
प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जले जंगल घुम्न आउने पर्यटकका लागि जीप सफारी खुल्ला गरेको छ । निकुञ्जले देश विदेशबाट जंगल घुम्न आउने पर्यटकका लागि जीप सफारी खुल्ला गरेको हो ।
बर्खायाममा निकुञ्जभित्रको बाटोमा जिप लिएर जाँदा जिप फस्ने हुँदा निकुञ्जले पर्यटकका लागि जंगल सफारी बन्द गरेको थियो । भने मौसममा सुधार भएसँगै केही बाटो मर्मत गरेर निकुञ्जले जंगल सफारी असोज २ गतेबाट खुल्ला गरेको छ । निकुञ्जले पर्यटकका लागि निकुञ्जमा जंगल सफारी सुरु गरेसँगै निकुञ्जमा पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्ज घुम्न देश विदेशबाट पर्यटक आउन थालेका छन् ।

पर्यटक आउन थालेसँगै निकुञ्ज आसपासका होटल व्यवसाय चल्न थालेको प्रकृति पद प्रदर्शक रामराज ढकालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ जंगल सफारी खुल्ला भएसँगै निकुञ्ज घुम्न आउने पर्यटकले जंगल सफारीका लागि होटल नेचर, गाइड अग्रिम बुकिङ गर्न थालेका छन् । केही समय सुस्त रहेको पर्यटन व्यवसाय फेरि चलायमान भएको छ ।’
निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी मनोजमणि पौडेलले गत आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६७ जना पर्यटक, आर्थिक वर्ष २०८०/८१ मा २६ हजार एक सय ३१ जना पर्यटक र आर्थिक वर्ष २०७९/ ८० मा २४ हजार तीन सय ९८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको जानकारी दिनुभयो । निकुञ्ज घुम्नका लागि सार्क राष्ट्र, अमेरिका, चीन, जापान, जर्मन, फान्स, बेलायत, लगायतका देशबाट पर्यटक आउने गरेको जानकारी दिनुभयो ।
निकुञ्जका अनुसार निकुञ्जभित्र एक सय २५ पाटेबाघ, एक सय ३० भन्दा बढी हात्ती , ३८ वटा एकसिँगे गैँडा , करिब एक सय बाह्रसिङे, पाँच सय १३ प्रजातिका चरा र करिब एक सय २० प्रजातिका माछा ५६ प्रजातिका स्तनधारी वन्यजन्तु, घडियाल, मगर गोही, सोँस र डल्फिन रहेको पाइन्छ । निकुञ्जभित्र पाइने जैविक विविधता र निकुञ्जको सौन्दर्य हेर्न विश्वभरबाट पर्यटक निकुञ्ज आउँछन् । निकुञ्जमा आउने पर्यटक सङ्ख्या बढ्दै गएपछि निकुञ्ज आसपासको क्षेत्रमा नयाँ होटलहरू समेत खुल्न थालेका छन् ।


