
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विद्येयक प्रमाणिकरण गर्ने राष्ट्रपति रामचन्द्र पोैडेलको निर्णय राष्ट्रहितविरुद्ध रहेको टिप्पणी गर्नु भएकाे छ ।
उहाँले संसदमा छलफल नगराइ पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध रहेको टिप्पणी गर्नुभएकाे हाे।

‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमाविपरीत लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध छ,’ लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत रोकेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।
मन्त्रिपरिषद्को आग्रहअनुसार राष्ट्रपति पौडेलले बुधबार संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भएकाे हाे।
संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर, तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाउनु भएकाे थियाे।


