
बिशाल बस्नेत, गुलरिया । बर्दियामा भएको सडक दुर्घटना दुईजनाको मृत्यु भएको छ । राजापुर नगरपालिका र बाँसगढी नगरपालिकामा भएको सडक दुर्घटना परी दुईजनाको मृत्यु भएको छ ।
बाँसगढी नगरपालिका– ३, मानखोलामा भएको सडक दुर्घटना परी साइकलयात्री बाँसगढी नगरपालिका– ३ का ४० वर्षीय राजबाबु खानको मृत्यु भएको छ । कोहलपुर– बाँसगढी सडकखण्डमा बाँके बैजनाथ गाउँपालिका– ५ बस्ने ३१ वर्षीय रमेश विकले चलाएको मोटरसाइकल र साइकल ठोक्किँदा मोटरसाइकलचालक बिक घाइते भएका थिए । साइकल चालक खानलाई उपचारका लागि बाँसगढी नगरपालिकामा रहेको कौशिल्या अस्पतालमा लगिएको थियो । उपचारको क्रममा साइकलचालक खानको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

त्यसैगरी राजापुर नगरपालिका– ९, चैनपुरका ५६ वर्षीय लोहरमान थारूले चलाएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सन्दीप बेल्बासेले बताउनु भयो ।


