
दिनेश ठाकुर , गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक दिनानुदिन बढ्दै गएको पाइएको छ । निकुञ्जमा पाइने बाघ, हात्ती, गैडा, बाहँसिग्रे र चराहरु हेर्न आउने पर्यटकको सङ्ख्या बढेको पाइएको हो
यस आर्थिक वर्ष २०८१/०८२ को चैत महिनासम्म मात्रै २२ हजार ३ सय ७ जना पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्। तीमध्ये ५ हजार ९ सय २४ जना विदेशी, १ हजार ५९ जना सार्क राष्ट्रबाट र १५ हजार ३ सय २४ जना नेपाली पर्यटक रहेका छन्।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र दुर्लभ बन्यजन्तुहरूको कारणले बर्दिया राष्ट्रिय निकुञ्ज देश तथा विदेशका पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ। पछिल्ला दिनहरूमा विशेषगरी पाटेबाघ देखिन थालेपछी पर्यटकको आकर्षण झन् बढेको हो। अहिले निकुञ्जमा दैनिक रुपमा पाटेबाघ देखिन थालेका छन्, जसले पर्यटकहरूलाई विशेष रूपमा लोभ्याएको छ।
सन् २०२२ को गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा पाटेबाघ रहेको तथ्याङ्कले देखाउँछ। यो सङ्ख्या नेपालभरका अन्य निकुञ्जहरूसँग तुलना गर्दा उच्च मानिन्छ। बाघजस्ता दुर्लभ बन्यजन्तु सहज रूपमा देखिनु अत्यन्तै दुर्लभ मानिन्छ, तर बर्दियामा पछिल्लो समय यो सम्भव बनेको छ।
निकुञ्जसँग सम्बन्धित अधिकारीहरूका अनुसार पाटेबाघ देखिएको खबर फैलिएपछि पाटेबाघ हेर्नकै लागि विदेशी पर्यटकहरू बर्दिया आउने गरेका छन्। विशेषगरी जंगल सफारी र गाइड सहितको जङ्गल वाकमार्फत पाटेबाघको अवलोकन सम्भव भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरूले विभिन्न किसिमका रोमाञ्चक तथा सांस्कृतिक गतिविधिमा सहभागिता जनाउने गरेका छन्। guided jungle walk, birds watching, jungle drive, rafting, canoeing, camping, fishing, cultural activities तथा village tours लगायतका कार्यक्रमहरू पर्यटकका लागि प्रमुख आकर्षण बनेका छन्।
जंगल वाक र ड्राइभको क्रममा बाघ, गैँडा, भालु, हात्ती, चितुवा, निलगाई, बँदेल, मृगलगायतका बन्यजन्तुको अवलोकन गर्न सकिन्छ। त्यसैगरी, रङ्गिचङ्गि चराहरूको अवलोकन गर्न चाहने चरा प्रेमीहरूका लागि बर्दिया उपयुक्त गन्तव्य हो।
पर्यटन वृद्धिसँगै बर्दिया क्षेत्रका स्थानीय बासिन्दाहरूको आयआर्जनमा समेत उल्लेख्य सुधार आएको छ। विशेषगरी होमस्टे सञ्चालन, गाइड सेवा, हस्तकलाका सामग्रीहरू बिक्री वितरण तथा सांस्कृतिक कार्यक्रम मार्फत स्थानीय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
स्थानीय महिलाहरू मिलेर तयार गरेका थारू नाच, परम्परागत भेषभूषा, खाना तथा जीवनशैली पर्यटकहरूका लागि अतिरिक्त आकर्षण बनेका छन्। यसले पर्यटकलाई सांस्कृतिक अनुभव दिनुका साथै थारू समुदायको पहिचान प्रवर्द्धन गर्न पनि सहयोग पुगेको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न विदेशी पर्यटकले प्रतिव्यक्ति १५ सय सार्क देशका नागरिकले ७ सय ५० र नेपाली नागरिकले १ सय रुपैयाँ प्रतिदिन शुल्क तिर्नुपर्छ। यसरी उठेको रकम निकुञ्जको संरक्षण, पूर्वाधार निर्माण तथा बन्यजन्तु व्यवस्थापनमा प्रयोग गरिन्छ।
निकुञ्ज व्यवस्थापनले संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउँदै आएको छ। संरक्षणका लागि गस्ती सुदृढीकरण, निगरानी क्यामेरा, पाटेबाघ ट्र्याकिङ, आगलागी नियन्त्रण, मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका प्रयासहरू जारी छन्।
यद्यपि पर्यटकको संख्या बढ्दै गएको भए पनि पूर्वाधार, प्रचारप्रसार तथा गन्तव्यसम्मको पहुँच अझै सुधार गर्नु जरुरी देखिन्छ। बर्दिया पुग्न लामो यात्रा तय गर्नुपर्ने, वायुसेवा सिमित हुनु, पर्याप्त स्तरीय होटलको अभाव जस्ता चुनौतीहरू अझै समाधान हुन सकेका छैनन्।
यसका साथै, निकुञ्ज क्षेत्रमा हुने मानव बन्यजन्तु द्वन्द्वले कहिलेकाहीँ समस्या निम्त्याउने गरेको छ। त्यसलाई न्यूनीकरण गर्न स्थानीय तह, निकुञ्ज प्रशासन र नागरिक समाजको समन्वय अपरिहार्य छ।
बर्दिया राष्ट्रिय निकुञ्ज केवल बन्यजन्तु अवलोकनको थलो मात्र होइन, यो नेपालको जैविक सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको एक अनुपम गन्तव्य हो। यहाँको पर्यटन सम्भावना अझै ठूलो छ, जुन उचित योजना, पूर्वाधार विकास र प्रचारमार्फत विस्तार गर्न सकिन्छ। पाटेबाघजस्ता दुर्लभ बन्यजन्तुको उपस्थितिले बर्दियालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर सृजना गरिरहेको छ। त्यसैले, संरक्षण र पर्यटनबीचको सन्तुलन कायम राख्दै बर्दिया राष्ट्रिय निकुञ्जलाई दिगो पर्यटनको नमूना बनाउन सके यसले स्थानीय समृद्धि र राष्ट्रिय पहिचानमा ठूलो योगदान पुर्याउने निश्चित छ।


