
कृष्णसार अनलाइन । छुदेन काविमोको पुस्तक ‘ उरमाल ’ लाई मदन पुरस्कार प्रदान गरिने भएको छ । मदन पुरस्कारका लागि छनौटमा परेका सात पुस्तक मध्ये र छुदेन काविमोको पुस्तक ‘उरमाल’ लाई मदन पुरस्कार प्रदान गरिने भएको हो ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले ‘उरमाल’ लाई मदन पुरस्कार–२०८१ र लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान र्पुयाउनु भएका प्रेमदेव गिरीलाई जगदम्बाश्री प्रदान गर्ने निर्णय गरेको हो ।

काविमो दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनबारे लेखिएको पहिलो उपन्यास ‘फातसुङ’ बाटै चर्चामा आउनु भएको थियो । उरमाल उहाँको दोस्रो उपन्यास हो । यस उपन्यासमा चियाबारीका काम गर्ने मजदुरका कथा छ । ‘उरमाल’ चिया श्रमिकहरूको इतिहास, समाज, जीवन र सङ्घर्षको कथा बोकेको उपन्यास हो।

मदन पुरस्कारको छनौटमा परेका सात पुस्तक मध्ये रमेश भुसालको ‘छालबाटो ःकैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरूपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह नेपालको भोट–चीन सम्बन्ध र भारत’ र तीर्थ श्रेष्ठको ‘हिउँको गीत’ रहेको थियो ।
मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो । मदन पुरस्कार स्थापना स्वर्गीय मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको थियो ।


