
बारबर्दिया नगरपालिका वडा नं १० दशघरुवामा रहेको राजी बस्तीको अगाडिबाट धेरै उम्मेदवार भोट माग्दै हिँडे पनि राजी बस्तीमा अझै सम्म पसेका थिएनन् । राजी जातीको समस्या बुझ्न र भोट माग्नका लागि नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार लक्ष्मण ज्ञवाली र प्रदेश सभाका उम्मेदवार भक्तबहादुर बिक. राजी बस्तीमा पुगेपछि उनीहरु खुसी भएका छन् ।
जिल्लाका सबै राजनीति दलको उपेक्षामा परेका राजी जाती भोट माग्न नेता आउलान् र समस्या सुनाउँला भनेर कुरेर बसेका थिए । एकाएक भोट माग्नका लागि नेताहरू पुगेपछि उनीहरूको खुसीको सिमा रहेन । राजी बस्तीका नन्दराम राजीले हाल सम्म बस्तीमा कुनैपनि पार्टीका उम्मेदवारहरु नआएको बताए । उनले भने –‘हामी गास बास कपासको समस्यामा पिल्सिएका छौँ । चुनावमा नेताहरू आउँछन् र समस्याहरू सुनाउँला भनेको कोही नेताहरु पनि आउनु भएन । आज पहिलो पटक एमालेका नेताहरू आएको उनले सुनाए ।


२०६३ साल देखि बारबर्दिया ३ को सामुदायिक वनमा बसोबास गरीरहेका थिए । २१ घरपरिवार राजीलाई तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत भवन निर्माण गरी गत वर्ष बारबर्दिया – १० मा सारिएको थियो । अस्थायी रुपमा बस्नका लागि सार्वजनिक जग्गामा सरकारले घर बनाईदिएको थियो । अस्थायी बासको व्यवस्था गरेको भएपनि स्थायी बसोबास र जिविकोपार्जनका लागि व्यवस्था नभएको राजी समुदायकी अध्यक्ष पार्वती राजीले बताइन् । उनले भनिन् –‘हामीलाई बस्नका लागि घर मात्र दिइएको छ । साग रोपेर खाने ठाउँ सम्म छैन कसरी बाँच्ने ।’
राजी घरपरिवारका पुरुष सदस्यहरू प्रायः घरमा भेटिँदैनन् । जिविकोपार्जनका लागि नेपाल र भारतका विभिन्न क्षेत्रमा काम गर्नका लागि जाने गरेका छन् । जिविकोपार्जनका लागि कमाउन घरबाहिर जाने भएको हुनाले पनि कतिपय राजीहरुको मतदाता नामावलीमा नाम समेत छैन । उनीहरु मताधिकारबाट समेत वञ्चित हुने गरेका छन् ।



