
प्रकाश पौडेल, गुलरिया । बर्दियामा माइती नेपालले सञ्चालन गरेको आवधिक गृहबाट दुई सय ९६ जना बालिका, किशोरी तथा महिलाले संरक्षण पाएका छन् । माइती नेपालले विभिन्न घटनामा परेका पीडित महिला तथा बालिकालाई माइती नेपालले आवधिक गृहमा राखेर संरक्षण प्रदान गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले विभिन्न घटनामा पीडित भएका बालिका, युवती तथा महिलालाई राख्न स्थापना गरिएको सेवा केन्द्रमार्फत माइती नेपालले प्रहरीलाई सहयोग गर्दै आएको बताउनु भयो । माइती नेपालले सीमामा सूचना तथा परामर्श केन्द्र सञ्चालन गरेर प्रहरीलाई काममा सहयोग भएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले मानव बेचबिखन तथा ओसारपसार रोकथाममा माइती नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारी निकायसँगको सहकार्यमा माइती नेपालले काम गर्दै आएकाले पीडितको संरक्षण तथा मानव बेचबिखन नियन्त्रणमा सहयोग पुगेको छ ।’
माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले मानव बेचबिखन तथा ओसारपसार, जबर्जस्ती करणी र घरेलु हिंसामा परेका, खोजतलासका क्रममा फेला परेका तथा सीमाबाट उद्धार गरिएका बालिका, किशोरी र महिलालाई आवधिक गृहमा राख्ने गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ आवधिक गृहमा बस्ने पीडितहरूलाई आवास, खानपिन, लत्ताकपडा तथा आवश्यकताअनुसार यातायात खर्चसमेत उपलब्ध गराउने गरिएको छ ।


