हुने भएकोले सुत्केरी गराउँदा स्वास्थ्य संस्था सुरक्षित मानिने जानकारी दिनुभयो ।
अन्य पालिकाको तुलनामा गुलरिया नगरपालिकामा स्वास्थ्य संस्थाको पहुँच र यातायातको सुविधा हुँदाहुँदै पनि पाँच वर्षमा दुई सय ६६ जना महिला घरमा सुत्केरी भए । घरमा सुत्केरी हुँदा आकस्मिक रूपमा स्वास्थ्य समस्या देखिएमा तत्काल उपचार नपाउँदा आमा र नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्ने र आमा वा बच्चाको ज्यान जाने जोखिम भएकोले स्वास्थ्यकर्मी निगरानीमा सुत्केरी गराउन चिकित्सकले सुझाव दिदैँ गरेका छन् ।
घरमा हुने सुत्केरीलाई न्यूनीकरणका लागि गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य संस्थामा प्रसूति गराउन परामर्श दिनुपर्ने देखिन्छ। समुदाय स्तरमा स्वास्थ्य संस्थामा प्रसूति गराउँदा हुने फाइदाबारे जनचेतना फैलाउनुका साथै गर्भवती महिलालाई प्रसूति सेवा लिन स्वास्थ्य संस्थासम्म पुर्याउन जरुरी रहेको देखिन्छ ।


