
बारबर्दिया । बारबर्दिया नगरपालिका वडा नं ५ की १४ बर्षिया बालिका आकृति पुनमगर वडाध्यक्ष बन्न पुगेकी छन् । बालबालिकाहरु पनि जिम्मेवार भएर समान रुपले काम गर्नसक्छन् भन्ने सन्देश दिनका लागि पुन मगरले एक दिनको लागि वडाध्यक्षको जिम्मेवारी सम्हालेकी हुन् ।
एकदिनका लागि कार्यभार सम्हाल्दै वडाध्यक्ष आकृतिले वालविवाह न्युुनीकरणका लागि पहल कदमी चल्न वडा समितिलाई निर्देशन दिनु भएको छ । उहाँले नगरपालिकालाई बालविवाह अन्त्यका लागि योजना सहित कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ । बालिकाहरु डिजीटलबाट दुुरब्यबहारमा परिरहेको बताउँदै त्यसलाई अन्त्य गर्ने किसिमको योजना ल्याउन पर्ने बताउनु भयो ।

प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बि ग्रुप नेपालगंज बाँकेद्धारा संचालित नेतृत्व र निर्णय परियोजना अन्तर्गत बालिकालाई एकदिनको वडा अध्यक्ष बनाइएको हो ।
वडा कार्यालयमा एक दिने वडा अध्यक्ष बालिकासंग बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख अञ्जु दहितले छलफल गर्नु भएको छ । छलफलको क्रममा बारबर्दिया नगरपालिकाले बालविवाह न्युनिकरणका लागि विभिन्न कार्यक्रमहरुलाई प्रथामिकतामा राखेर काम गरिहेको बताउनु भयो । उहाँले भन्नुभयो –‘बालविवाह हुनेमा सबैभन्दा जिम्मेवार अभिभावक नै हुन् । डिजिटल प्रबिधिको सहि सदुपयोग गर्नका लागि अभिभावकले नै बालबालिकाहरुलाई सिकाउनु पर्दछ ।’ नगरउपप्रमुख दहितले बालविवाह न्युनिकरणका लागि सामाजिक बहिस्कारका कार्यक्रम ल्याउनका लागि स्थानीय अगुवा बरघर, गुुरुवा, धार्मिक अगुवाहरुसंग पनि छलफल गरिरहेको बताउनु भएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष मनिराम थारुले बालविवाह अन्त्यका लागि अभियान संचालन गर्नु पर्ने बताउनुभएको छ । नेपाल सरकारले बनाएको बालविवाह सम्बन्धी कानुनहरु कार्यान्वयनका लागि सबै पक्ष सचेत हुनु पर्ने कुरा गर्नु भएको छ ।
चौध बर्षीया एक दिने वडा अध्यक्षसंगको छलफलमा वडा नम्बर ४ का वडा अध्यक्ष मानबहादुर थारु, जिल्ला समन्वय समिति सदस्य कल्पना थारु, वडा सदस्यहरु वडाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


