
दिनेश ठाकुर, गुलरिया । “बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँग द्वन्द्व र हानि– नोक्सानी” भन्ने मूल नाराका साथ तीसौँ वन्यजन्तु सप्ताह २०८२ सोमबारदेखि बर्दियामा सुरु भएको छ। सप्ताहको पहिलो दिन बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा सरोकारवाला निकाय, सुरक्षाकर्मी तथा स्थानीय सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डाक्टर अशोक रामले कार्यक्रममा बोल्दै वन्यजन्तु संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउनु भयो । “संरक्षण एकल संस्थाको काम होइन, स्थानीय जनताको सक्रिय सहभागिता बिना यो सम्भव छैन,” उहाँले भन्नुभयो। मानव– वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मानवको आनीबानी सुधार गर्नु आवश्यक रहेको भन्दै उनले यस्ता चेतनामूलक कार्यक्रमहरू निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याए।

ठाकुरबाबा नगर उपभोक्ता समितिका अध्यक्ष हेमन्त आचार्यले पछिल्लो समयमा मानव र वन्यजन्तुबीच द्वन्द्व तीव्र भएको उल्लेख गर्दै मानवको व्यवहारमा सुधार ल्याइएमा द्वन्द्व घटाउन सकिने धारणा व्यक्त बताउनु भयो । । उहाँले संरक्षण क्षेत्रमा भावनात्मक र रणनीतिक रूपमा समर्पित व्यक्तिहरूको आवश्यकता रहेको बताउनु भयो ।
सप्ताहको दोस्रो दिन हात्ती पूजाको आयोजना गरिएको थियो। डाक्टर अशोक रामका अनुसार हात्तीलाई धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले सम्मान गर्दै संरक्षणको सन्देश दिन पूजाको आयोजना गरिएको हो। “हात्तीलाई हामी देख्न, छुन र महसुस गर्न सक्छौँ हात्ती एउटा जीवित देवताको स्वरूप हो । त्यसैले उसको बाटो सुरक्षित गर्नु र उसको अस्तित्व जोगाउनु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो।

तेस्रो दिन आयोजित चरा अवलोकन कार्यक्रममा चराविद्, नेचर गाइड र सुरक्षाकर्मीहरूले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पैदल यात्रा गर्दै विभिन्न प्रजातिका चराको अध्ययन गरेका थिए। चराको विविधता र संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले अवलोकन कार्यक्रम गरिएको हो।

चौथो दिन निकुञ्ज क्षेत्र तथा भित्रको सडक सरसफाइ कार्यक्रम गरिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत भुरिगाउँ– चिसापानी सडक खण्ड सरसफाइ गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।
सप्ताहभर विविध कार्यक्रममार्फत मानव – वन्यजन्तु सहअस्तित्वको सन्देश प्रवाह गर्दै संरक्षणमा स्थानीय तहदेखि राष्ट्र स्तरसम्मको समन्वयको खाँचो औंल्याइएको छ।


