
प्रकाश पौडेल, गुलरिया । तत्कालीन शाही नेपाली सेनाले २३ वर्ष अगाडि ठाकुरबाबा नगरपालिका – ८ सुतैयाबाट बेपत्ता पारिएका अमरबहादुर बुढाको परिवारले दाहसंस्कार गरेको छ । बुधबार बुढाको परिवारले कुशको शव बनाएर बेपत्ता बुढाको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरेको हो ।
२०५८ फागुन २७ गते बिहान ५ बजे, नेपाली सेनाको टोलीले बुढालाई घरमै घेरा हाली पक्राउ गरेको थियो । सो समयदेखि बेपत्ता रहेका बुढाको अवस्था अवस्था अहिलेसम्म पनि अज्ञात छ । बेपत्ता पारिएका अवस्था सार्वजनिक हुने आशामा रहेका परिवारले दुई दशक बिती सक्दा समेत बेपत्ताको अवस्था सार्वजनिक नभएपछि दाहसंस्कार गरेका हुन ।


बुढा नेपाली सेनामा जागिरमा रहदाँ राजनीतिक आारोपका कारण जागिरबाट निकालिनु भएको थियो । त्यसपछि सामाजिक अभियानमा जोडिएर २०५४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित बुढालाई माओवादी भएको आंशमा नेपाली सेनाले लगेको थियो । फागुन २७ गते सेनाले लिएर गएको बुढाको हालसम्म पनि अवस्था सार्वजनिक हुन नसकेको श्रीमती जमुना बुढाले बताउनु भयो ।

उहाँले श्रीमानको बेपत्ता भएपछि एक छोरा र दुई छोरीलाई निकै सङ्घर्ष गरेर हुकाउनु भएकी भयो । उहाँले भन्नुभयो, ‘ बेपत्ता परिवारको हैसियतले सरकारबाट केही राहत प्राप्त भएको छ । राहतले मात्र नपुग्ने रहेछ । सबै भन्दा पहिला बेपत्ता परिएका मेरो श्रीमानको अवस्थाको बारेमा सत्यतथ्य सार्वजनिक हुनुपर्छ । शान्ति सम्झौता भएको १९ वर्ष हुँदा समेत बेपत्ताको अवस्था सार्वजनिक नहुनु दुःखद हो । सबैभन्दा ठूला पीडा भनेको बेपत्ताको अवस्था सार्वजनिक नहुनु हो २०७३ सालमा बेपत्ता छानबिन आयोगमा उजुरी दिए पनि कुनै ठोस प्रगति भएको छैन् ।’

श्रीमानलाई सेनाले बेपत्ता पारेपछि घरको सम्पूर्ण जिम्मेवारी एक्लै निवाह गदै आउनु भएको जमुनाले तीन सन्तानलाई भने राम्रो शिक्षा दिनुभयो । छोरीहरूको बिहे भएपछि छोरा समेत रोजगारीको लागि बाहिर हुँदा बुढा भने अहिले घरमा एक्लै बस्दै आउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘ श्रीमानको प्रतीक्षा गर्दागर्दै २३ वर्ष बिते । सामाजिक, आर्थिक, कानुनी र संस्कारका कारण दाहसंस्कार गर्न अब बाध्य भइयो । अब मेरो चाहना तथा माग भनेको मेरो श्रीमानको अवस्था सार्वजनिक गरी परिपूरण मार्फत छोराछोरीको भविष्य सुरक्षित होस् भन्ने हो ।’



