
कृष्णसार अनलाइन, बर्दिया । बर्दियाका आठवटा पालिकाहरु मध्ये छ वटा पालिकाले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् भने दुइ वटा पालिका गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् । जिल्लाका छ नगरपालिका र दुई गाउँ पालिकाले नगर तथा गाउँ सभा आयोजना गरि नीति, कार्यक्रम तथा बजेट पेश गरेका हुन् ।
अधिकांश पालिकाहरुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै रहेका छन् । ती पालिकाहरुको नीति तथा कार्यक्रममा शिक्षा, कृषि, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ । भने असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।
गुलरिया नगरपालिका

गुलरिया नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि एक अर्ब पाँच करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरसभामा बजेट प्रस्तुत गर्दै उप प्रमुख सावित्री गौतमले शिक्षा युवा तथा खेलकुद, कृषि तथा पशुपालन, स्वास्थ्य खानेपानी तथा सरसफाई पर्यटन सँस्कृति तथा बातावरण, फोहरमैला ब्यवस्थापन र सुशासन तथा पारदर्शिता लाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बताउनु भयो । गुलरिया नगरपालिकाले जेष्ठनागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा र नगरबासीका लागि निशुल्क शवबहान उपलब्ध गराउने नीति तथा कार्यक्रममा राखेको छ ।
राजापुर नगरपालिका

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासलाई प्राथमिकतामा राखेर राजापुर नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको नगरप्रमुख दिपेश थारुले जानकारी दिनुभयो । जिल्लाका अन्यपालिकाहरु भन्दा यसले ठूलो आकारको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षको लागि यसले एक अर्ब १६ करोड ८४ लाख ७० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
बाँसगढी नगरपालिका

बाँसगढी नगरपालिकाले ८४ करोड ८२ लाख ९१ हजार १२० रुपैयाँ बराबरको बजेट विनियोजन ल्याएको छ । नगर उपप्रमुख इन्दिरा चौधरीले नगरसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्च तर्फ ४८ करोड २० लाख ५१ हजार रुपैयाँ र पूजीगत खर्च तर्फ ३६ करोड ६२ लाख ४० हजार १२० रुपैयाँ रहेको छ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र गरिबी निवारण गर्ने तर्फ बजेट केन्द्रित रहेको उपप्रमुख चौधरीको भनाइ छ ।
बारबर्दिया नगरपालिका

यस नगरपालिकाले ८६ करोड ३६ लाख ९८ हजार रुपैयाँ बारबरको बजेट प्रस्तुत गरेको छ । १३ औँ नगरसभामा नगर उप प्रमुख रत्नकुमारी पाण्डेले स्वास्थ्य, शिक्षा, युवा तथा खेलकूद, कृषि तथा पशुविकास र स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनु भयो ।
ठाकुरबाबा नगरपालिका

ठाकुरबाबा नगरपालिकाले चालु खर्च तर्फ ४० करोड ७५ लाख ५२ हजार ८२६ रुपैया र पूजीगत खर्च तर्फ ३२ करोड २ लाख २० हजार ७८ रुपैयाँ गरी जम्मा ७२ करोड ७७ लाख ७२ हजार ९०४ रुपैयाँ विनियोजन गरेको छ । नीति, कार्यक्रम तथा बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकास लगाएतलाई प्राथमिकतामा राखेर केही नयाँ सहित पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
बढैयाताल गाउँपालिका

यस गाउँपालिकाले आगामी बर्षको लागि ८१ करोड ५७ लाख १५ हजार रुपैयाँ बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । पालिका उपाध्यक्ष लक्ष्मी अधिकारीले चालु खर्च तर्फ ५२ करोड ८६ लाख १५ हजार र पूँजीगत खर्च तर्फ २८ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिकाले कृषि तथा सिञ्चाई, पशुपन्छि र मत्स्यपालन, घरेलु तथा साना उद्योग र रोजगारलाई विशेष प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ ।
मधुवन नगरपालिका

यसपालिकाले नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, पर्यटन, गुणस्तरीय प्राविधिक शिक्षा र मानववन्य जन्तु द्धन्द्व नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । विपन्न र जेहेन्दार विद्यार्थीहरुका लागि ‘विपन्नसंग नगर प्रमुख’ छात्रवृत्ति कार्यक्रम, कृषि तथा पशुंक्षीजन्य वस्तुको सीमापार खुला आयात निरुत्साहित गर्न ‘पारिको होइन बारीको’ गाईको स्याहार, संरक्षण र दिगो व्यवस्थापनका लागि ‘कामधेनु संरक्षण कोष’, ‘मधुवन ब्रान्ड’ मा बेसार खेती, ‘नगर प्रमुख दैवी प्रकोप राहात कोष’, ‘मधुवन धर्म भकारी’, जस्ता नाम दिएर कार्यक्रम अगाडी सारिएको नगरप्रमुख तेजबहादुर भाटले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा मानव जीवनमा खतरा परेकोमा बाहेक वर, पिपल, समी तथा सिमलका रुख कटानमा पूर्ण प्रतिवन्ध समेत लगाइएको छ । यस पालिकाले केही दिनमा बजेट प्रस्तुत गर्ने जनाएको छ ।
गेरुवा गाउँपालिका

स्वास्थ्य, शिक्षा, आर्थिक विकास, पर्यटन प्रवर्धन, भौतिक पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर गेरुवा गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको पालिका अध्यक्ष जमानसिंह केसीले बताउनु भयो । नीति तथा कार्यक्रममा ‘छोरी बचाउ’ कार्यक्रम, ‘एक मावि एक स्टाफ नर्स’ लगायतका कार्यक्रमहरु समावेश गरिएका छन् । केही दिनपछि बजेट प्रस्तुत गरिने पालिकाले जनाएको छ ।


