बाँसगढी ।
नेकपा एमाले बाँसगढीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगरपालिकाको विकास र समृद्धिका लागि गर्न सकिने कामहरुको बारेमा नेकपा एमाले बाँसगढीले पतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
बाँसगढी नगरपालिकामा नेकपा एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार खड्कबहादुर खड्का र नगर उपप्रमुख इन्द्रा थारुले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्रमा शिक्षा , स्वास्थ्य, युवा, रोजगार तथा खेलकुद, कृषि तथा पशुपंक्षी विकास, पर्यटन, महिला बालबालिका जेष्ठ नागरीक तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आर्थिक विकास, उर्जा वातावरण तथा जलस्रोत, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सुचना संचार तथा प्रविधि पुर्वाधार विकास, खानृपानी तथा सरसफाई, नागरीक सेवा प्रवाहका विषयहरु समेटिएको छ ।
शिक्षा क्षेत्रलाई प्रतिवद्धता पत्रमा प्रथामिकता दिई विद्यालयलाई टिनको छाना मुक्त क्षेत्र घोषणा गर्ने, विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने विग स्कुलको अवधारणालाई अगाडी बढाउने, नमुना विद्यालयको सुरुवात गरेकोमा निरन्तरता दिने प्राविधिक र उच्च शिक्षामा जेहेन्दार, दलित मुक्तकमैया र अल्प संख्यकलाई छात्रवृद्धि दिने, अभिभावक विहिन, अतिविपन्न वर्ग तथा समुदायका बालबालिकालाई माध्यमिक तह सम्म आवास सहितको निःशुल्क शिक्षा दिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
त्यसैगरी विशेषज्ञ सहितको २५ शैयाको अस्पताल सञ्चालन गर्ने, विपन्न नागरीकलाई एक लाख सम्मको औषधीमा सहुलियत दिने र स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना अगाडी ल्याइएको छ ।
रोजगारी सिर्जना गर्नका लागि औद्योगीक ग्रामको व्यवस्था गर्ने, कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने, एक वडा एक खेल मैदान बनाउने लगाएतका प्रतिवद्धता गरीएको छ । कृषि तथा पशुपंक्षी विकासलाई जोड दिँदै एक वडा एक पकेट क्षेत्रको रुपमा विकास गरीने, दुध माछा मासु र अण्डको उत्पादनमा जोड दिँदै नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना रहेको छ ।
पर्यटकिय क्षेत्रको विकास गर्नका लागि कम्तिमा एक वडामा एक चिल्ड्रेन पार्कको निर्माण गर्ने, नगरपालिका भित्र रहेको ताल सिमसार क्षेत्र मठमन्दिरको संरक्षण र प्रर्वद्धन गर्ने प्रतिबद्धता पत्रमा रहेको छ । त्यसैगरी जेष्ठ नागरीक अपाङ्गता भएका व्यक्ती अशक्त र असहाय व्यक्तीहरुको लागि बर्ष कम्तिमा एक पटक निःशुल्क स्वास्थ्य शिविरको स्थापना गरीने प्रतिवद्धतामा उल्लेख छ ।
अतिविपन्न घरपरिवारलाई प्रतिबर्ष एक सय ५० युनिट विद्युत सहुलियत प्रदान गरीने छ । भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासी मुक्तकमैया र जोताहा किसानलाई अस्थाई निस्सा प्रदान गरीएको र छिटो भन्दा छिटो जग्गा धनि प्रमाण पुर्जा दिईने प्रतिबद्धता गरीएको छ । नगरपालिकाको मातहतमा सहकारी स्थापना गरी रोजगारीको अवसर प्रदान गर्ने बबई नदीको पानीलाई लिफ्ट सिचाई परियोजना निर्माण गरी सुख्खा क्षेत्रलाई सिचाईको व्यवस्था मिलाउने कृषि प्रणालीमा आधुनिकिकरण गर्ने योजना रहेको प्रतिवद्धता पत्रमा उल्लेख गरीएको छ ।
नागरीकको सहज पहुँचको लागि रिङ्गरोड निर्माण एक वडा एक कालोपत्रे सडक निर्माण जस्ता योजनहरुलाई निरन्तरता दिने योजना रहेको छ । भने ग्रामिण स्तरका सडकहरु स्तरोन्नती गर्दै लैजाने योजना रहेको छ । त्यसैगरी सबै वडामा ओभरहेड खानेपानी ट्याङ्की निर्माण र व्यवस्थापन गरीने योजना गरहेको छ ।
२०७४ सालमा निर्वाचनमा पहिलो भएको थियो । २०७४ सालमा गरीएका प्रतिवद्धताहरु अधिकांश पुरा गरीसकीएको नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार खड्कबहादुर खड्काले बताउनु भयो । उहाँले नगरपालिकाको विकास र समृद्धिको आधार तय भईसकेको बताउँदै अब को पाँच बर्षमा जनताले भने जस्तै सोचे जस्तै समृद्ध नगरपालिका बनाउन सकीने बताउनु भयो ।